२०८२ साउन २६ गते सोमवार / Aug 11 , 2025 , Monday
२०८२ साउन २६ गते सोमवार
Ads

बाम बिचलनको खतरा

shivam cement
२०८२ साउन २५ गते ०६:००
बाम बिचलनको खतरा

–लेखराज रेग्मी

फेरि एकपटक केही महान् क्रान्तिकारी भनिनेहरू सूक्ष्म तरिकाले फासिवादको सेवातर्फ उन्मुख देखिन थालेका छन् । नेपालमा नरोदवाद (बौद्धिक राष्ट्रवाद) बेला–बेलामा प्रतिक्रियावाद र पश्चगमनको पक्षमा उभिन पछि पर्दैन । नक्सलबारी आन्दोलनका कमजोरीहरूबारे गम्भीर समीक्षा सुरु भएको समयमा नेपालमा त्यसले फेरि टाउको उठाउने अवस्था बन्यो । रिमभित्रै बहस चलिरहेकै बेला त्यसकै झण्डा बोक्दै नेपालमा पुनः देखा प¥यो । अहिले फेरि त्यस्तै संकेतहरू देखा पर्न थालेका छन् ।

यी सब लेख्दा म ऐतिहासिक घटनाक्रममा फर्किएर हेर्दैछु । तेस्रो महाधिवेशनपछि छिन्न–भिन्न बनेको कम्युनिष्ट आन्दोलनलाई निकास दिन पुष्पलाल श्रेष्ठले २०२५ सालमा राष्ट्रिय सम्मेलन गर्नुभयो । तर त्यही समय उहाँमाथि तीव्र आक्रमणहरू सुरु भए । दरभंगा प्लेनममा युवा क्रान्तिकारीहरू, बहुमतको धारणा र संविधानसभा सम्बन्धी नारालाई उहाँले अस्वीकार गर्नुभएको कुरा सत्य हो ।

तर, त्यसबेलाको परिस्थितिमा संविधानसभा तुरुन्त कार्यान्वयन हुने अवस्था थिएन । त्यसैले निरंकुशतन्त्रको जग बस्न नदिन नेपाली कांग्रेससँग सहकार्य गरेर आन्दोलनमा जानु गलत होइन । २००७ सालको आन्दोलनले उठाएको, तर कांग्रेसले छोडेको नारै संविधानसभाको नारा थियो । दरभंगा प्लेनममा संविधानसभाको नारालाई पूर्णरूपमा त्याग्नु हुँदैनथ्यो । कार्यनीतिक नाराको रूपमा त्यसलाई यथावत राख्दै निरंकुशता विरुद्ध तत्कालीन संघर्षमा संलग्न हुनु आवश्यक थियो ।

त्यही समय भाकपा (भारतीय कम्युनिस्ट पार्टी)भित्र वैचारिक संघर्ष चर्किएको थियो, जसको प्रभाव नेपालमा पर्नु स्वाभाविक थियो । दरबार–निकट बन्नुमा रुसपरस्त प्रवृत्तिले पनि भूमिका खेलेको देखिन्छ । यस्तो अवस्थामा नेपाली कांग्रेसलाई ‘राष्ट्रिय पुँजीपति वर्गको पार्टी’ मान्नु पुष्पलालको कमजोरी थियो, यद्यपि उहाँले स्वयं नेपाली कांग्रेसलाई ‘दलाल नोकरशाही पुँजीपतिहरूको पार्टी’ भनेर विरोध गर्दै आउनुभएको थियो । त्यसैले केवल त्यही आधारमा उहाँलाई ‘गद्दार’ ठहर गर्नु उचित हुँदैन ।

दरभंगा प्लेनममा उहाँको भूमिकाका कारण कम्युनिस्ट आन्दोलन पुनर्गठन गर्न सकिएन । पछि मोहनविक्रम र निर्मल लामाले जेलमुक्ति पाएपछि चौथो महाधिवेशनको तयारीका लागि केन्द्रीय न्युक्लियस बनाएर पुनर्गठन प्रक्रिया सुरु भएको थियो । त्यही समय झापा विद्रोहको सुरुवात पनि भयो, जसले पुष्पलाललाई मोहनविक्रम र निर्मल लामासँग सहकार्य गर्नबाट रोकेको देखिन्छ । चौथो महाधिवेशनपछि झापा आन्दोलनको ब्यानर ओगटिनु भनेको नेपाली नरोदवादको दोस्रो चरण थियो— बामबाट दक्षिणतिरको यात्रा ।

रिमको उदय चौथो महाधिवेशनको विभाजनभन्दा पहिल्यै भइसकेको थियो । भारतका केही माले समूह र मोहनविक्रम–निर्मल लामा चौथो अन्तर्राष्ट्रियको विरोधमा रिमको पक्षमा थिए । अमेरिकी आरसीपी झन् प्रखर ढंगले रिमको वकालत गरिरहेको थियो । चौथो महाधिवेशनको विभाजनमा रिमको सिधा भूमिका थिएन । तर विभाजनपछि मशालभित्रै रिमप्रति दृष्टिकोणमा मतभेद देखियो । २०४२ सालको विभाजनमा रिमले अन्तर्राष्ट्रिय कम्युनिस्ट धारामा रहन चाहने पक्षलाई उत्साहित गरेको देखिन्छ ।

आज भारतमा नक्सलबारी आन्दोलन र रिमबारे पुनर्मूल्यांकनको बहस चलिरहेका छन् । गोन्जालोको गिरफ्तारीपछि रिम एकीकृत रहन सकेन र हाल विघटनको अवस्थामा पुगेको छ । यसको असर नेपालमा पनि देखिएको छ, जनयुद्धको बिखरावमा यसको छायाँ देख्न सकिन्छ । भाकपा माले र नक्सलबारी आन्दोलनमा देखिएको बिखराव अहिलेको माओवादी आन्दोलनमा पनि प्रतिविम्बित भएको छ ।

आजको अवस्थामा फासिवाद विरोधी आन्दोलन कमजोर हुँदै गएको छ । दक्षिणपन्थी अवसरवादविरुद्धको संघर्ष अपेक्षाकृत कमजोर रहेको सन्दर्भमा २०४६ र २०६२/६३ का आन्दोलनहरूबाट प्राप्त उपलब्धिहरू जोगाउन नसकिएको तथ्यले पुष्टि गर्छ । अब ‘गोडा मुठी न्यानो पार्ने’ समय होइन । आत्म–सुरक्षाको नाममा क्रान्तिकारी बन्ने ढोंगले नरोदवादलाई मलजल दिन सक्छ भन्ने बुझ्न आवश्यक छ । यसकारण अहिलेको नेपाली माक्र्सवादको प्रमुख कार्यभार भनेकै दक्षिणपन्थी अवसरवादविरुद्ध स्पष्ट र सशक्त संघर्ष गर्नु हो । अन्यथा फासिवादविरोधी लडाइँ कमजोर हुनेछ र पश्चगमनको बाटो खुला हुनेछ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise