२०८२ असार ९ गते सोमवार / Jun 23 , 2025 , Monday
२०८२ असार ९ गते सोमवार
Ads

नेपालमा योग पर्यटन

shivam cement
२०८२ असार ९ गते ०६:००
नेपालमा योग पर्यटन

–दिनेश अर्याल

नेपाल, प्रकृति र संस्कृति दुवैले भरिपूर्ण देश, जहाँ शान्त वातावरण, हरियाली जंगल, हिमाली सौन्दर्य र आध्यात्मिक ऊर्जाको स्रोत जस्ता अनेक सम्भावना छन् । त्यही सम्भावनाहरू मध्ये एउटा छ— योग पर्यटन । शारीरिक, मानसिक र आत्मिक स्वास्थ्यको खोजीमा रहेका व्यक्तिहरूका लागि नेपाल अब एक प्रमुख गन्तव्य बन्दै गएको छ । हिमालयको काखमा बसेको यस देशमा योगको अभ्यास, ध्यानको शान्त परिवेश र साधनाको उपयुक्त वातावरण उपलब्ध छ । विश्वव्यापी तनाव र भागदौडपूर्ण जीवनशैलीबाट थाकेका मानिसहरू नेपाल आएर आफ्नो जीवनशैलीमा सन्तुलन खोज्न थालिरहेका छन् । यही खोज नै योग पर्यटनको विस्तारको प्रमुख कारण बनेको छ ।

योग केवल शारीरिक व्यायाम होइन, यो जीवनशैली हो । यो जीवनलाई सम्यक् ढंगले बुझ्ने, चलाउने र सन्तुलनमा राख्ने विधि हो । प्राचीन हिन्दु दर्शन, विशेषतः पतञ्जलिको योग सूत्रमा आधारित यो अभ्यासले आज विश्वभरि लोकप्रियता पाएको छ । पश्चिमी मुलुकहरूमा योग ‘फिटनेस’ वा ‘वेलनेस’ कार्यक्रमको रूपमा विकसित भए पनि नेपालमा यसलाई अध्यात्म, प्रकृति र संस्कृतिसँग जोडेर हेरिन्छ । त्यसैले पनि नेपालमा योग अभ्यास गर्न चाहने विदेशीहरूलाई यहाँको मौलिकता, मौनता र आध्यात्मिक शुद्धताले आकर्षित गर्छ ।

नेपालका विभिन्न स्थानहरू— पोखरा, काभ्रेपलान्चोक, नगरकोट, धुलिखेल, लुम्बिनी, भद्रपुर, इलाम, बागलुङ र काठमाडौं उपत्यकाका थुप्रै ठाउँहरू— योग र ध्यान केन्द्रका रूपमा विकास हुँदै गएका छन् । ती ठाउँहरूमा विशेष योग शिविर, आयुर्वेदिक उपचार, ध्यान कार्यशाला र आत्म मुक्तिको लागि डिजाइन गरिएका कार्यक्रमहरू चलिरहेका छन् । विदेशी पर्यटकहरू केवल हिमाल हेर्न मात्र होइन, आत्म शुद्धिको लागि पनि नेपाल आउने क्रम बढ्दो छ । उनीहरू केही दिन, केही हप्ता वा महिनासम्म बसेर योग, ध्यान, प्राणायाम, आयुर्वेद र स्वस्थ आहारको अभ्यास गर्छन् । यसरी उनीहरूले आफूलाई शुद्ध, स्वस्थ र सम्यक् बनाउने प्रयास गर्छन् ।

पोखराको झरनाबाट झरिरहने पानीको आवाज, सराङकोटबाट देखिने सूर्यको पहिलो किरण, लुम्बिनीको शान्त माहौल, नगरकोटको हरियाली र काभ्रेको उकालीबाट देखिने पहाडका टाकुरा— यी सबै प्रकृतिले आत्मालाई शान्ति दिने शक्ति राख्दछन् । यही कारणले गर्दा नेपालका यी स्थानहरू योग अभ्यासको लागि उपयुक्त गन्तव्य बनिरहेका छन् । तिब्बती बौद्ध संस्कृति, हिन्दु योग परम्परा र हिमाली न्यानोपनको सम्मिश्रणले नेपालमा आउने योग पर्यटकहरूलाई आध्यात्मिक रूपमा गहिरो अनुभव दिन्छ ।

सरकार तथा निजी क्षेत्रले पनि योग पर्यटनको सम्भावनालाई चिनेका छन् । पर्यटन मन्त्रालय, गण्डकी प्रदेश सरकारले केही स्थानहरूमा योग पर्यटन प्रवर्द्धन गर्ने कार्यक्रम सञ्चालन गरिरहेका छन् । त्यस्तै, योग गुरुहरूको नेतृत्वमा सञ्चालन भइरहेका केन्द्रहरूमा प्रामाणिक योग सिकाइ, शुद्ध भोजन, प्रकृतिसँग जोडिने क्रियाकलापहरू र अन्तरक्रियात्मक सत्रहरू गरिन्छन् । विश्वव्यापी रूपमा ‘वेलनेस टुरिजम’ बढ्दै गएको सन्दर्भमा नेपालले यस क्षेत्रलाई रणनीतिक रूपमा अघि बढाउन सकेमा ठूलो फाइदा लिन सकिन्छ ।

नेपालको विविधता, मौलिकता र प्रकृतिसँगको नजिकको सम्बन्धले यहाँको योग पर्यटनलाई विश्वकै उत्कृष्ट गन्तव्य बनाउने आधार दिन सक्छ । नेपालले भारतसँगको ऐतिहासिक सांस्कृतिक सम्बन्ध र योग दर्शनमा साझा जग भएको फाइदा पनि उठाउन सक्छ । योग केवल भारतको ब्रान्ड मात्रै होइन, नेपालले पनि सदियौँदेखि योगी परम्परालाई बोकेर आएको छ—सिद्ध गुफा, तपोवन, ध्यान स्थल, ऋषिमुनिका आश्रम र व्रतालुहरूको सम्पर्क बिन्दुहरूको रूपमा ।

तर, चुनौतीहरू पनि छन् । योग पर्यटनलाई व्यावसायिक र सस्तो लोकप्रियता तर्फ मोड्ने खतरा छ । मौलिकता गुमाउने डर छ । योगलाई केवल आकर्षणको विषय बनाउने हो भने यसको दीर्घकालीन मूल्य घट्न सक्छ । योगका नाममा सस्तो ‘स्पा’ वा ‘फिटनेस कोर्स’ मात्र सञ्चालन भएमा यसको आध्यात्मिक गहिराई हराउने जोखिम रहन्छ । त्यसैले, नेपालमा योग पर्यटनको प्रवर्द्धन गर्दा यसको मौलिकता, पवित्रता र वैज्ञानिक आधारलाई जोगाउँदै अगाडि बढ्नुपर्छ ।

योग पर्यटनले स्थानीय अर्थतन्त्रमा समेत योगदान दिन सक्छ । गाउँका होमस्टे, जैविक कृषि उत्पादन, औषधीय बोटबिरुवा, स्थानिक कला र संस्कृतिको प्रवर्द्धन पनि यसबाट सम्भव छ । विशेषगरी ग्रामीण महिलाहरूलाई योग केन्द्रहरूमा पाककला, सेवा व्यवस्थापन, प्राकृतिक चिकित्सा तालिममार्फत आत्मनिर्भर बनाउने काम पनि गर्न सकिन्छ । यसले ग्रामीण पर्यटनसँगै योग पर्यटनलाई पनि ग्रामीण पुनर्जागरणको औजार बनाउने सम्भावना बोकेको छ ।

नेपालमा योग पर्यटन केवल आर्थिक लाभको विषय होइन, यो जीवनशैलीको परिवर्तन, आत्मानुभूतिको पुनरावलोकन र विश्व शान्तिको खोजी पनि हो । हामीले प्रकृति, संस्कृति र योग दर्शनलाई संयोजन गरेर विदेशी तथा स्वदेशी नागरिकलाई एक विशेष अनुभूति दिने गरी कार्यक्रमहरू विकास गर्न सक्यौँ भने नेपाल ‘योगको हिमाली थलो’को रूपमा स्थापित हुन सक्छ । आत्म शान्तिको खोजीमा रहेका संसारका थुप्रै मानिसहरूको गन्तव्य बन्न सक्ने सामथ्र्य नेपालमा छ— अब आवश्यक छ दूरदर्शी नीति, सुव्यवस्थित पूर्वाधार र मौलिकताको संरक्षण । यही बाटोले नेपाललाई पर्यटनको नयाँ अध्यायतर्फ डोहोर्‍याउन सक्छ ।

ADV

सम्बन्धित खबर

Advertise