-कोपिला घिमिरे
बाँध्न खोज्यो भने त झन् हुँदैहुँदैन
यसै बहकिन्छ यो मन हुँदैहुँदैन
एउटा सोच्यो परिस्थिति अर्कै भइदिन्छ
अक्सर सोचेजस्तो जीवन हुँदैहुँदैन ।
न पर्खन्छ, न त आफूसँगै लिएर जान्छ
समयले अनेकौं गृहकार्य दिएर जान्छ
न तपाईंको, न त मेरो, के छ र आखिर ?
संघर्ष गर्दागर्दै जीवन सकिएर जान्छ ।
जति बुझ्यो उति गहिरो कहानी जस्तै हो
सुन्दर फूलको ओइलिने जवानी जस्तै हो
थाहा छैन, कुन मोडमा पोखिएर बिलाउँछ
जिन्दगी त कर्कलाको पानी जस्तै हो ।
फूल सम्झेर दिलमा राख्यो, काँडा बनी घोच्न थाल्छन्
आफ्नै ठानी विश्वास गर्यो, पराईझैं सोच्न थाल्छन्
यी मान्छेका जातलाई पनि बुझिसाध्य छैन हजुर !
सम्बन्धलाई अविश्वासको डब्बाभित्र कोच्न थाल्छन् ।