२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

कृषि क्रान्तिको ‘किम्ताङ मोडल’

ADV
२०८१ असार २९ गते ०६:४०
कृषि क्रान्तिको ‘किम्ताङ मोडल’

–नारायण नेपाल

नुवाकोट जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित एउटा गाउँ छ, किम्ताङ । साबिकको किम्ताङ गाविस हालको म्यागङ गाउँपालिका वडा नं. ४ को यो क्षेत्र उच्च पहाडी क्षेत्र हो । कुनै समय पूरै गाउँ नै पहिरो आतंकका कारण सधैँ चासो र चर्चामा हुन्थ्यो । यही क्षेत्र यति बेला भने कृषि उत्पादनको नमुना गाउँका रूपमा चर्चामा छ ।

५० को दशकमा किम्ताङको आलु प्रख्यात थियो, नुवाकोट र आसपासका जिल्लामा । किम्ताङबासी आलु बोकेर धान गहुँ साट्न तल्लो क्षेत्रका गाउँमा पुग्दथे । केही दशक अघिसम्मको किम्ताङका किसानको कर्म थियो । त्यसपछिका दिनहरूमा किम्ताङले उत्पादन नगरेको होइन, तर समस्या बजारको विस्तारमा देखियो ।

१५ वर्ष विदेशमा बसेर दुःख गर्दा पनि राम्रो कमाइ नभएपछि गाउँ फर्केका किम्ताङका प्रताप तामाङ सामाजिक कामसँगै कृषिमा उत्तिकै क्रियाशील छन् । कृषिबाट राम्रो आम्दानी मात्रै होइन, सिङ्गो गाउँको परिचय फेरिएकोमा उनी दङ्ग छन् । “बेलुका साँझको बत्ती बालियो अहिले पैसा छैन भन्दै फर्काउँथे । बिहानै पुगे, बिहानै बोहनी भएको छैन पैसा दिन हुँदैन भन्दै फर्काइन्थ्यो । न त्यो तरकारीको भारी बोकेर घर ल्याउनु न त्रिशूलीमा बगाउनु ?”, उबेलाको किसानका समस्या सुनाउँदै उनी भन्छन् । तरकारीको भारी लिएर दिनभरको मेलो माया मार्दै बजार पुगेका किसानलाई कम्ता सास्ती थिएन ।

समय फेरियो, यति बेला किम्ताङको तरकारीले मोटर गाडी भरिन्छ र तरकारी टाढाको बजार पुग्दछ । अब किसानले डोको बोकेर गाउँ चहार्ने झन्झट र बजारियाले दिने सास्तीबाट मुक्ति पाएका छन् ।

करिब दशकअघि गाउँमा अर्थोपार्जनको केही उपाय नदेखेपछि किम्ताङका अधिकांश युवा विदेशिने क्रम सुरु भएको थियो । गाउँका पाखाबारी बाँझै राखेर युवा परदेशिएका थिए । बुढापाका र बालबच्चाले केही गर्न सक्ने अवस्था थिएन । तर, २०७२ सालमा आएको महा–भूकम्पपछि अवस्था फेरियो । 

भूकम्पले गाउँमा ठुलो क्षति भयो । त्यसपछि गाउँमा बृहत राहत र उद्धार अभियान पनि चल्यो । त्यही राहत अभियानका बेला कृषिका केही नमुना र सामूहिक कामको थालनी भएको देखिन्छ । 

राहत र उद्धार अभियान सकिएपछि किम्ताङको कृषि क्षेत्रले फड्को मार्ने पाइला चाल्न थाल्यो । भूकम्पपछि पुनर्निमाण भएका घर बस्तीमा उत्पादन योजना नबनाउने हो भने परदेशिने क्रम बढ्ने र गाउँ रित्तिने अवस्था थियो । यसरी घरघरबाट परदेशिनुपर्ने स्थितिको अन्त्यका लागि पनि स्थानीयमा कृषि क्रान्तिको चेत बीजारोपण त्यही बेला भएको थियो । बनाएका घर रित्याएर सबै युवा परदेशिनु हुँदैन भन्ने चेतनाले स्थानीयलाई कृषि कर्ममा डोहोर्‍यायो । विदेश नजाने हो भने गाउँमा केही गर्नुपर्छ । केही भनेको खेती अर्थात् कृषि ।

यति बेला किम्ताङका पाखा टहरा र टनेलले भरिएका छन् । चियाका बुट्यानले बगानको स्वरूप ग्रहण गर्दैछ, समग्रमा किम्ताङबासीको पसिना र पौरखले किम्ताङको परिचय बदल्दै छ । श्रम र पसिना बेच्न विदेश पुगेका युवाहरू गाउँ फर्किएका छन् । गाउँमा कृषिको अभियानमा यसरी फर्किएकाहरू नै बढी सक्रिय छन् । पछिल्लो एक दशकमा किसानको तहबाट भएको कृषि उत्पादनको यो आमूल परिवर्तनलाई कृषि क्रान्तिको नमुना मोडलको रूपमा लिन सकिन्छ ।
पहिरो गाउँबाट कृषि गाउँमा रूपान्तरित हुँदै गरेको किम्ताङमा चालु आर्थिक वर्षको एक बाली अर्थात् एक सिजनमा छ करोड ५० लाख मूल्य बराबरको गोलभेँडा, एक करोड ५० लाख बराबरको आलु र २६ लाख बराबरको किवी बिक्री भएको स्थानीय तथ्यांक छ ।

वैदेशिक रोजगारीबाटै फर्किएका स्थानीय निङ्मार तामाङ यति बेला यहाँका जनप्रतिनिधि समेत हुन् । राजनीति, सामाजिक काम र कृषि खेतीलाई सँगसँगै अगाडि बढाएका उनी गाउँका अगुवा नै मानिन्छन् । व्यावसायिक कृषिको माध्यमबाट गाउँलेको दैनिकी फेर्न सकिन्छ र आयआर्जनको राम्रो सम्भावनाले वैदेशिक रोजगारीलाई रोक्न सक्छ भन्ने अनुभूति उनी आफैँसँग छ ।

सहिद प्रतिमा स्मृति सहकारीले आफ्नै लगानीमा गाउँमा ३५ रोपनी जग्गामा आलु खेती गरेको छ । किम्ताङको नमुना उत्पादन अभियानलाई अझै प्रभावकारी बनाउन सहकारीमार्फत गरिएको सामूहिक उत्पादनको यो योजना लोभलाग्दो छ । सहकारीका अध्यक्ष सोमबहादुर तामाङ गाउँलेलाई संगठित गरेर थालिएको सामूहिक खेती कार्यक्रम प्रभावकारी रहेको बताउँछन् । 

सहकारीले सदस्यहरूलाई समेटेर हालै किवी खेतीसमेत सुरु गरेको छ । सात सय घरधुरी रहेको किम्ताङमा तरकारीका पाँच हजार टनेल निर्माण भएका छन् । यो गाउँबाट मौसमका बेला एकै दिन आठ लाख बराबरको तरकारी बिक्री हुन्छ । यहाँ बेमौसमी तरकारी र फलफूल खेती पनि उत्तिकै हुन्छ । 

यस क्षेत्रको वामपन्थी राजनीतिका सूत्रधार एवम् अगुवा किसान हुन् सरमान तामाङ । अर्ग्यानिक चिया उत्पादक सहकारीका अध्यक्षसमेत रहेका तामाङले किम्ताङमै व्यावसायिक चिया खेती गर्छन् । किम्ताङमा करिब २५ सय रोपनी क्षेत्रफलमा चिया बगान फैलिएको छ । चियाका लागि किम्ताङको हावापानी उचित रहेको बताउँछन् तामाङ । 

यहाँ अहिले करिब चार सय घरधुरीले चिया खेती गरेका छन् । प्रतिघरधुरीले वार्षिक छ देखि सात लाख रुपैयाँको आम्दानी चिया खेतीबाटै गरिरहेको तामाङको भनाइ छ । सामान्यतया अर्ग्यानिक अर्थोडक्स चिया १० देखि १२ दिनको अन्तरमा टिप्न मिल्छ । यति बेला किम्ताङको बगानमा ९० हजार केजीसम्म हरियो पत्ति उत्पादन भएको चिया खेती गरिरहेका किसानको दाबी छ । 

३० रोपनीमा गरेको चिया खेतीले वर्षमा ६ देखि ७ लाख मात्रै कमाइ भएको किसान सविना तामाङले बताए । उनका अनुसार चिया किसानले सिल्भर टि ६ हजार ५ प्रतिकेजी, गोल्डेल टि २५ देखि २८ सय प्रतिकेजी र ब्ल्याक टि एक हजारदेखि १२ सय प्रतिकेजीसम्म बिक्री हुने गरेको छ ।

चिया खेती विस्तारको यो अभियानमा स्थानीय सरकार पनि सामेल छ । वडा नम्बर ४ का अध्यक्ष कमल तामाङले गाउँको बाझिएका र ऐलानी जमिनमा चिया खेती अभियान नै चलाएको बताउँछन् ।

२०१७ सालको खनायोबास किसान विद्रोहको लहर फैलँदै जाँदा त्यो विद्रोहबाट भयभीत शासकहरूले त्यो विद्रोह फैलन नदिन त्रिशूलीको पुल काट्ने जुक्ति बडा हाकिमको कार्यालयमा निकालेको प्रसङ्ग अझै सुन्न पाइन्छ । किम्ताङको उत्पादनलाई सहर बजारको पहुँचमा पुर्‍याउने सडकको (कोलनी, देउराली, म्यागङ, किम्ताङ)को दुरावस्थाले आजको लोकतन्त्रमा नेता भएकाहरूको उही महेन्द्रकालीन पछौटे चेतना र मनोवृत्तिलाई झल्काउँछ । त्यस्तो मनोवृत्तिलाई व्यङ्ग्य गर्दै किम्ताङेहरूले सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल गराएका छन् । 

एक जना जल्दा बल्दा नेताले आजभन्दा १० वर्षअगाडि गरेको भाषणमा ४ वर्षभित्र थम्बुखोलासम्म सडक पिच नगरे राजनीति छोड्ने घोषणा गरेका छन् । तर, अहिलेसम्म न सडक पिच बन्यो न त उनले राजनीति नै छोडे । बरु उल्टै राज्यको खजान्ची भएर बसेका छन् । नेताले काम त गरेनन् तर गाउँले काम गरे । उत्पादनमा आत्मनिर्भरता र छुट्टै पहिचानको निर्माण किम्ताङले गर्दैछ । विगतमा किम्ताङको पहिरोलाई नेताहरूले पर्यटकीय गन्तव्य बनाएजस्तो किम्ताङको कृषिलाई देखाएर भजाउने र कागजपत्र मिलाउने काम कर्मचारी र नेताहरूले अब नगरुन् ।

यो क्षेत्रलाई कृषि जोन, पकेट क्षेत्र तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले छुन सकेको छैन । त्यसैले पनि किम्ताङको कृषि क्रान्तिको अभियानलाई झोलामा कागजपत्र मिलाएर अनुदान लिनेहरूले त्यति प्राथमिकता दिँदैनन् । तर हरेक फर्म र किसानको उत्पादनमा आधारित पुँजी र प्रविधिको साथमा बजार व्यवस्थापन सम्मका सवालमा अनुदान वा सरकारको साझेदारी निर्माण गर्ने हो भने साँच्चै किम्ताङको कृषिले नयाँ र नमुना उत्पादन अभियानको नेतृत्व गर्न सक्छ ।

ADVADV

सम्बन्धित खबर

Advertise