– सुजन न्यौपाने
नेपालको समकालीन राजनीतिक अवस्थाले सबैभन्दा बढी असर पारेको वर्ग भनेको युवा वर्ग हो । युवा जीवनको सबैभन्दा उर्वर समय हो र परिवर्तन, गतिशीलता र लगनशीलता पनि युवाको पर्यायवाची हो । अझ युवाहरूका विषयमा विभिन्न पक्षबाट बहुआयामिक भाष्यहरू निर्माण गरिएका हुन्छन् । राजनीतिक दलहरूको दोहोरो चरित्र, आश्वासन र व्यवहारबिचको गहिरो अन्तर र देशको विकासमा देखिएको निरन्तर ढिलाइले आजका युवाहरू निराश, आक्रोशित र भ्रमित छन् ।
युवाहरूको मनमा प्रश्नै प्रश्न छन्, ‘हामीले कहाँ गल्ती ग¥यौँ र देशको भविष्य किन अँध्यारो हुँदै छ ? साँच्चिकै हामीले आशा गरेका परिवर्तन अझ कहाँ हराए ?’ यी र यस्तै प्रश्नहरू युवाहरूभित्र उठिरहेको मात्रै छैन, यसको जवाफ खोज्न पनि बाध्य बनिरहेका छन् ।
२०६२ र ६३ को जनआन्दोलनको प्रमुख कडी नै युवा शक्ति थियो । लोकतन्त्र स्थापनापछि देशले समृद्धि र स्थायित्वतर्फ जाने अपेक्षा गरिएको थियो । तर, त्यो अपेक्षा झुटो साबित भयो । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता जस्ता शब्दहरूले संवैधानिक मान्यता त पाए, तर व्यवहारमा ती शब्दहरू आम जनताको जीवनमा सार्थक बन्न सकेनन् ।
लाखौँ युवाहरूले आफ्ना सपना बोकेर राजनीति परिवर्तनका आन्दोलनहरूमा होमियो । कति युवाहरू हड्तालमा सडकमा उत्रिए, कतिले कलम लिएर निरन्तर सूचना बजाए, कतिले आफ्ना अभिभावक गुमाए, कतिले त प्राण नै गुमाए । तर, अहिले ती युवाहरू आफू छलिएको महसुस गरिरहेका छन् ।
आजको दिनमा राजनीतिक अस्थिरता र शासनमा देखिएको बेथितिले समग्र व्यवस्थालाई कमजोर बनायो । अर्थतन्त्रलाई रुग्ण बनायो । नेपालमा उद्योग र लगानीमैत्री वातावरणको निर्माण हुन सकेन । नतिजा स्वरूप, अझ आँखाभरि आशु र मनभरि पीडा बोकी कयौँ युवाहरू हरेक महिना विदेश पलायन भइरहेका छन् । कोही खाडी मुलुकहरूमा मजदुरी गर्न जान बाध्य छन् भने कोही उच्च शिक्षा र अवसरको खोजीमा अमेरिका, अस्ट्रेलिया, जापान लागेका छन् । कुनै सभा र सम्मेलनमा राजनीतिक नेताहरूले युवा शक्तिलाई ‘देशको मेरुदण्ड’ भनेर भाषण त गर्छन्, तर उनीहरूका नीति र कार्यक्रमले भने त्यो मेरुदण्डलाई नै भाँचिदिन्छन् । आज युवा निराश हुनुको कारण यही हो । त्यसैले यस्ता विकृतिले भरिपूर्ण राजनीति संस्कारलाई बदल्नु छ भने युवाहरू आफू बदलिनु जरुरी छ । आजको युवाहरू समाधानको बाटो पनि खोजिरहेका छन् । विभिन्न स्वतन्त्र अभियन्ताहरू, समाजसेवी युवा, उद्यमशील पहल, शिक्षामा नवप्रवर्तन ल्याउने कामहरू युवाहरूबाट नै भइरहेको छ । अबका युवाहरूमा आफैँ बाटो बनाउने सोच विकसित भइरहेको छ । सोसल मिडिया प्लेटफर्महरूमा सरकारका कामकारबाहीमाथि प्रश्न उठाउने, आन्दोलनहरूको नेतृत्व गर्ने र वैकल्पिक विचार प्रवाह गर्ने कार्यमा युवा अग्रणी छन् । यी परिवर्तनका संकेतहरू पनि हुन् । तर, दुर्भाग्यवश, सत्ता पक्षले यस्तो चेतनशीलतालाई दबाउने प्रयास गरेको छ ।
पछिल्लो केही समय यता युवाहरू वैकल्पिक राजनीतिक शक्ति निर्माणतर्फ लागेको देखिन्छ । युवाहरूले क्रमशः परम्परागत दलहरूप्रति भरोसा मान्न छाडिरहेका छन् । अव युवाहरूले नयाँ सम्भावनाहरू खोजिरहेका छन् । तर, ती वैकल्पिक शक्तिहरू आफैँ पनि स्वच्छ, पारदर्शी र जनमुखी बन्न सकेनन् भने युवाहरू फेरि निराश हुनेछन् । पछिल्लो राजनीति निहालिरहँदा नेपाली युवाको सपना होइन, पीडाको कारण बनेको छ । अझ परिवर्तनका नाममा भएका ती आन्दोलनहरू चुनावी परिणामहरू र घोषणापत्रहरूले युवालाई झनै टाढा बनाएको छ । हिजोका ती तमाम युवाका आशावादी अनुहारहरू आज कठोर र कठ्याङ्ग्रिएका छन् । जसको निकास अनिवार्य छ । यदि समयमै निकास भएन भने त्यसको स्वरूप केही पीडादायी पनि हुनसक्छ ।