–डा. घनश्याम न्यौपाने ‘परिश्रमी’
‘खोक्पा’ (२०८०) डी.आर.द्वारा लिखित फुटकर कथाहरूको संकलन हो । डी.आर. गीति रचनाका साथै स्वदेश तथा विदेशका यात्राहरूलाई आधार बनाई नियात्रा र संस्मरणहरूको लेखन एवं प्रकाशनमा प्रवृत्त हुँदै आख्यान लेखनमा पनि प्रविष्ट देखिन्छन् । समयसापेक्ष सामाजिक विषयवस्तुलाई स्वाभाविक ढंगले चयन गरेर प्रभावकारी ढंगले लेखिएका कथाहरूले यस संग्रहमा प्रविष्टि पाएका छन् ।
कथा आख्यानको एउटा प्र्रभेद हो । आयामका दृष्टिले लघुकथाभन्दा लामो र उपन्यासभन्दा छोटो हुनु कथाको विशेष पहिचान हो । आधुनिक कथा मूलतः पश्चिमा आख्यानको प्रभावबाट आएको हो । जीवनको कुनै एउटा प्रमुख घटना वा चरित्रलाई जब आख्यानका माध्यमबाट एउटा बसाइमा पढेर सकिने आकारमा प्रस्तुत गरिन्छ, तब कथा बन्छ ।
वस्तुतः मानव जीवनका विविध पक्ष कथाका विषयवस्तु हुन्छन् । यस्ता विषयवस्तुहरूको कलात्मक यथार्थको अंकन आधुनिक कथामा हुन्छ । कथामा जीवनको कुनै रोचक वा मार्मिक पक्षको उद्घाटन हुनुपर्छ । यसर्थ, कथा जीवनको सन्निकट हुन्छ, बढीभन्दा बढी जीवनसापेक्ष हुन्छ ।
डी. आर. जीवनका विविध पक्षलाई नजिकबाट अवलोकन, अनुगमन, अनुभव र अनुभूत गरेर मार्मिक कथा लेख्ने कलामा निष्णात् देखिन्छन् । यिनका कथामा समय र सामाजिक जनजीवनका मूलतः जटिल, कष्टकर र हृदयविदारक, यथार्थ प्रसंग, चरित्र एवं घटनाहरूको चित्रण सार्थक ढंगले भएको पाइन्छ ।
‘खोक्पा’ आख्यानकार डी.आर.को कथा कृतिका रूपमा आएको पहिलो संग्रह हो । यसमा क्रमशः ‘बूढो रूख’, ‘पुच्का’, ‘परिवर्तन’, ‘परिणाम’, ‘हराएको नाता’, ‘रवि’, ‘नयाँ बाकस’, ‘गाड्धन’, ‘लाहुरेको निसानी’, ‘मायाको चिनो’ र ‘लंगडो साथी’ शीर्षकबद्ध ११ वटा कथा समाहित छन् ।
संग्रहअन्तर्गतको पहिलो कथा ‘बूढो रूख’ प्रथम पुरुष दृष्टिविन्दुमा लेखिएको छ । यस कथामा ग्रामीण परिवेश छ । काठमाडौं शहर पसेको म पात्र अर्थात् दीपेन मौका मिल्दा गाउँतिर पनि जान्छ । ऊ गाउँ जाँदा पारि पाखो खुइलिएर फुस्रो भएको र खेतीबाली हुनुपर्ने जग्गामा बोटबिरुवाहरू उम्रेर झोडीघारी भएको देख्छ अनि अलि नरमाइलो अनुभूति गर्छ ।
जगन्नाथ र बूढो रूखको सम्बन्ध यस कथामा रोचक लाग्छ । गाउँमा युवाहरू छैनन्, शहर पसे या त विदेश पलायन भए भन्ने कुरालाई यसमा मार्मिक ढंगले चित्रण गरिएको छ । वृद्धावस्थाको एकल जीवनको पीडा व्यक्त गरिएको छ । कथाले विदेशबाट फर्केकाहरूले त्यहाँ सिकेको ज्ञान र सीपलाई गाउँमा उपयोग गरिनु आवश्यक छ भन्ने सन्देश पनि दिएकोे छ ।
‘पुच्का’ यस संग्रहभित्रको दोस्रो कथा हो । शहरी परिवेशमा लेखिएको यस कथामा गाउँबाट अध्ययनका लागि काठमाडौं गएको र मास्टर्स डिग्री हासिल गरिसकेपछि जागिरको खोजीमा भौंतारिइरहेको म पात्र अर्थात् दिलांक राई र उसकी प्रेमिका रीतिकाबीचको प्रेम प्रसंग, कामुकता, जागिर नपाएको हुँदा विदेश जाने चाहना जस्ता सन्दर्भहरू एकातिर छन् भने यसको खास कथ्यवस्तु पुच्का र यसका आविष्कारक पुष्कर सरसँग सम्बद्ध हुँदै दिलांकको जीवनप्रवाहमा जोडिन आएको छ ।
पानीपुरी जस्तो लाग्ने चिजको नाम पुच्का किन वा कसरी रह्यो भन्ने कुराको रहस्योद्घाटन छ यसमा । यसमा वैदेशिक रोजगारीमा जानुभन्दा स्वदेशमै बसेर नयाँ नयाँ काम गर्दा फाइदा हुन्छ भन्ने व्यावसायिक अवधारणा छ । उपलब्धिका लागि सङ्घर्ष गर्नुपर्छ । व्यापारमा सानोबाट सुरु गर्दै ठूलोमा पुगिन्छ भन्ने कुराको दृष्टान्तका रूपमा यस कथालाई लिन सकिन्छ ।
यस कथामा कम पढेको पुकार पुच्काको मालिक बन्न पुगेको प्रसंग रोचक छ । युवाहरूलाई वैदेशिक रोजगारीमा जानबाट रोक्ने सन्देश यस कथाले दिएको छ ।
‘परिवर्तन’ यस कृतिमा रहेको तेस्रो कथा हो । रहस्यबाट आरम्भ गरिएको यस कथाको समापन निकै रोचक छ । एउटा राम्रो किताबले मान्छेको मानसिकतामा परिवर्तन ल्याउन सक्छ भन्ने कुराको उदाहरण यसमा भेटिन्छ । अमेरिकाको जागिर छाडेर नेपालमा फर्की विकासका काममा लागेका उदयमानको योजना र उनको किताबबाट प्रभावित पवन यस कथामा जीवन्त पात्र रहेका छन् । यसले वैदेशिक रोजगारीमा जानुभन्दा स्वदेशमै बसेर काम गर्नुपर्छ भन्ने अवधारणा प्रस्तुत गरेको छ ।
‘परिणाम’ यस कृतिमा रहेको चौथो कथा हो । चरित्रप्रधान यस कथामा पारिवारिक र सामाजिक विषय छ । हैसियतभन्दा माथिको उच्च महत्त्वाकांक्षाले जीवनलाई तत्काल राम्रो भए पनि अन्ततः नराम्रो परिणाममा पुर्याउँछ भन्ने सन्देश यस कथाबाट पाइन्छ ।
पाँचौं क्रममा रहेको कथा ‘हराएको नाता’ परिवेश चित्रणबाट आरम्भ गरिएको छ । यस कथामा वैदेशिक रोजगारीमा रहेका सन्तानको स्वार्थी चरित्र र बुढेसकालमा वृद्धाश्रममा बस्न बाध्य मातापिताहरूको दयनीय अवस्थालाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ ।
छैटौं अनुक्रममा रहेको ‘रवि’ शीर्षकको कथामा युवतीहरूलाई जागिर खाने सन्दर्भमा हुने केही बाध्यात्मक जटिलता र पुरुषहरूबाट हुने कुदृष्टिको प्रस्तुति छ । प्रेमका नाममा दिइने धोका, षड्यन्त्र, कामवासना, पश्चत्तापबोध जस्ता विषय यसमा भेटिन्छन् ।
धोका दिने युवक विवेक र पीडित युवती रक्षाको अन्तमा भएको मिलन यसमा रोचक छ । रक्षा र विवेकको नामका अग्राक्षरबाट सन्तानको नाम रवि राखिएको यसको शीर्षक सान्दर्भिक छ ।
यस कृतिअन्तर्गत सातौं अनुक्रममा रहेको ‘नयाँ बाकस’ शीर्षकको कथामा लोग्ने जनक वैदेशिक रोजगारीमा गएको र फेसबुकका माध्यमबाट गलत बाटोमा लागेको, स्वास्नी जानकी पनि मति बिग्रेर सानी अबोध छोरीलाई बाबालाई लिन जान्छु भनेर छाडी पोइला गएकी, अन्तमा जनक विदेशमै बिरामी परेर मरेको र उसको साथी कल्याणको सहयोगबाट नयाँ बाकसमा लास ल्याइएको जस्ता घटना र प्रसंगहरू छन् ।
यसमा बालमनोविज्ञान अत्यन्त मार्मिक ढंगले प्रस्तुत भएको छ भने दुःखको घडीमा मित्रबाट हुने सहयोगको उदाहरणका साथै वैदेशिक रोजगारीमा जानेहरूका लागि सन्देश पनि छ ।
आठौं अनुक्रममा रहेको ‘गाड्धन’ शीर्षकको कथा ग्रामीण परिवेशमा छ । यसमा सडकले नछोएको सिस्ने गाउँ र त्यस गाउँमा रहेका लोभी स्वभावका टारघरे बूढाको चरित्रलाई आधार बनाइएको छ । टारघरे बूढाका सन्तान विदेशमा छन् । यहाँसम्म कि बेला–बेलामा बूढीसमेत छोरा–बुहारीसँगै विदेश गएकी हुन्छिन् । बूढासँग जग्गा–जमिन र पुरानो सम्पत्ति छ तापनि कताबाट कमाइ हुन्छ भन्ने मात्र सोच्छन् ।
गाउँ समाजमा उनी कन्जुसका रूपमा चिनिन्छन् । दान गर्दा वा कुनै वस्तु दिँदा त्यसबाट लाभ हुनुपर्छ भन्ने बूढाको चाहना हुन्छ । भौतिक वस्तुको लाभकै लोभले उनले कहिले गाउँमा बाटो पुर्याउन, कहिले पुल बनाउन र खेल मैदान निर्माण गर्न सहयोग गर्छन् । वास्तवमा उनको स्वार्थी भावनाको सहयोगले भए पनि गाउँको मुहार फेरिन्छ ।
अन्तमा, उनको सेवाभावको कदर गर्दै राष्ट्रले उनलाई सम्मान गर्छ । यसरी टारघरे बूढाले खोजेको गाड्धन आखिर राष्ट्रले दिएको राष्ट्रिय सम्मानमा परिणत हुन्छ । लोभलालचले गरेको भए पनि सेवा र सहयोगको प्रतिफल पाइन्छ भन्ने सन्देश यस कथाबाट पाइन्छ ।
नवौं अनुक्रममा रहेको ‘लाहुरेको निसानी’ शीर्षकको कथा ब्रिटिस पल्टनका २ जना वृद्ध लाहुरेहरूको भेट र परिहासजन्य संवादबाट आरम्भ भएको छ र युवा पुस्ताका लाहुरेहरूको विकास र परियोजनाका परिकल्पनामा टुंगिएको छ । हिजोका लाहुरे र आजका लाहुरेहरूका बीचको सोचाइ र चिन्तनको भिन्नतालाई यस कथामा बडो प्रभावकारी ढंगले प्रस्तुत गरिएको छ । मूलतः आजका लाहुरेहरू देशको विकासका काममा आबद्ध हुनुपर्छ भन्ने सन्देश दिएको छ यस कथाले ।
दशौं अनुक्रममा रहेको ‘मायाको चिनो’ शीर्षकको कथा प्रेमको नाममा धोका र अन्ततः जीवनको उत्तराद्र्धमा मिलनको रोचक घटनामा लेखिएको छ । प्रेमका नाममा यौन सम्पर्कसम्म गर्ने र छातीमा मायाको चिनोको ट्याटु बनाउने अमर प्रेमिका माया दलित भएकीले गर्भवती भएको अवस्थामा छाडेर भाग्नु, त्यसपछि मायाले आफ्नो नाम छाया राख्नु, छोरो जन्मिनु, माइतमा राखेर पालन पोषण गर्दै पढाउनु, छोराले बाबु पत्ता नलागेको आरोप सुन्न बाध्य हुनु, यही कारणले उसको विवाह हुन कठिन हुनु, अन्ततः अमरकी पत्नी बितेपछि उसकी छोरीका माध्यमबाट अनियोजित रूपमा अमर र छायाको मिलन हुनु, संवादका क्रममा एकले अर्कालाई चिन्नु र रहस्य खुल्नु जस्ता सन्दर्भहरू यस कथामा छन् ।
अन्तमा, विधुर अमर र एकल महिलाका रूपमा रहेकी छाया दाम्पत्य जीवनमा जोडिन्छन् । यसपछि छोरा सुविनको पनि उसकी प्रेमिका सोवितासँग विवाह भएको प्रसंग यसमा थपिएको छ ।
अन्तिम अर्थात् एघारौं अनुक्रममा रहेको ‘लंगडो साथी’ शीर्षकको कथामा समाख्याता म पात्र रहेको छ, जुन विद्यालयको शिक्षक हो । उसले कक्षामा गएर विद्यार्थीहरूलाई पढाएको कथा हो यो । यस कथामा कर्ण क्रियाशील मानवीय पात्र हो भने लंगडो साथी मानवेत्तर पात्र हो ।
कर्ण घोडाबाट भारी खेपेर आर्थिक उपार्जन गर्छ । आफ्नो पहिलो घोडा टिके बूढो भएकाले कर्णले नयाँ घोडा किन्छ । यसको नाम साथी राख्छ । साथी पशु भए पनि साँच्चिकै विवेकी र आपत् विपद्मा सहयोग गर्ने खालको छ । कतिपय अवस्थामा उसले कर्णलाई बचाएको छ ।
एउटा घटनामा साथीको खुट्टामा चोट लाग्छ । कुद्न नसके पनि लंगडो साथीले भारी बोक्ने काम गर्छ । तर, बिस्तारै लंगडो साथी खुट्टाकै कमजोरीले थला पर्छ । उसलाई जडीबुटी उपचार गरिन्छ तापनि निको हुँदैन ।
यसैबीच कर्णको छोरो भरतले हुलाकमा जागिर पाउँछ, जसले गर्दा घरव्यवहार चलाउन सहज हुन्छ । अन्ततः लंगडो साथी एक दिन तनक्क खुट्टा तन्काएर संसारबाट बिदा लिन्छ । यसरी दुःखान्त कथा टुंगिन्छ ।
आयामका दृष्टिले यसभित्रका कथाहरू अलिक लामा र एउटै बसाइमा पढेर नसकिने खालका लाग्छन् । करिब १२ पृष्ठदेखि २२ पृष्ठसम्मका कथाहरू यसमा समाविष्ट छन् । कथाका पात्रहरू स्वाभाविक चरित्रका र जीवन्त लाग्छन् ।
पात्रानुकूलको भाषाका रोचक संवादहरू यी कथामा भेटिन्छन् । खासगरी पूर्वी नेपालको पहाडी समाजका विविध स्वरूपका चित्र र काठमाडौं शहरका बिम्बहरू यहाँ देखिन्छन् । अधिकतर कथा वैदेशिक रोजगारीप्रति वितृष्णा जगाउने खालका छन्, जुन सामयिक र सान्दर्भिक लाग्छन् ।
सबै कथाका शीर्षक सार्थक छन् । ‘खोक्पा’को कोशीय अर्थ हुन्छ, ‘जंगली जनावरले आधा खाई शेष रहन गएको शिकार, खाँदाखाँदै नसकिएको शिकार ।’ तर, यसको प्रतीकात्मक अर्थ भने दुब्लो, पातलो, ख्याउटे अनुहार भएको भन्ने हुन्छ । यस कृतिमा ‘खोक्पा’ शब्दले प्रतीकात्मक अर्थलाई द्योतन गरेको छ । समग्रमा यो कथासंग्रह पठनीय र मननीय छ ।