–विकेश श्रेष्ठ
लोकतन्त्रको उद्देश्यको एक प्रमुख पक्ष उन्नतशील, आत्मनिर्भर समाज र देश निर्माणका निमित्त दक्ष र बौद्धिक जनशक्ति निर्माण गर्नु हो । लोकतन्त्र हरेक व्यक्तिको स्वतन्त्र विकास गर्ने राजनीतिक प्रणाली पनि हो । तर, देशभक्ति र सामाजिकता बिनाको लोकतन्त्रको विचारधाराले मानिसलाई चरम व्यक्तिवादी महत्वाकांक्षी बनाउने गर्दछ ।
व्यक्तिको व्यक्तित्व विकासमा लोकतन्त्रको महत्वपूर्ण भूमिका हुन्छ । जसरी एक परिवार, समाज र राष्ट्रले योग्य, शिक्षित र दक्ष नागरिक बनाउन सम्पूर्णरूपले त्याग र योगदान गर्छ, त्यसरी नै एक नागरिकले आफ्नो व्यक्तित्व, प्रतिभा र क्षमताको विकास गर्न आफ्नो परिवार, समाज – समुदायप्रति कर्तव्यनिष्ठ भएर लोकतन्त्रलाई जीवन व्यवहारमा आत्मसात् गर्नुपर्दछ । यस प्रकारको विचारमा आधारित लोकतन्त्र देशभक्ति र सामाजिक लोकतन्त्रले नै देश र जनताको हित गर्न सक्छ ।
लोकतन्त्रको विकल्प कुनै पनि रूप र रंगको तानाशाही वा नोकरशाही हुन सक्दैन । लोकतन्त्र व्यक्तिको अधिकार मात्र होइन, लोकतन्त्रको अनुभूति वा नागरिकहरूमा जागृत हुने आत्मसम्मान र कर्तव्यनिष्ठता पनि हो । जसले आफ्नो परिवार, समाज र देशप्रति गौरव गर्छ । समुदाय र राष्ट्रप्रति जवाफदेही र कर्तव्यनिष्ठ भएर लोकतन्त्रको सच्चा अनुभूति गर्छ ।
यस दृष्टिले लोकतन्त्रको मापन भनेको नागरिकको समग्ररूपले सशक्तीकरण गर्नु पनि हो । तर, यसको पहिलो आधार परिवार, समाज र देश नै हो । हरेक नागरिकले लोकतन्त्रमा वर्तमानमा गौरव गर्ने र भविष्यप्रति आशावादी बन्ने सुनिश्चितता खोजेको हुन्छ । तर, समाज र देशले बुझेको र भोगेको लोकतन्त्रबाट गरेको अपेक्षाअनुरूप भएन भने सामाजिक निराशा हाबी बन्दै जानेछ । परिवार, समाज र देश छोड्ने लहर चल्न सक्छ या अराजकता र विद्रोहको परिस्थिति बन्न पुग्छ ।
हामीले पुस्तौँ संघर्ष गरेर ल्याएको लोकतन्त्रलाई बुझ्ने र लागू गर्न चुनौतीपूर्ण रहेको प्रस्ट छ । राजनीतिक दलका नेता र कार्यकर्ताहरूले बुझेको लोकतन्त्रको सार– राज्यसत्ता नै सबथोक हो । यस दृष्टिबाट उनीहरूले पार्टी÷दलमा लोकतन्त्रको अभ्यास व्यक्ति केन्द्रित नोकरशाही हो । माथिबाट नोकरशाही र तलबाट चाकडी चाप्लुसी नै पार्टी÷दलको केन्द्रीयता र लोकतन्त्र बनेको छ । लोकतन्त्रका महारथीहरूको यस्तो अभ्यासले नागरिकहरूले पनि त्यही प्रकारको अलोकतान्त्रिक आचरण सिक्ने र लोकतन्त्रबाट व्यक्तिगत लाभको आशा र अपेक्षा गर्नु स्वभाविक बन्न थालेको छ ।
आज लोकतन्त्रमा देशभक्ति राष्ट्रवाद अत्यन्त कमजोर बनेको छ । जसको परिणाम आजको नागरिकजनमा उसको परिवार, समाज र देशले नागरिकको व्यक्तित्व निर्माणमा सम्पूर्णरूपले समर्पण गर्यो, उसैको विचारमा परिवार, समाज, समुदाय र देश उसको प्राथमिकता पर्दैन । देश, समाज र परिवार हितभन्दा निजी हित र सुविधालाई सबथोक मान्ने संस्कृति र संस्कारलाई प्राथमिकता दिने परिस्थिति बन्यो ।
तीन/चार पुस्ताले त्याग र बलिदान दिएर प्राप्त गरेको लोकतन्त्रले कस्तो नागरिक, समाज र देश बनाउने अपेक्षा गरेका थियौँ ? आजको वस्तुस्थितिले लोकतन्त्रप्रति, आदर्श मानिएको राजनैतिक प्रणाली पार्टीहरूप्रति र तिनका नेतृत्व पंक्तिप्रति निराशा छाएको छ । निश्चितरूपमा यस्तो परिस्थितिको मुख्य जिम्मेवार राजनीतिक दल र तिनका नेताहरू हुन्, जसले लोकतन्त्रलाई आफू र गुट अनुकूल व्याख्या र आचरण गरे ।
लोकतन्त्रको सबैभन्दा कमजोर पक्ष भनेको लोकतन्त्रमा देशभक्ति र सामाजिक दायित्व र जवाफदेहिताको अभाव हो । देशभक्ति बिनाको लोकतन्त्रको कारण अस्थिरता, अराजकता, अनेकता र पराधीनताको परिस्थितिलाई देशले झेल्न बाध्य छ । देशभक्ति र सामाजिक विचारले लोकतन्त्रलाई पूर्ण बनाउँछ । देशभक्ति भावनाले देशलाई एकताबद्ध र चुनौतीहरूसँग सामना गर्ने शक्ति आर्जन गर्छ । सामाजिकताको विचारले समाज र देशप्रति कर्तव्यनिष्ठ र समर्पित हुने भावना जगाउँछ । हरेक नागरिकले पहिलो देश र समाज बनाउने लोकतान्त्रिक संस्कृतिलाई उच्च प्राथमिकता बनाउँछ ।
देश त सधैँ स्वतन्त्र नै रह्यो, कहिल्यै पराधीन भएन, तर देश नै घोषितरूपले विदेशीको पराधीन नभए पनि राजतन्त्र÷राणाशाही वा बहुदलीय प्रजातन्त्र र लोकतन्त्रका कतिपय शासकहरू भने पराधीनताको रोगी मानसिकताका भएकै कारण देशले स्वाधीनता र स्वतन्त्रताको अनुभूति गर्न पाएको छैन । देशले आफ्नै प्राकृतिक स्रोत र मानव संशाधन आफ्नै देश र देशवासीको उन्नति र समृद्धिको निम्ति प्रयोग गर्न सकेन ।
नेपालका प्रायः शासकहरू विदेशी खासगरी पहिले अंग्रेजको छायामा र त्यस उपरान्त भारतीय राज्य सत्ताबाट अति नै दबाब र हस्तक्षेपमा सत्ता चलाउन बाध्य छन् । यथार्थतामा विगतमा नेपालका शासकहरू अंग्रेज वा भारतसँग युद्ध हारेर सरकार सञ्चालन गर्नु परेको होइन र वर्तमानमा पनि त्यो अवस्था छैन । तर, पनि हरेक सरकार भारतीय सत्ता आतंकको छायामा परिरहेकै हुन्छन् ।
यस्तो हुनुको मुख्य २ कारण छन् । पहिलो आन्तरिक कारण– आफ्नै राजनैतिक वैचारिक शक्ति तथा जनताप्रति विश्वस्त छैनन् । सँगै, उनीहरू सत्ता लोलुप छन् । राजनीतिक प्रतिस्पर्धीहरूसँग निषेधात्मक रवैया अपनाउँदा बाह्य राज्य शक्तिको आड र संरक्षणद्वारा आश्रित हुन चाहना राख्नु पनि हो । देश हितभन्दा सत्ता र शक्तिको आशक्ति प्रमुख रोजाई हुनुको कारण नेता वा शासकहरूमा पराधीनताको सोच हाबी भयो । देशको राजकीय सत्ताका अंगहरूमा बाह्य शक्ति राष्ट्रहरूको लगानी र पहुँचले समान्तर सत्ता अभ्यास र अस्थिर शासनको एक प्रमुख कारण बनेको छ ।
दोस्रो बाह्य कारण – सन् १९५०को भारत–नेपालबिच भएको सन्धि सम्झौता हो । जुन सम्झौताले नेपालमाथि भारतको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक प्रभुत्व कायम रहिरह्यो । त्यस सन्धी अतिरिक्त व्यापार र सुरक्षा सन्धि जल श्रोत र ऊर्जा सन्धि सम्झौता गरेर नेपाललाई स्वतन्त्र भएर सत्ता सञ्चालन र देश विकास गर्न नसक्ने अवस्थामा पुर्याएको छ ।
इतिहासमा शासकहरूमा पराधीन मानसिकता खासगरी राणाहरूबाटै सुरु भएको पाइन्छ । अंग्रेजहरूले नेपालको भूस्थिति र नेपालीहरूको लड्ने क्षमता देखेर नेपाललाई स्वतन्त्र राष्ट्र मान्न बाध्य भए । तर, राणा पारिवारिक शासनलाई अंग्रेज शासकहरूले उत्तर तर्फबाट हुने सुरक्षा खतरा नेपालको फौज ढाल बन्ने देखे । साथसाथै, अंग्रेज सेनामा नेपाली जवानहरूको भर्ती केन्द्र सुरु गरेर भाडाका सेना सहजै आपूर्ति गरे वा भारत (लखनउ विद्रोह) स्वतन्त्र संग्रामको दमन गरेर वा अंग्रेज शासनको पतनलाई रोक्न नेपालको तर्फबाट बफादारी देखाए ।
सामान्यतः यी घटनाहरू इतिहासको विवरण मात्र होइन, यसले स्थापित गरेको राजनीतिक, सैनिक, आर्थिक र सामाजिक – सांस्कृतिकरूपले दूरगामी प्रभाव पारिरहेको छ । आजको दिनमा त्यसले पारेको प्रभावबाट नेपाली समाज वा नागरिकहरूको देशभक्तिको रोजाई त्यागेर सत्ता केन्द्रित मोहले मालिक भक्तिको मनोविज्ञान निर्माण हुने गरेको छ ।
निश्चय नै तत्कालीन कम्युनिस्ट पार्टीले १९५० को सन्धि र गोरखा भर्ती केन्द्रको विरोध गर्दै आएको हो । जनयुद्धको विकास र विस्तारमा देशभक्ति र राष्ट्रवादप्रति समर्पणको भावनाले उल्लेख्य वैचारिक ऊर्जा प्रदान गरेको थियो । विडम्बना कै कुरा हो कि नेपालको समग्र प्रजातान्त्रिक÷लोकतान्त्रिक आन्दोलनमा देशभक्ति र राष्ट्रवादको धार र धारणा हदैसम्म कमजोर रहिरह्यो ।
जति–जति बेला शासकहरूमा देशभक्ति जागेको बखत जनतामा पनि राष्ट्रवाद जागेको थियो, अंग्रेज साम्राज्यसँग या चिनियाँ सम्राटको साम्राज्यसँग युद्धमा शासक र जनता दुबैमा देशभक्ति उच्च थियो । राणाशाहीतन्त्रले रोपेको अंग्रेजको गुलामी १०४ वर्ष शासन कायम रह्यो । अन्तिम राणा शाही प्रधानमन्त्री र राणाशाहीतन्त्रबाट मुक्त हुन चाहेका राजा त्रिभुवन शाहले भर्खरै राज्य सत्ता सम्हालेका भारतीय शासकहरूको पराधीनताको हदैसम्मको गुलामी गरेका हुन् । नेपालको तर्फबाट सम्झौतामा सहभागी हुने राणा प्रधानमन्त्री र राजा त्रिभुवनले गरेको सन् १९५० को सन्धिको परिणाम हालसम्म देशको अर्थराजनीतिमा भारतको हेपाई र चेपाइको प्रभाव परिरहेको छ । सन् १९५०को सन्धि गरेर नेपालको स्वतन्त्र अस्तित्व समाप्त पार्ने काम गरेकै हुन् ।
यद्यपि, राजा महेन्द्रले सन् १९५० सन्धि सच्याउन हदैसम्मको भूमिका गरे । त्यो राष्ट्रघाती सन्धिबाट देशलाई स्वाधीन राष्ट्रको रूपमा विश्वमा चिनाउन राष्ट्रवादको झन्डा उठाए । अन्तर्राष्ट्रिय जगतमा नेपाल स्वतन्त्र नै रहेको सन्देश दिए । त्यसैगरी राजा वीरेन्द्रले पनि नेपाललाई स्वतन्त्र राष्ट्रको पहिचान बनाई राख्न ‘शान्ति क्षेत्र नेपाल’ प्रस्ताव विश्व समक्ष प्रस्तुत गरेर देशलाई स्वतन्त्र देश भएको सन्देश दिँदै रहे । जसरी राजा महेन्द्रको मृत्यु दरबारियाहरूको विदेशी पराधीनता र दलालीको कारण भयो, त्यसैगरी राजा वीरेन्द्रको वंशनाश उनकै भाइभारदे राजसंस्था र देशभक्त राजामाथि गद्दारी गरेर राजसंस्था नै समाप्त पारे । यो कार्यमा विदेशी गुप्तचर संस्थाहरूद्वारा प्रायोजित तत्कालीन शाही सेनाका प्रमुख प्रज्ज्वल शमशेर राणाको सेनामा प्रत्यक्ष कमान हुँदाका बखत भयो । दरबारभित्रबाटै द्रोहीबाट देशभक्तहरू माथि आक्रमण हुँदा पनि दल र तिनकी नेताहरू तै चुप मै चुप हुनु, त्यो बीभत्स, जघन्य र राष्ट्रद्रोही अपराधलाई आममाफ गर्नुले लोकतन्त्रको अवस्थामाथि प्रश्न उठेको छ । जो र जसले देशहितको पक्षमा उभिए ती कोही कसैको पनि सहज र स्वभाविक मृत्युवरण र पतन भएको छैन । यसकारण देशको नेतृत्व गर्न चाहनेहरूले देशभक्तिको उदाहरण बन्ने कि मालिक भक्त भएर सत्तामा टिकिरहने चुनौती बनेको छ ।
इतिहासका जननायक भीमदत्त देशभक्तिका पहिलो नायक हुन् । शान्ति र गणतन्त्र नेपाल स्थापनाका एक प्रमुख नेता गिरिजा प्रसाद कोइरालाको योगदान पनि राष्ट्रवादको एउटा ज्वलन्त नमुना हुन् । जसले शान्ति र गणतन्त्र स्थापना प्रक्रियाको अगुवाइ गरेर वैदेशिक हस्तक्षेपको प्रवाह नगरी राजनीतिक परिवर्तन गर्न राजनैतिक रूपले विवेक र साहसको उदाहरण बनेकै हो । संघीय गणतन्त्रको संविधान जारी गर्न आँट गर्ने सुशील कोइराला पनि देशहीतमा निर्णय गर्न रोकिएनन् । नेताहरू पटका पिच्छे सत्तासीन हुँदा समेत राष्ट्रियताका मुद्दामा झन् झन् लत्रँदै, देशभक्तिपन खस्कँदै गरेको आभास जनताले गरेका छन् । उदाहरण, महाकाली र एमसीसी जस्ता सन्धी हुन् ।
यद्यपि, देशभक्ति र राष्ट्रवादको कुरा उग्र नारा र लम्फाजीले गर्ने देशको स्वतन्त्रता प्राप्त भएन र हुँदैन पनि । मुख्य कुरा, मुख्य नेता वा सरकार राष्ट्र प्रमुखहरूले राष्ट्रिय हितमा शिर ठाडो बनाएर अडान लिनुपर्ने हो । देश र राष्ट्र हितको निम्ति सत्ता नै किन जस्तोसुकै अप्ठेरो र संकटको सामना गर्न आफू र जन समुदायलाई तयार पार्नुपर्ने हो । असमान र राष्ट्रघाती सन्धि सम्झौताहरू एकतर्फी रूपले नै खारेज गरेर समान हितको आधारमा नयाँ सन्धि सम्झौता र सम्बन्ध बनाउन जस्तो सुकै भूमिका पूरा गर्न तयार हुनुपर्ने हो ।
राष्ट्रवादको प्रश्न सन्धि सम्झौताको समर्थन र विरोधले मात्र जनाउँदैन । जनताको दैनिक जीवन र जीविकाको विषयमा राज्य कति गम्भीर छन् भन्ने कुराले पनि जनाउँछ । देशको नीति निर्माताहरूले आत्मनिर्भरताको निम्ति के–कस्तो नीति निर्माण र निर्णय गर्छन् भन्ने कुराले पनि बताउँछ । देशको दक्ष र बौद्धिक जन शक्ति निर्माणमा कति जिम्मेवार छन् र देश निर्माणमा आफ्नै जनशक्तिमा कति भरपर्छन् भन्नेमा पनि राष्ट्रवाद देखिनेछ । नीति कार्यक्रम र बजेटमा आत्म निर्भरता, स्वदेशी उत्पादन र जनताको उत्पादकत्व बृद्धि गर्न कति योगदान पुर्यायो कि त्यसको ठिक विपरीत कार्य गर्यो भन्ने पनि देखिन्छन् । वास्तविकता भने राष्ट्रिय आत्म समर्पण, परनिर्भरता र राष्ट्रिय पलायनको दिशामा प्रायः सबै सरकारहरू निरन्तर ओरालो लाग्दै छ । यसबाट पनि लोकतन्त्रलाई आघात पुर्याएको छ ।
लोकतन्त्र र देशभक्ति राष्ट्रवाद एक सिक्काको २ पाटो हुन् । लोकतन्त्र बिनाको राष्ट्रवाद र देशभक्ति बिनाको लोकतन्त्रले देशलाई हालको चुनौतीपूर्ण अवस्थामा पुर्याएको तथ्य आत्मसात् गर्नुपर्ने बेला हो यो । लोकतन्त्र देशभक्ति राष्ट्रवादको जगमा हुनुपर्छ । वर्तमानमा लोकतन्त्रलाई देशभक्ति राष्ट्रवादको आधारमा उन्नत गर्न, असफल राष्ट्र हुनबाट जोगिन र देशलाई एकताबद्ध गर्न देशभक्तिपूर्ण जागरणको खाँचो छ ।