२०८१ माघ ५ गते शनिवार / Jan 18 , 2025 , Saturday
२०८१ माघ ५ गते शनिवार
Ads

कथा : अधुरो प्रेम

hardik ivf
२०८१ माघ ५ गते ०६:२०
कथा : अधुरो प्रेम

–खगेन्द्र पौडेल

झुल्किँदै गरेको सूर्यले पोखरा उपत्यकामा आफ्नो उज्यालो छर्न थालेको थियो । फेवातालको काखमा बसेर पुष्पाले कति बिहान बिताइसकेकी होलिन् तर आजको बिहान उनका लागि विशेष थियो । मनभरी बेचैनी, आँखामा आँसु र दिमागमा अनगिन्ती प्रश्नहरू बोकेर उनी तालको किनारमा एक्लै बसेकी थिइन् ।

उनको दिमाग निकै अस्थिर थियो । के गरूँ, कसो गरूँ, निकै नै दोधारमा थिइन् । 

उनले जे सोचेर प्रेम गरेकी थिइन्, उनी पूर्ण असफल बनिन् तैपनि उनी असफलताबाट भाग्न सकिरहेकी थिइनन्, जसले उनलाई निकै बिक्षिप्त बनाउँदै थियो । 

पुष्पा र आर्यनको भेट पृथ्वीनारायण क्याम्पस, बगरमा भएको थियो । आर्यन काठमाडौंबाट पोखरा पढ्न आएको थियो । आत्मविश्वासी, प्रतिभाशाली र ठट्टा गर्न रमाइलो मान्ने स्वभावको ऊ, हेर्दा नै निकै आकर्षक थियो ।

अर्कातिर, पुष्पा पोखराकै स्थायी बासिन्दा । सुन्दर मुहार अनि स्वभावमा शान्त । 

पहिलो भेटमै पुष्पाको आँखा देखेर आर्यन प्रभावित भयो । त्यो आँखा, जसले केही भन्न खोजिरहेझैं लाग्थ्यो । कलेज जाने क्रममा उनीहरू नजिकिन थाले । 

पहिलो पटक आर्यनले पुष्पालाई फेवाताल किनारमा बोलाएर भनेको थियो, ‘तिमीलाई भेटेपछि जिन्दगी नै नयाँ लाग्न थाल्यो ।’

उनीहरूबीचको मित्रता प्रेममा बदलिन समय लागेन । आर्यनको साथले पुष्पाको आत्मविश्वास बढाएको थियो । उनीहरू कलेजपछि र बिदाको दिन प्रायः सँगै हुन्थे । पुष्पा र आर्यनले पोखराका प्रत्येक पार्क र चौतारामा समय बिताएका छन् । 

फेवातालको किनारामा होस् वा सराङ्कोटका छेउ, उनीहरू पुगिरहन्थे । सँगै बसेर सपनाहरू बुन्थे । आर्यनले काठमाडौंमा राम्रो जागिर खाने कथा सुनाउँथ्यो भने पुष्पाले लेखक बन्ने कथा सुनाउँथिन् । 

तर, सम्बन्ध र समय सधैं एउटै नहुने रहेछ । 

पढाइ पूरा भएपछि आर्यनलाई काठमाडौं फर्कनु थियो । आर्यन काठमाडौं आएसँगै उनीहरूबीचको सम्पर्क पनि कम हुँदै गयो । 

सुरुमा फोन र म्यासेजले उनीहरूलाई जोडिराख्यो तर समयसँगै आर्यनको व्यस्त जीवनले दुरी बढाउन थाल्यो । 

पुष्पा भने आफ्नो गाउँमै एउटा विद्यालयमा पढाउन थालिन् । उनी आर्यनसँगको सम्बन्धका लागि आफ्नो हरेक प्रयास गर्दै थिइन् । 

आर्यनले सुरुमा प्रतिज्ञा गरेको थियो, ‘दुरीले हाम्रो प्रेमलाई तोड्न सक्दैन ।’ तर, उसको स्वरको मिठास बिस्तारै हराउँदै गयो ।

केही महिनापछि, पुष्पाले आर्यनलाई भेट्न काठमाडौं जाने निर्णय गरिन् । उत्साह र त्रास मिश्रित मनले उनी बस चढेर काठमाडौंतर्फ लागिन् । झण्डै ८ घण्टाको यात्रापछि काठमाडौं आइपुग्दा पुष्पाका लागि सुखद समाचार प्राप्त भएन । काठमाडौं झर्दा नझर्दै उनले थाहा पाइन्– आर्यनको जीवनमा कोही अर्को छ ।

उनी आर्यनलाई ‘सरप्राइज’ दिन्छु भन्दै थाहै नदिई काठमाडौं आएकी थिइन् । बसपार्कमा ओर्लिएसँगै उनी सिधै आर्यनले काम गर्ने बानेश्वर ओर्लिएकी थिइन् । तर, विडम्बना ! जहाँ आर्यनको प्रतीक्षा गर्ने रेस्टुरेन्ट (सागर चियाघर) थियो, त्यहाँ आर्यन अर्र्कै युवतीसँग रमाइलोमा थियो । उनीहरू अँगालोमा कसिएर गफमा मस्त थिए ।

त्यो दृश्यले पुष्पा बिक्षिप्त भइन् । त्यो क्षण उनको हृदय चिरियो ।

‘किन यस्तो गर्‍यौ, आर्यन ?’, गला अवरुद्ध बनाउँदै सोधिन् ।

आर्यनसँग उत्तर थिएन । उसको आँखा झुक्यो । 

केहीबेरको मौनतापछि उसले भन्यो, ‘म सँगै रहन सक्दिनँ । परिस्थिति बदलिएको छ ।’

आर्यनको जबाफपछि उनको धैर्य टुट्यो । आफ्नो ब्याग समाइन् र ट्याक्सी चढेर बसपार्क हुँदै काठमाडौं छाडिन् । 

पुष्पाको पोखरादेखि काठमाडौंसम्मको यात्रा निकै नै अप्रिय बन्यो । उनी असाध्यै बेचैन भइन् । कुन गाडीमा छु, कहाँ आइपुगें भन्नेसम्म थाहा नपाई उनी पोखराको पृथ्वीचोकमा ओर्लिइन् ।  

आर्यनको उत्तरले पुष्पालाई निकै नै कमजोर बनायो । पृथ्वीचोकमा झरेकी पुष्पा सिधै फेवाताल किनारमा पुगिन्, जहाँ उनले आर्यनसँगै समय बिताउने गरेकी थिइन् । 

फेवातालको छेउमा एक्लै बसेर आफूलाई सम्झाइन् । उनले अठोट गरिन्, ‘म कमजोर छैन । म आर्यनबिना पनि जिन्दगी अघि बढाउन सक्छु ।’

पुष्पाले आफ्नो ध्यान लेखनतर्फ केन्द्रित गरिन् । केही वर्षपछि उनको पहिलो पुस्तक प्रकाशन भयो, जसको शीर्षक थियो– ‘अधुरो प्रेम ।’

ADVADV

सम्बन्धित खबर

Advertise