२०८२ चैत १३ गते शुक्रवार / Mar 27 , 2026 , Friday
२०८२ चैत १३ गते शुक्रवार
Ads

कविता : हामी स्मार्ट बेमान हौं

himalayanlife
२०८१ माघ १९ गते ०६:१०
Shares
कविता : हामी स्मार्ट बेमान हौं

–लक्ष्मण सिटौला

सहर स्मार्ट सिटीमा बदलिँदा
हामी स्मार्ट चोरमा बदलियौँ 
कारदेखि कार्डसम्म स्मार्टमा परिवर्तन भए 
तर ! हाम्रा बिचारहरू १६ औँ शताब्दीमै छन्
हामीलाई अरूले बनाइदिने ‘स्मार्ट’ चाहिएको छ
स्मार्ट श्रीमती बिहे गरेर 
खाडी मुलुक श्रम गर्न गएको साइँलाको 
स्मार्ट श्रीमती 
यता अर्कै स्मार्ट केटासँग भागिन
किनकि–
यो सब स्मार्ट मोबाइलको कमाल थियो
सबै कुरा स्मार्ट भएर बिग्रेको हो समय 
धोती कछाड टोपी र नाङ्गा पाउ लिएर 
खेतमा काम गर्ने गाउँले, मेरा बाउले 
चार सय मुरी धान भित्र्याउने सालिन्दा
अहिले म स्मार्ट सिटीमा छु
छाकै पिछे एक किलो स्मार्ट चामल 
किनेर खाइरहेछु
बाउको पालामा मुरीमा हिसाब हुन्थ्यो
अहिले किलोमा झ¥यो
स्मार्ट भएन त ?
भौतिक स्मार्टले 
हाम्रो विचारलाई गरिब बनाउँदो रहेछ 
स्मार्ट सिटीमा बस्ने म
धारामा पानी छैन
फोहोर फ्याँक्ने स्थान छैन
भो मलाई 
चरम विकासको, स्मार्ट सिटी, स्मार्ट सडक 
स्मार्ट बत्ती, स्मार्ट मोबाइल 
स्मार्ट सभ्यता चाहिएन
जहाँ ओल्लो घरकाले 
पल्लो घरकालाई चिन्दैन
ओल्लो कोठामा बस्ने 
पल्लो कोठामा बस्नेसँग बोल्दैन ।।

सम्बन्धित खबर