–अच्युतप्रसाद पौडेल ‘चिन्तन’
अगस्ट ८ अर्थात् भूसंरक्षण दिवस । दिवस मनाउन खप्पिस छौँ हामी, तर दिवसको उपादेयता के छ थाहा छैन, भनौँ भूस्खलन अधिक छ हाम्रो । यहीँ नदी धेरै यहीँ पानीको अभाव, यहीँ सिचाइको समस्या, यहीँ संसारको महँगो बिजुली, यहीँ बाटा घाटा धेरै गल्ने, यहीँ पूर्वाधार धेरै ढल्ने, यहीँ मेलम्चीको सातो नसकिँदै यहीँ तातोपानी नाका ढल्ने, यहीँ रसुवागढी नाका बगाउने । अहिले दाउन्नेमा समस्या हिजो सिस्नेखोलामा, अस्ति झ्याप्ले खोलामा बा त्रिशूली खोला । यसो भनौँ हिउँद वा वर्षा यहाँ नेपालीले दुःख नपाएको दिन छैन, रात छैन । जे भन्छौँ हामी गर्दैनौँ, जे गर्दैनौँ त्यो हामी भनिरहन्छौँ, बस् हाम्रो नियति बाढी, पहिरो, धन र जनको ठूलो क्षति, संकट धेरै, तराईमा पानी छैन रोपाइँ नै भएन, नचाहिने स्थानमा बढी छ पानी ।
भूसरंक्षण नीति छ । तर, नीति निर्माणपछिको ६ वर्षका बेचैनी र गृह मन्त्रालयका विपत्तिका डेटाहरू हेर्दा पनि हामीलाई खल्लो लागिरहेको छ । विपद् न्यूनीकरण प्राधिकरणको काम बस् तथ्यांक तेस्र्याउने मात्र छ, पूर्व सचेतना त कता हो कता । सरकारी संयन्त्रहरू बरु राजनीति बढी गर्छन्, त्यसैका लागि तय भएका हुन् । ती मेसिनरीहरू, बाँकी जनता आश्वस्त र विश्वस्त छैनन् र त बेलुकी सुत्छन् भोलि बिहान नहुँदै बगिसक्छन् । वर्षा लाग्दा अलिकति जुरमुराए जस्तो हिउँद लाग्दा फेरि उस्तै ओइलाएको साग जस्तो वातावरण छ हाम्रो । नेपाल ज
लवायु परिवर्तनको दृष्टिमा विश्वकै चौथो देश, भूकम्पीय जोखिममा ११ औँ र बाढी पहिरोको जोखिममा ३० औँ क्रममा पर्ने गरेको छ । गत वर्षको मनसुन आरम्भसँगै सबैको सातो गएको थियो । कैयन मानिसको हताहत र धनमालको नोक्सान भएको थियो । मनसुन सकियो भनिरहँदा, महँगीको मारमा परेर जसोतसो दिन बितेको, अहिले पनि मनसुन सुरु हुनासाथको ताण्डव नृत्य व्यहोरिएको अवस्था छ । नजाने भोलिका दिन पनि यस्तै हुने हुन्, दैव भरोसा छ हाम्रो । कार्तिक आरम्भसँगै किसानका धान बाली मात्रै डुबेनन्, दर्जनौँ हताहत समेत भए नेपालीहरू विगतका वर्षहरूमा । भूसंरक्षण हुन, नदी संरक्षण हुन, जरुरी छ र वन पनि । तर, किसानी खेतका आलीहरू भत्केका छन्, डोजरहरू कुदेका छन् वन वनमा र सरकारले चुरै दोहनको मार्ग खोलेको छ । बजेटबाटै ढुंगा गिट्टी निकासी भनेको छ, कृषियोग्य भूमि प्लटिङमा गएका छौँ, धानको क्षेत्रफल जग्गा घटेको छ, देश करिब मरूभूमीकरण हुँदै छ, खाद्य संकट व्यहोर्नु पर्ने निश्चित छ । बाटा घाटाहरू गल्नाले सार्वजनिक सवारी साधनका दुर्घटनाहरूबाट दर्जनौँ नेपालीको ज्यान गएको छ । हामीलाई प्राकृतिक विपत्ति त छँदै छ, मानव निर्मित र असावधानीका कारण हुने विपत्ति पनि सहिनसक्नु नै छ । सरकारले बोलीमा दूर्घटनाको उपचार गराइदिने भनेको छ भने नोक्सान भएका बालीको क्षतिपूर्तिका कुरा पनि छ, तर त्यसको मार पनि घुमाई फिराइ जनतालाई नै पर्ने हो, ऋणको मारमा परेका जनता विप्रेषण र रोजगारीका नाममा बिदेसिएका छन् ।
बर्सेनि बाढी पहिरोबाट अर्बौँको क्षति हुने गरेको छ भने हजारौँ हताहत हुने गरेका छन् । यसको स्थायी समाधान किन हुँदैन ? राजधानी काठामाडौंमै बाढीको समस्या, मानिसको मृत्यु हुने गरेको छ, सामाखुसीबाट हराएको एक बालक ५ दिनपछि दक्षिणकाली आसपासमा लास भेटिएको हो गत वर्ष । कस्तो विडम्बना हो यो । देशैभरिको जनजीवन कष्टकर हुने गरेको छ, अभिभावक भनिएको सरकारी संयन्त्र किन चनाखो नभएको ?
मुलुक मनसुनी वर्षाले अडेको छ । हिमाली र पहाडी क्षेत्रको जमिन अति भिरालो छ । यहाँको भूवनोट प्राकृतिक विपत्तिको लागि सहयोगी सिद्ध छ । कमजोर भौगोलिक स्थिति छ । जल उत्पन्न प्रकोपहरू बर्सेनि हुने गरेका छन् । बाढी, पहिरो, हावाहुरी, चट्याङ र आगलागी र सवारी दुर्घटनाहरूले मुलुकलाई आक्रान्त पारेको छ । हामीसँग विश्वव्यापी जलवायु परिवर्तन र प्रकोप व्यवस्थापनको दक्षता सीप र क्षमता छैन । मौसम पूर्वानुमानको संस्था नाम मात्रको छ, न जनता नै सचेत छन् भए मेसिनरीहरूमा खिया लागेको छ, चल्दैन राम्ररी, दिएका हुन् विदेशीले तर बाँदरको हातको लड्डु झैंँ हुन्छ यहाँ ।
नदी धारको परिवर्तन, सप्तकोसी जस्ता ठूला नदीहरूले बस्ती उजाड गरिरहेको अवस्था, डुबान र प्रकोपबाट मानव बस्ती उजाड भइरहेको र खेतीयोग्य जमिनको संरक्षण गर्न नसक्दा र समयमा सिंचाइको समुचित प्रयोग गर्न नसक्दा अन्नवाली आयात गर्नुपर्ने अवस्था छ । सधैँ पूर्वाधारहरू बग्ने, प्रकोप न्यूनीकरण र समयमै उद्धार कार्यलाई तीव्रता दिन सकिएको छैन । भएका स्रोत र साधनहरूको उचित प्रयोग गर्न नसक्दा ठूलो धनजनको क्षति मुलुकमा बर्सेनि हुने गरेको छ । राजनीतिमा दल बलियो पार्न सबैलाई प्रशिक्षण दिइन्छ, देश बलियो पार्न प्रशिक्षण किन हुँदैन, के विपत्का घटना भनेका आय स्रोतका माध्यम हुन् र हाम्रा ? अतः दिवसले सार्थकता पाउने गरी काम हुने कहिले र गर्ने कसले आजको मूल प्रश्न ।