काठमाडौं : राजनीतिक वा अन्य बहानामा भइरहेको नेपाल बन्दलाई मुख्य विषयमा बनेको फिल्म हो ‘हाइवे’ । माओवादी सशस्त्र युद्धमा हिँडेको पात्रको परिवार र समाजको कथामा आधारित बनेको फिल्म हो ‘सेतोसूर्य’ । यस्तै, मधेश आन्दोलनले सिर्जना गरेको परिवेशको एउटा घटनामा केन्द्रित भएर फिल्म बनेको छ–राजागंज ।
राजनीतिक तथा सामाजिक विषयमा फिल्म बनाउँदै आएका दीपक रौनियारको तेस्रो फिल्म हो ‘राजागंज’ । तर यो फिल्मको चति चर्चा छ, त्यस्तै विवादमा पनि परेको छ । फिल्म रिलिज हुनुअघि नै यसमाथि सेन्सर बोर्डको कैंची चलेको छ ।
विश्वका थुप्रै फेस्टिभलहरू चहारिसकेको फिल्म ‘राजागंज’ १ चैतबाट प्रदर्शनमा आएको छ । तर, फिल्मलाई केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले कैंची चलाएपछि यसको चर्चा बढेको हो । बोर्डले केही दृश्य तथा शब्दहरूमा आपत्ति जनाउँदै सेन्सर गरेको छ ।
विशेषगरी बोर्डले २३ भदौ २०७२ मा एमालेको अध्यक्षको रूपमा प्रधानमन्त्री केपी शर्मा ओलील केही दलले संविधानसभा छाड्दैमा संविधान निर्माण प्रक्रिया नरोकिने बताएका थिए । संविधानसभाबाट बाहिरिनेहरूलाई ओलीले ‘रुखबाट झरेका केही आँप’को संज्ञा दिएका थिए ।
त्यतिबेला ओलीले दिएको उक्त भनाई विवादित पनि बनेको थियो । धेरैले उनको टिप्पणीलाई असंवेदनशील भनेको थिए । त्यही ‘क्लिप’ फिल्म ‘राजागंज’ मा रौनियारले समावेश गरेका हुन् । जसलाई फिल्मको कथामा ‘क्लु’ का रूपमा मात्र प्रयोग गरिएको हो ।
ओलीको उक्त भनाइलाई फिल्ममा समावेश गरिएकोमा बोर्डले आपत्ति जनाएको हो । त्यसलाई हटाउन वा फिल्ममा समावेश गर्नैपर्ने भए प्रधानमन्त्रीको कार्यालयबाट अनुमतिसहितको पत्र लिएर आउन सेन्सर बोर्डले निर्देशन दिएको थियो ।
निर्देशक रौनियारका अनुसार बोर्डले प्रधानमन्त्री, कालो–गोरो जस्ता शब्द समेत नराख्न भनेको छ । त्यो हटाउँदा फिल्म नै मर्ने उनी बताउँछन् ।
यद्यपी सेन्सर हुनुभन्दा अगाडि नै फिल्म इटहरी, विर्तामोड, जनकपुर, चितवन जस्ता सहरमा प्रिमियर शो आयोजना गरिसकेको थियो । यो फिल्म सेन्सर पास नहुँदै यही वर्षको भेनिस फिल्म फेस्टिभलमा वल्र्ड प्रिमियर गरिएको थियो ।
कहाँ चल्यो कैंची
सेन्सर गरेर बोर्डले ‘राजागञ्ज’लाई ‘यु’ सर्टिफिकेट दिएको छ । फिल्मको मूल मर्म नै मर्ने गरी सेन्सर बोर्डले मुख्य दृश्यमा कैँची चलाएको रौनियार बताउँछन् ।
यो फिल्म मधेशको राजनीतिक मुद्दामा केन्द्रित भएर बनेको हो । यसमा मधेश आन्दोलनका दृष्य पनि समावेश छन् । मधेशी–पहाडीबीच दुर्भावना फैलाउन सक्ने आशंका र प्रधानमन्त्री ओलीलाई लाञ्छित गरिएका दृष्य–संवाद सेन्सर बोर्डले हटाइदिएको हो ।
‘हामीसँग फिल्मका लागि लामो समय थिएन । समय नभएपछि काटिएका दृश्य खाली छाडेर हलमा गएछौँ’, रौनियारले भने । उनका अनुसार प्रधानमन्त्रीले त्यसबेला ‘कुहेका आँपहरू झरे’ भनेर मधेशी दलहरूबारे गरेको टिप्पणी पूरै हटाउन लगाइएको छ ।
इन्स्पेक्टरको भूमिकामा रहेकी निकिता चण्डकले प्रधानमन्त्रीको उक्त डाइलग उद्धृत गर्दै बोलेको संवाद पनि हटाइएको छ ।
सेन्सर बोर्डले तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासन हत्याएका बेला पत्रिकाका शब्द शब्द सेनाले काटेकै शैलीमा दृश्य र संवाद काटेको भनाइ निर्देशक रौनियारको छ ।
रौनियारले सेन्सर बोर्डको यो कदमलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको धावा बोलेको टिप्पणी गरेका छन् । ‘प्रधानमन्त्री जनताकै छोरा हुन् । उनकोबारे कमेन्ट गर्न नपाइने हो र ?’, रौनियारले भने, ‘सिनेमासँग किन शासक डराइरहेका छन् ? जनतामा देखिएको फ्रस्टेसन यस्तै कारणले हो ।’
फिल्मबाट यो क्लिप हटाउनुलाई फिल्मकर्मीहरूले निरंकुशताकै झझल्को भएको टिप्पणी गर्छन् ।
चलचित्र निर्देशक नविन सुब्बाले भने, ‘न पत्रिकामा, न अनलाइन मिडियामा, न अन्य डिजिटल प्लेटफर्ममा सेन्सर हुन्छ । केबल फिल्मलाई मात्र किन ?’ उनका अनुसार अन्य देशहरूमा चलचित्रलाई उमेरअनुसार ग्रेडिङ मात्र गरिन्छ, दृश्यहरू जबरजस्ती हटाइँदैन । ‘भारतमा सेन्सर प्रणाली दोस्रो विश्वयुद्धपछि ब्रिटिशहरूले ल्याएका थिए । अधिनायकवादी र कम्युनिस्ट देशहरूमा मात्र यस्तो हुन्छ । हाम्रो देश लोकतान्त्रिक हो भने किन यो पालना गर्नुपर्छ ?’
सार्वजनिक भाषणलाई सर्जकले रचनात्मक रूपमा प्रयोग गर्दा सरकार डराएको निर्देशक सुब्बा बताउँछन् ।
अभिनेता दयाहाङ राईले आफ्ना चलचित्रहरूसँग तुलना गर्दै सेन्सर नियमको कठोरताको आलोचना गरे । ‘मेरो फिल्ममा अमेरिकी कविताको एक दृश्य छ, अब यदि सेन्सर नियम पालना गर्नुपर्छ भने त्यहाँबाट अमेरिका शब्द नै हटाउनुपर्छ,’ उनले भने ।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई मधेशको कथावस्तु र पहाड तथा मधेशको सम्बन्धको कथामा राजागंज उत्कृष्ट फिल्म रहेको प्रतिक्रिया दिएका छन् ।
फिल्मको प्रिमियर हेर्न पुगेका भट्टराइले भनेका थिए, ‘मधेश आन्दोलनको सेरोफेरोमा बनेको र म त्यसको प्रत्यक्ष साक्षी हुनुको नाताले पनि यो धेरै वस्तुवादी तथ्यपरक छ । ‘तर, मलाई दुःख के लाग्यो भने जुन फिल्म हामीले हेर्न पायौं, पूर्णरूपमा यसका केही महत्वपूर्ण अंशहरू काटिएको छ भन्ने सुनेँ । यदि मुख्य अंश काटिएको हो भने, यो त फिल्मको टाउकै काटिएजस्तो हुन्छ’, उनको भनाइ थियो ।