–शम्भू पनेरू
विपद्, प्राकृतिक होस् वा मानवसिर्जित, मानव जीवन, समाज र राष्ट्रका लागि विनाश ल्याउने शक्तिशाली घटना हो । हरेक वर्ष विश्वभरि लाखौँ मानिसको जीवन, करोडौँको सम्पत्ति र सम्पूर्ण समाजको संरचना नै बदल्ने घटना बन्ने गर्छ विपद् । नेपालजस्तो भौगोलिक, सामाजिक र आर्थिकरूपमा संवेदनशील राष्ट्रका लागि त झन् विपद् सधैँ नजिकको चुनौती बनेर आइरहेको हुन्छ । हिमाल, पहाड र तराई मिलेको भूगोल, मौसममा आएको चरम परिवर्तन, विकास निर्माणका अव्यवस्थित काम र चेतनाको कमीले गर्दा यहाँ साना–साना विपद् पनि भयावह बन्छन् । यस्तो अवस्थामा ‘विपद् प्रति सचेत हुने कि !’ भन्ने प्रश्न वास्तवमा अब मिथ्या चर्चाको विषय मात्रै नभई, व्यवहारमा उतार्नुपर्ने अनिवार्य आवश्यकता बनिसकेको छ ।
नेपालमा हरेक वर्ष बाढी, पहिरो, आगलागी, चट्याङ, भूकम्प, महामारी, डुबानलगायतका विपद्का कारण जनधनको ठूलो क्षति भइरहेको छ । मनसुन सुरु हुनेबित्तिकै पहाडी जिल्लामा पहिरोका खबर आउन थाल्छन्, तराईमा डुबानका तस्वीर देखिन्छन् र सहरी क्षेत्रमा खाल्डाखुल्डीमा फसेका गाडी र मानिसको भिडियो भाइरल हुन्छन् । यस्तो घटनालाई हामीले वर्षेनि देखिरहेका छौँ, तर त्यसविरुद्ध सचेत र सक्षम बन्ने चाहिँ त्यति गहिरो प्रयास भइरहेको देखिँदैन । सरकारी तवरबाट केही पहल भएका छन्, जस्तै : विपद् जोखिम न्यूनीकरणसम्बन्धी कानुन निर्माण, विपद् व्यवस्थापन समितिको गठन, पूर्वसूचना प्रणालीको विकास, तर त्यो मात्र पर्याप्त छैन । जनस्तरसम्म चेतना र तयारी नपुगेसम्म यस्तो प्रयास कागजी बन्न सक्छ ।
विपद् सचेतताको पहिलो र सबैभन्दा महत्वपूर्ण पक्ष भनेको शिक्षा हो । साना बालबालिकादेखि वृद्धवृद्धासम्म सबैलाई विपद् के हो, किन आउँछ, कस्तो असर गर्छ र कसरी बच्न सकिन्छ भन्ने विषयमा नियमित जानकारी दिनु जरुरी छ । स्कूल, कलेज, कार्यालय, टोल, मन्दिर, चौतारी, चिया पसल, हरेक स्थान चेतना फैलाउने केन्द्र बन्नुपर्छ । उदाहरणका लागि, भूकम्पको बेलामा कुन ठाउँमा जानु हुँदैन, कहाँ सुरक्षित ठाउँ हो, कसरी अभ्यास गर्नुपर्छ भन्ने कुरा बालबालिकालाई विद्यालयमै सिकाउन सकिन्छ । बाढीको पूर्वसूचना पाएपछि कसरी सुरक्षित ठाउँमा पुग्ने, सवारीसाधन कसरी व्यवस्थापन गर्ने, घरमा पानी, औषधि, टर्चलाइट आदि कसरी तयार राख्ने भन्ने विषय सामुदायिक छलफलबाटै फैलाउन सकिन्छ ।
सचेत हुनका लागि प्रविधिको प्रयोग पनि अपरिहार्य छ । आजको डिजिटल युगमा मोबाइल, इन्टरनेट, सामाजिक सञ्जालजस्ता माध्यमलाई सचेतनाका लागि प्रयोग गर्न सकिन्छ । तर, यो चेतना प्रचारको माध्यम मात्र होइन, पूर्वसूचना प्राप्त गर्ने स्रोत पनि हो । मौसमको पूर्वानुमान, बाढीको सतर्कता, भूकम्पको खबर, रोगको संक्रमणदर — यी सबै सूचना आजकाल एप्स र वेबसाइटमार्फत उपलब्ध छन् । तर, ती जानकारी जनसाधारणमा पुग्न सकेका छैनन् । सूचना त प्रवाहमा छ, तर त्यसलाई बुझ्ने, अपनाउने, त्यसअनुसार व्यवहार बदल्ने चेतनामा अझै काम गर्न बाँकी छ । सचेत हुनु भनेको मात्र जानकारी राख्नु होइन, त्यो जानकारीअनुसार समयमै व्यवहार बदल्नु हो ।
विपद् व्यवस्थापनको अर्को महत्वपूर्ण पक्ष भनेको पूर्वतयारी हो । हामीकहाँ जब विपद् आउँछ, तब बल्ल ओहो ! भन्ने प्रतिक्रिया आउँछ । बाढीले बगाएपछि बल्ल किन बाँध बनाएनौं ? भन्ने गुनासो, आगलागी भएपछि मात्रै पानीको अभाव देखाउने, पहिरोले पुरेपछि मात्रै बाटो खुलाउन गाह्रो भएको दुःख देखाउने, यी सारा प्रतिक्रिया विपद् व्यवस्थापनको अभाव होइन, विपद् पूर्व व्यवस्थापनको अभाव हो । घर बनाउँदा नै भूकम्प प्रतिरोधी प्रविधिको प्रयोग, बाटो बनाउँदा नै नाली प्रवाहको ख्याल, टोलस्तरमा विपद् आपतकालीन टोलि गठन — यी सबै पूर्वतयारीका नमुना हुन् । यस्ता तयारीहरूले विपद् व्यवस्थापनलाई सजिलो बनाउँछ र क्षतिको परिमाण घटाउँछ ।
सचेतनामा सामुदायिक भूमिका पनि उत्तिकै महत्वपूर्ण हुन्छ । कुनै एक व्यक्ति सचेत भएर मात्रै सामूहिक सुरक्षा सुनिश्चित हुँदैन । विपद् आउँदा व्यक्तिगतभन्दा सामूहिक प्रयासले मात्र दीर्घकालीन समाधान दिन सक्छ । गाउँमा पानीको मुहान सुक्न थालेको छ भने त्यो केवल एक घरको समस्या होइन, सम्पूर्ण समुदायको हो । शहरमा फोहोर व्यवस्थापन भएन भने त्यो केवल नगरपालिकाको नभई प्रत्येक बासिन्दाको समस्या हो । त्यसैले विपद् सचेतना समुदायमा आधारित हुनुपर्छ — जस्तै टोल विकास समिति, आमा समूह, क्लब, विद्यालय, धार्मिक संघसंस्थामार्फत चेतनाको अभ्यास निरन्तर हुनुपर्छ ।
विपद् प्रति सचेत हुनुको अर्थ डराउनु होइन, तयार हुनु हो । विपद् त आउने नै छ, तर हामी तयार छौँ कि छैनौँ ? भूकम्प रोक्न सकिन्न, बाढी थाम्न सकिँदैन, पहिरोलाई रोक्न सकिन्न, तर हामी तिनीहरूको असर घटाउन सक्ने उपायचाहिँ अवश्य अपनाउन सक्छौँ । उदाहरणका लागि, २०७२ को विनाशकारी भूकम्पपछि धेरै मानिसले भूकम्प प्रतिरोधी घर बनाए, विपद् व्यावस्थापन तालिममा भाग लिए, बाँच्ने उपाय सिके । महामारीका बेला पनि धेरैले हातधुने, मास्क लगाउने, भौतिक दूरी पालना गर्ने अभ्यास गरे । यी उदाहरणले देखाउँछ कि जब चेतना फैलिन्छ, तब व्यवहार बदलिन्छ र असर कम हुन्छ ।
तर, चेतना भनेको एकपल्टको प्रयास होइन, यो त निरन्तर प्रक्रिया हो । वर्षेनि गरिने विपद् तयारी अभ्यास, समुदायस्तरका जनचेतनामूलक कार्यक्रम, विद्यार्थी स्तरमा हुने चित्रकला, निबन्ध प्रतियोगिता, सन्चारमाध्यममा प्रसारण हुने सूचनात्मक कार्यक्रम — यी सबैले चेतनालाई जीवनशैलीकै अङ्ग बनाउँछन् । सरकारले मात्र होइन, प्रत्येक नागरिकले यो जिम्मेवारी लिनुपर्ने हुन्छ । कुनै टोलमा पहिरो खतरा देखिएको छ भने त्यसलाई नजरअन्दाज नगरी सम्बन्धित निकायलाई जानकारी गराउने, जोखिममा परेका छिमेकीलाई समयमै सावधान गराउने, उद्धारमा सहयोग गर्ने, यी सबै काम चेतनाले सम्भव बनाउँछ ।
सचेतनाको अर्को पाटो भनेको दिगोपन हो । हामीले विपद्लाई क्षणिक समस्या मात्र होइन, दीर्घकालीन चुनौतीका रूपमा बुझ्नुपर्छ । जलवायु परिवर्तन, जनसंख्याको चाप, जंगल फडानी, जल स्रोतको ह्रास, भू–उपयोगको अव्यवस्था — यी सबैले विपद् बढाउँछन् । त्यसैले विपद्लाई सम्बोधन गर्न दीगो नीति, योजनाबद्ध विकास र वातावरणीय सचेतना पनि जोड्नुपर्छ । उदाहरणका लागि, नदी किनारमा घर बनाउन नदिनु, जोखिमयुक्त क्षेत्रमा पुनःवास कार्यक्रम ल्याउनु, तराईका नालाबढी सफा गर्नु, डम्पिङ साइट व्यवस्थित गर्नु — यी काम सरकारका जिम्मा हो, तर दबाब जनताबाटै सिर्जना हुनुपर्छ । विपद् भन्ने कुरा अज्ञात, अनियन्त्रित, अकल्पनीय हुँदाहुँदै पनि त्यसमाथि विजय पाउन सकिन्छ, यदि हामी समयमै सचेत हुन्छौँ भने । चेतना, पूर्वतयारी, प्रविधि, समुदाय, सरकार र जनताको समन्वय नै यसको समाधान हो ।