–भरतप्रसाद देवकोटा
सरकारले विभिन्न राष्ट्रिय दिवस जस्तै पहिलो पटक साउन १६ गते राष्ट्रिय कोदो दिवस मनाउँदै छक । सरकारी तहबाट निर्णय गरेर राष्ट्रिय दिवस मनाउँदा खेती गर्ने किसानलाई थप प्रोत्साहन मिल्ने देखिन्छ । ‘कोदोजन्य परिकारको आहार खाद्य सुरक्षा र स्वास्थ्य जीवनको आधार’क भन्ने नारा तय गरेर प्रथम राष्ट्रिय कोदो दिवसको नारा कृषि मन्त्रालयले तय गरेको छ । मुलुकमा अहिले वार्षिक पौने अर्ब रुपैयाँ बराबरको कोदो आयात हुने गरेको पाइन्छ । स्थानीय उत्पादनले माग धान्न नसक्दा ठुलो परिणाममा कोदो आयात हुँदै आएको छ । पछिल्लो समय कोदोको माग बढ्दै जाँदा स्थानीय उत्पादनले माग धान्न नसक्दा आयात हुने गरेको सरकारी निकायको तथ्यांकले देखाउँछ ।
पछिल्लो समय कोदोबाट बिस्कुट, ढिँडो, ममलगायतका परिकार बनाउने गरिएको छ । खपत बढ्दै गएपछि डिपार्टमेन्ट र स्टोरदेखि अन्य पसलमा समेत कोदोको परिकार राखिन्छ । होटेल तथा रेस्टुरेन्टमा कोदोका परिकार बनाएर बिक्रीका लागि राखिन्छ । तराईमा कम र पहाडी तथा भित्रि मधेस जिल्लामा बढी कोदो उत्पादन हुन्छ । देशको कुल खाद्य उत्पादनको ७.७ प्रतिशत कोदो बालीले ओगटेको छ । कुल उत्पादनको ९५ प्रतिशत कोदो पहाडमा उत्पादन हुन्छ । समुद्र सतहबाट ३१०० मिटरसम्मको उचाइ भएको जमिन र पहाडी क्षेत्रमा कोदो लगाइन्छ । विश्वको एक प्रमुख बाली कोदो नेपाल भारतमा उत्पादन गरिने एक महत्वपूर्ण खाद्य वस्तु पनि हो । यो कडा मेहनत गर्ने श्रमजीवी मानिसहरूले रुचिकर खाद्यान्नको रूपमा र मधुमेह रोग लागेका मानिसको लागि निकै उपयोगी हुन्छ । कोदोबाट जाँड घरेलु रक्सी पनि बनाइन्छ । उम्रिएको वा टुसा पलाएको कोदोबाट पिए पदार्थ बनाइन्छ अनि नानीहरूलाई खुवाइन्छ, यो गर्भवती महिलाको निम्ति उत्तम मानिन्छ । अनि विभिन्न उमेरका वयस्क मानिसका लागि परिवर्तित खाद्यको रूपमा पनि यसलाई लिइन्छ कोदोको नल पशु वस्तुहरूको लागि राम्रो आहार मानिन्छ । कोदो जेठ अन्तिम सातादेखि साउनको दोस्रो हप्तासम्म रोक्ने गरिन्छ ।
कोदो स्वास्थ्यका लागि अत्यन्त फाइदाजनक भएको हुँदा खाद्यवस्तुका रूपमा आमनागरिकले पछिल्लो समयमा लिने गरेका छन् । कोदोमा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, भिटामिन बी, टोस्टोफेन फाइबर, एन्टी अक्सिडेन्टलगायतका पोषण तत्व पाइन्छ । पोटासियम र म्याग्नेसियमले रक्तचाप नियन्त्रण राख्नु सघाउने गर्दछ । कोदोमा प्रशस्त मात्रामा भएको मेल्सियम हाट बलियो बनाउन सहयोग पुर्याउँछ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ मा २ लाख २४ हजार ९३४ हेक्टर क्षेत्रफलमा ३ लाख ७३२ मेट्रिक टन कोदो उत्पादन भएको देखिन्छ ।
वर्तमान परिवेशमा कृषि क्षेत्रले विविध चुनौती व्यहोर्दै आइरहेको छ । जलवायु परिवर्तनको असर, लामो समयसम्म वर्षाको पानी नपर्नु, खेतीयोग्य जमिनको ह्रास तथा खण्डीकरण, खेतीयोग्य जमिन बाझो राख्ने प्रवृत्ति, युवा कृषिप्रतिको घट्दो आकर्षण, उन्नत बिउ मलखात र सिचाइको कमी जस्ता समस्याले यो क्षेत्रलाई थप संवेदनशील बनाएको छ । कोदो खेतीको लागि मेहनत बढी गर्नुपर्दछ । वर्षाको समयमा पानी कम पर्ने भएकाले कोदो खेती कम भएको पाइन्छ । १० वर्षअघि १० मुरी कोदो उत्पादन हुने बारीमा अहिले मुस्किलले १० पाथी उत्पादन हुने गर्दछ । जलवायु परिवर्तनको असर हरेक बालीसँगै कोदोमा पनि परेको छ ।
खेताला खोजेर काम लगाए पनि धानको र गहुँको जस्तो मूल्य कोदोले नपाउँदा कम हुन गएको हो । र, कोदोले दिने बल धानको भन्दा बढी हुन्छ बुढापाकाको भनाइ हो । अहिलेका पुस्ताले कोदोको महत्व नबुझेका कारण उनीहरूमा पाको पुस्ताको जस्तो बल नभएको र निरोगी पनि कम हुन देखिन्छ । औषधि गुण भएको तागतिलो खाद्य मानिने कोदोको खेती गाउँघरतिर निकै कम हुँदै गएको छ । कोदो खेती गर्ने किसानलाई विशेष प्रोत्साहन, अनुदान स्थानीय सरकारले गर्नुपर्छ, त्यसैअनुसार उत्पादित कोदोलाई धान र गहुँबाली जतिकै बजारीकरणको मूल्य पाउने वातावरण सिर्जना पनि हुनुपर्दछ ।
संयुक्त राष्ट्रसंघ खाद्य तथा कृषि संगठन एफएओले पनि नेपालको कोदो प्रबद्र्धनका लागि प्राथमिकतामा राखेर काम गरिरहेको छ । संयुक्त राष्ट्र संघले सन् २०२३लाई वर्षको रूपमा घोषणा गरेर भव्यरूपमा मनाइसकेको छ । ‘कु’ अन्न भनेर चिनिने अहिले विशेष महत्वका कारण स्मार्ट अन्नको परिचय बनाइसकेको छ । धान, मकै, गहुँपछिको कोदो चौथो महत्वपूर्ण पोसिलो र गुलियो खाद्यान्न बाली हो । नेपालमा खेती हुने कृषकका स्थानीय जातहरूमा मुड्के कोदो, चुल्ठे कोदो, रातो कोदो, सेतो कोदोलगायत कोदोका जातहरू रहेका छन् । धेरै ढिलो गरी रोपेमा कोदोको फूल फुल्ने बेला चिस्यानको कमी भई उत्पादन गर्ने भएकाले सिँचाई नहुने क्षेत्रमा मनसुन सुरु हुनासाथ कोदो रोप्नुपर्छ । कोदो रोपेको लगातार ३ दिनसम्म वर्षा भएन भने कोदो मर्ने सम्भावना धेरै हुन्छ । कोदोलाई ब्याड राखेर पछि बेर्ना रोप्ने वा सिधै छर्ने दुवै तरिकाले खेती गरिन्छ । उत्पादन सो हिसाबले रोपेको बढी हुन्छ, जस्तोसुकै कडा पाको सुख्खा क्षेत्रमा पनि कोदो उत्पादन हुन्छ । यसका लागि निकै कम लगानी गरे पुग्छ । कोदो उत्पादन वृद्धि र यससम्बन्धी सरकारी अध्ययन अनुसन्धान तथा प्रविधि विस्तार हुनुपर्दछ । कोदो उत्पादन हुने क्षेत्र पहिचान गरी उन्नत प्रविधि बिउ, मल र किसानलाई आकर्षित गर्ने खालको योजना सरकारले नगराउँदा कोदो खेती प्राथमिकतामा नपरेको हो ।
एसियाली मुलुकमा ६० प्रतिशतभन्दा बढी जनता अहिले पनि कृषि पेसामा आकर्षित छन् । कृषि प्रणालीमा आधुनिक पद्धतिको प्रयोग न्यून भइरहेको छ । हाम्रो देशमा कृषि उत्पादन वृद्धि ल्याउन नसक्दा आयात गर्नुपर्ने अवस्था सिर्जित भएको छ । प्रधानमन्त्री कृषि आधुनिक परियोजनाले गरेको अनुदान प्रवाहले निम्न वर्गीय कृषकको आर्थिक अवस्था सुधार, बिउ तथा बिरुवाको प्रयोग अभिवृद्धि, साना सिँचाइको कारण कृषि उत्पादनमा वृद्धि, मुख्य बाली वस्तुको उत्पादन तथा उत्पादकत्वमा वृद्धि, कृषि यान्त्रीकरण, बाली चक्रमा सुधार आदि परियोजनाले लिएको लक्ष्य हो ।
कृषि क्षेत्रमा अनुदान सहयोग दिने व्यवस्था र व्यवस्थित बनाउने विषय राष्ट्रिय चासोको विषय हुनुपर्छ । विद्यमान रहेका अनुदानका व्यवस्थामा समेत पुनरावलोकन गरी राष्ट्रिय कृषि क्षेत्र संरक्षण तथा सहुलियत नीति तर्जुमा गरी लागू गर्नु आवश्यक छ । कृषकको वर्गीकरणको आधारमा सहुलियत अनुदानको सीमा निर्धारण गर्न विपन्न सीमान्तकृत र महिला कृषकलाई थप सहुलियत अनुदान व्यवस्था गर्नुपर्दछ । पछिल्लो समय बसाइसराइसहित विभिन्न कारणले गाउँबाट जनशक्ति पलायन हुने क्रम बढेसँगै कोदो खेती कम हुँदै गएको पाइन्छ । अन्य खेतीभन्दा झन्झटिलो र धेरै जनशक्ति लाग्ने भएकाले पनि कोदो खेतीप्रति किसानको आकर्षित गर्दै गएको हो । खेती नै कम हुन थालेपछि उत्पादन घट्नु स्वाभाविक नै हो, दिनदिनै मूल्य बढ्दै गएको पाइन्छ । स्थानीय बजारमा कोदोको मूल्य फरक–फरक किसिमको रहेको छ ।
कृषि पेसाबाट जीवन धान्न कठिन भएकाले मानिसहरू कृषि पेसालाई छाडेर पलायन हुँदै छन् । युवा शक्ति गाउँबाट खाली हुँदै गएको अवस्था छ । यस्तो अवस्थामा सरकारले अर्थनीतिमा तेस्रो खम्बाको रूपमा रहेको सहकारीलाई जोडेर त्यसको माध्यमबाट कृषकको संगठितरूपमा उत्पादन, भण्डारण प्रशोधन र बजारीकरण तथा कृषि सामग्री आपूर्तिसम्मको क्रियाकलाप आफैं सहभागी हुने वातावरणको निर्माण गरी समग्र कृषि पेसालाई आकर्षित बनाउने हो भने हामी खाद्यान्नमा आत्मनिर्भर पनि हुने र नेपालको अर्थतन्त्रमा यसको ठुलो योगदान रहन सक्छ ।