
नयनराज पाण्डे सामाजिक विषयवस्तुमा कलम चलाउने समकालीन नेपाली साहित्यकार हुन् । उनको परिचय साहित्यकारसँगै सिनेमासित पनि जोडिएको छ । उनी पटकथाकार पनि हुन् । उनी ‘सबाल्टर्न’ पात्रहरूलाई केन्द्रमा राखेर साहित्य लेख्छन् । उनका पुस्तकमा नेपाली परिवेश विशेषगरी मधेशका मुद्दा केन्द्रमा रहन्छन् । ‘नांगो मान्छेको डायरी’, ‘अतिरिक्त’, ‘उलार’, ‘लु’, ‘घामकिरी’, ‘सल्लीपिर’जस्ता उपन्यास, ‘जगदम्बा’, ‘खोरभित्रको जोकर’ र ‘चकलेट’ कथासंग्रह उनका चर्चित पुस्तक हुन् । ‘यार’ उनको संस्मरण कृति हो । चलचित्र र टेलिचलचित्र लेखनमा पनि उनको उल्लेख्य भूमिका छ । यसै वरिपरि रहेर साहित्यकार नयनराज पाण्डेसँग मध्यान्ह राष्ट्रिय दैनिकका लागि जानकी पाठकले गरेको कुराकानीको सम्पादित अंश :
नेपालको राजनीतिमा देखिएको असन्तुलन अथवा उलारलाई कसरी लिनुहुन्छ ?
उलार विशेषगरी टाँगामा प्रयोग हुने शब्द हो । टाँगामा हुने असन्तुलनलाई नै उलार भनिने भए पनि मेरो उलार उपन्यासमा यसलाई राजनीतिमा हुने असन्तुलनलाई देखाइएको छ । २०५५ सालमा लेखिएको उपन्यास र गरिएको अपेक्षा आज पनि उस्तै छ । राजनीतिक असन्तुलन अझ पनि उस्तै छ । राजनीति गर्ने मान्छेको सोच र आम मान्छेको सोचको असन्तुलन, राजनीतिले आम मान्छेको मुद्दालाई सम्बोधन गर्न नसकेको अवस्था आज पनि उस्तै छ । त्यो असन्तुलन त्यतिबेला पनि थियो र आज पनि छ । उलार लेखेको लगभग ३० वर्ष हुन लाग्यो आज पनि समस्या उस्तै छ । दुख लाग्दो कुरा के हो भने ३० वर्ष पहिले पनि त्यहि मुद्दा सान्दर्भिक थियो र आज पनि त्यहि मुद्दा सान्दर्भिक देखिन्छ । नेपालगन्जमा अहिले टाँगा छैन, टाँगामा हुने उलार त्यहाँ देखिदैन तर राजनीतिमा सधैं उलार अथवा असन्तुलन कायम छ । कहिलेसम्म कायम रहन्छ भन्न सकिँदैन । त्यसैले अहिले पनि उलारको सान्दर्भिकता छ ।
लेखकका लागि त यो राम्रो पनि हो नि ?
होइन, होइन । किताब बिक्री होला, चर्चा होला त्यो आफ्नो ठाउँमा छ । तर एउटा लेखकको लागि आफूले उठाएका मुद्दा सम्बोधन हुनु ठुलो कुरा हो । समस्या यथावत् हुन्छ, किताबमात्र बिक्री भएर पनि त्यसले सन्तुष्टि दिँदैन । बिक्रीलाई मात्र सोच्न थालें भने म जत्ति आत्मघाती कोही हुँदैन । म त्यस्तो सोच राखेर बसेको छैन । त्यस्तै मुद्दा फेरी उठाउन नपरोस् भन्ने नै सोच हुन्छ लेखकको ।
मध्यमवर्गीय परिवारमा जन्मिएको मान्छेले भुइँमान्छेका कुरालाई केन्द्रमा राखेर पुस्तक लेख्नुभएको छ, कसरी जोडिनुभयो ?
म खानदानी परिवारको पनि होइन । मेरो बुबा नेपालगन्जमा हुँदा स्कुलको हेडमास्टर हुनुहुन्थ्यो, म त्यही खालको वातावरणमा हुर्किए । मध्यमवर्गमा पनि विभिन्न लेयरहरू छन् । मध्यमवर्गका आफ्ना समस्या पनि हुन्छ, विशेषता पनि हुन्छ । मलाई त्यस्तो खान लाउन दुख पनि थिएन । घरको समस्यामा मात्र केन्द्रित भइयो भने लेखक भइदैन नि । लेखकले समाजसँग परिचय गर्छ, संवाद हुन थाल्छ तव उसले मुलुकको समस्यालाई आफ्नो समस्या ठान्न थाल्छ । मुलुकको समस्या कसले समाधान गर्दिन्छ भनेर चिन्ता आउन थालेपछि लेखक घरको मात्र हुँदैन समाजको हुन्छ । म कहाँबाट आए, मेरो पृष्ठभूमि के हो भन्ने लेखकले भुल्छ उसले समाजका कुरा स्वतः लेख्न थाल्छ । जब मान्छेमा संवेदना हुन्छ उसले समाजका कुरा लेखिहाल्छ । समाजका समस्या सम्बोधन होस्, समाधान होस् भन्ने हरेक लेखकको चाहना हुन्छ ।
घर छोडेर हिँडेपछि घरको सम्झनाले धेरै सताउने रहेछ । मलाई त्यही भयो । जब म काठमाडौं आएँ बल्ल मलाई नेपालगन्जको मायाले सम्झनाले बिथोल्न थाल्यो । मैले लेख्ने विषय त मैले त्यही छोडेर आएको रहेछु भन्ने लाग्यो । त्यसपछि मैले आफूले भुलेका विषयहरू, पात्रहरू र मैले उठाउन पर्ने मुद्दाहरूको खोजी गर्न थाले । त्यसपछि मेरो कलमले मधेशका मुद्दाहरू बढी लेखिन थाले ।
पहाडका कुरा पनि लेख्नुभएको छ तर फेरी मधेश नै झर्नुभयो ?
लेखक सधैं एकै परिवेशभित्र बाँधिनुपर्छ भन्ने हुँदैन । मैले सल्लेपीरमा हिमाली भेगका कुरा उठाएको छु । किताबसँग हुने राजनीति र हिमाली अथवा दुर्गम भेगका मान्छेका दुख र भोग्नुपरेको समस्या मैले त्यसमा उठाएको छु । गोठजस्तो स्कूल, जहाँ किताबहरू पुगिरहेको छैन, कक्षा सुरु भएको छ–सात महिनासम्म पनि विद्यार्थीको हातमा किताब पुग्दैन तर सरकारी कागजमा चाहीँ किताब पुगिसक्यो भनेर लेखिएको हुन्छ । यस्तो देखेपछि लेखकको कलमले यस्ता विषयमा नलेखी बस्न मिल्दैन भनेर सल्लेपीर भन्ने पुस्तक लेखेको हो । मेरो कम्फर्ट जोन मधेश हो, मैले हिमालको कुरा लेख्न हुन्छ कि हुँदैन भनेर पनि सोचे । फेरि लेखकले सेन्सरसीप लगाउनु हुँदैन भनेर हिमालको कथा लेखे । परिवेश हिमालको होला तर कथा त नेपालको हो भन्ने लाग्यो ।
लेखकले आफूले देखेको, भोगेको र वरिपरिका कुरामात्र लेख्नुपर्छ भन्ने पाठक, समालोचक अथवा आम मानिसको बुझाइ छ । नेपाल भनेको सानो देश हो यहाँ दुई तीन घण्टाबाट तराईबाट हिउँ पर्ने ठाउँमा पुग्न सकिन्छ । काठमाडौंमा जे समस्या छ मधेशमा र हिमालमा पनि त्यो समस्या हुन सक्छ । दुखका रूपहरू फरक होलान् । मैले आफूलाई सीमाभित्र बाँधेर यो समस्या मेरो क्षेत्रको होइन भनेर छोड्नु हुँदैन । विश्वमा धेरै लेखकले त्यसरी नै लेखेका छन् । तर जे भनेपनि मेरो कम्फर्ट जोन त मधेश नै हो । मधेशकै मुद्दा सम्बोधन भइरहेको छैन, यथावत् छ । अनि मेरो ध्यान पटक पटक फर्केर मधेशतीर नै जान्छ । म त हुर्केको ठाउँ होनी मधेश त । मैले सपना देखे पनि विषय यहाँ काठमाडौंको र परिवेश उता मधेशको हुन्छ । लेखकको किशोर अवस्था जहाँ बित्यो त्यसले नब्बे प्रतिशत लेखनमा प्रभाव पार्दो रहेछ । यताउता लागे पनि म फेरि मधेशकै मुद्दामा जानुको कारण पनि त्यही हो ।
साहित्यमा सीमाका कुरा धेरै आउँछन्, यसको इतिहास कति पुरानो हो ? कहाँबाट सुरु भयो दमनको शृंखला ?
जब देखि सीमा बन्यो तबदेखि नै दमन त सुरु भइहाल्यो नि । विश्वमा जहाँ हेरे पनि सानो देशमाथि ठुलो देशले जहिले पनि दमन गरिरहेको हुन्छ । अहिले पनि ग्लोबल सिनारियोमा त्यही त छ नि । कुनबेला कसले कब्जा नै गर्दिन्छ कि भन्ने डर पनि हुन्छ । सानो देश हुनु, भूपरिबेष्ठित देश हुनुका आफ्नै पीडा, समस्या छन् । छेउको छिमेकी देश सामाजिक, आर्थिक, राजनीतिक हिसाबले एकदमै शक्तिशाली हुँदै जाने र हामी कमजोर हुँदै जाने, संकुचित हुँदै जाने भयौं भने कतै कतै देशलाई कमजोर बनाइरहेको हुन्छ । शक्तिशाली देशले हाम्रो देशमा आएर चलखेल गर्ने कुराहरू भइरहन्छ । हामी आफैंभित्र मिल्दैनौं, कमजोर हुन्छौं भने अर्को ठुलो देशले आफ्नो शक्ति देखाउँन थालिहाल्छ । राजनीतिक रूपमा कुराहरू उठाउँछौं, तर हाम्रा कुराहरू सम्बोधन भइरहेको छैन । हाम्रा मुद्दाहरू विश्वव्यापी रूपमा स्थापित हुन सकिरहेको छैन । यसै कारणपनि सीमा विवाद, हस्तक्षेप देखिन्छ । साहित्यमा यी कुराहरू लेखिँदै आएको छ तर प्रभावकारी हुन सकेको छैन ।
निर्जीव वस्तुलाई पनि तपाईंले आफ्नो पुस्तकभित्र पात्र बनाउनुभएको छ, जीवित पात्रले बोल्न नसकेका कुरा निर्जीव पात्रले बोल्न सक्छन् ?
लेखकले आफ्नो विषय लेख्ने त छँदै छ, पाठकले पनि पुस्तक पढिसकेपछि केही सोचोस् भन्ने उद्देश्य हुन्छ । केही प्रश्नहरू उसको दिमाखमा पनि सिर्जना होस्, त्यसको जवाफ आफूसित पनि खोजोस् भन्ने आग्रह रहन्छ । त्यही आग्रहलाई लेखकले अलि लुकाएर पनि भन्ने गर्छन् र पाठकले आफैं बुझुन् भन्ने अपेक्षा पनि राख्छन् । मेरो जियरा भन्ने कथा संग्रहमा पुरै नारीसँग सम्बन्धित कथाहरू छन्, प्रयोगमूलक बनाउन त्यस्ता विम्बहरू सिर्जना गरिन्छन् । कतिलाई बुझ्न कठिन हुन्छ, लेखकले सबैले बुझ्नेगरी लेख्नुपर्छ भन्ने पनि हुँदैन केही कुरा त पाठकले खोजेर बुझ्दा अझ प्रभाव रहन्छ । पाठकले पनि त मेहेनत गर्नुपर्यो नि । सजीव पात्रले बोल्न नसकेका कुरा निर्जीव पात्रले बोलुन् भन्ने मात्र हैन, पाठकले खोजेर बुझुन् भन्ने पनि लेखकको चाहना हुन्छ ।
निर्जीव वस्तु बोल्दैन, प्रतिकार गर्दैन त्यही भएर कतिपय मान्छेलाई राम्रो लाग्छ । जस्तो नारी बोलेको मन पर्दैन कतिलाई । गुडिया भनेको नारीमाथि प्रयोग हुने शब्द हो । नारी गुडिया जस्तो चुप बसोस्, शृंगार गरोस्, राम्री भएर रहोस् भन्ने चाहना कतिपयको हुन्छ । नारीलाई किन गुडिया जस्तो बनाउने भन्ने कुराको विरोध नै हो त्यस्ता निर्जीव पात्र । धेरै ठाउँमा निर्जीव पात्रको प्रयोग गरेको छु । मान्छेलाई निर्जीव ठान्नुहुँदैन भन्ने उद्देश्य नै हो ।
तपाईं साहित्यकार मात्र नभएर सिनेमासँग पनि जोडिनुभएको छ ? यी दुईको सम्बन्ध कस्तो हो ?
म निकै लामो समयदेखि साहित्य र सिनेमासँग समानान्तर रूपमा जोडिएको छु । सिनेमालाई मैले पेसाका रूपमा लिए । साहित्यलाई पेसा बनाउन अलि गाह्रो कुरा हो नेपालको सन्दर्भमा । म साहित्य लेखनमा जुन बेला आएँ त्यो बेला लेखेरै जीवन चलाउन सहज थिएन त्यही भएर मैले अर्को पेसा पनि अंगाले । तर साहित्यमा लागेको भएर कल्पनाशील थिए । सिनेमा क्षेत्रमा रूचि पनि थियो । कथा बनाउन सहज भयो । पटकथा लेखन र साहित्य कतै न कतै जोडिएको विषय हो । मेरो लेखकीय क्षमतालाई मैले सिनेमामा प्रयोग गरेँ ।
सिनेमा लेखनले मेरो साहित्यलाई लेखनलाई सहज बनाएको छ । मैले सिनेमामा प्रयोग गर्ने कुरा उपन्यास र कथामा पनि प्रयोग गरिरहेको हुन्छु । सिनेमामा सुरुमै पात्र स्थापित भइदिन सक्छ । उपन्यास र कथामा पनि त्यो हुन सक्छ । मलाई रूचि पनि लागेको, सहज पनि लागेको भएर दुवै क्षेत्र मेरा लागि प्रिय छन् । तर पछील्लो समय म साहित्य लेखनमै अलि बढी केन्द्रित छु । मैले भन्न चाहेको विषय कथा र उपन्यासबाट भन्छु र पाठकको मन जित्छु भनेर आत्मविश्वास हुँदै गयो। अहिले म सिनेमाबाट अलि पर छु तर साहित्य र सिनेमा मेरा लागि बराबर हो ।
अन्त्यमा ?
विभिन्न लेखक तथा साहित्यकारहरूले लेखिरहनु भएको छ । पछिल्लो एक दशक यता महिलाहरू यति शक्तिशाली लेखनमात्र आउनुभएको छ यो साहित्यको लागि एकदमै राम्रो कुरा हो । दुइ चार जना महिला लेखकको मात्र नाम लिन सकिन्थ्यो अहिले धेरै जना आउनुभएको छ । महिला लेखक भनेर कित्तामा राखेर हेर्ने हैन समग्र रूपमा एक ठाउँमा बस्नुपर्छ भन्ने लाग्छ । सामाजिक रूपमा पनि अरू थुप्रै विषयहरू लेखिन थालेका छन् । उपेक्षित समुदायका कुरा, मधेशका कुरा, आफ्ना भाषाका कुरा उठिरहेका छन्, मैथिलो, भोजपुरी,अवधि साहित्यको विकास भइरहेको छ यो साहित्यको सुन्दर विकास हो । अहिलेको समयसित म असन्तुष्टि धेरै राख्दिन । विभिन्न पेसाका व्यक्तिहरू पनि साहित्यमा जोडिनुभएको छ यसले साहित्यको आयाम फराकिलो बनाएको छ भन्ने मान्छु म ।