२०८२ असोज १० गते शुक्रवार / Sep 26 , 2025 , Friday
२०८२ असोज १० गते शुक्रवार
Ads

आशाको यात्रामा जनजीवन र अर्थतन्त्र

shivam cement
उद्धव सिलवाल
२०८२ असोज ९ गते १७:४६
आशाको यात्रामा जनजीवन र अर्थतन्त्र

एक जुगमा एक दिन एकचोटि आउँछ
उलटपुलट, उथलपुथल हेरफेर ल्याउँछ ।

कवि गोपालप्रसाद रिमालको यो कविताजस्तै नयाँ पुस्ता (जेनजी)ले भूगोल, संस्कृति र कला आफ्नो ठाउँमा रहँदा रहँदै पनि त्यसलाई सञ्चालन गर्ने पुस्ताको कारण समाजमा सुशासन अन्त्य भई कुशासनले प्राथमिकता पाएको भन्दै गरेको गरेको दुई दिनको आन्दोलनले संसद् विघटन भई अन्तरिम सरकार गठन भएको छ । 

कवि रिमालको भनाइअनुसार परिवर्तन टुप्पोबाट पलाउने कुरा हुँदै होइन । साइजसाइजका नेता त जतासुकै बग्रेल्ती पाइन्छ । तर कुनै पनि देशले राजनेता पाउन लामो समय कुर्नुपर्छ । नेपाली नजरमा सि चिनफिङ पुस्तकमा चीनमा एक जुगमा माओत्सेतुङ आए । अर्को युगमा दङ स्याओपिङ छाए र अहिले सि चिनफिङ रहेको उल्लेख छ । हामीकहाँ पनि आन्दोलनपछिको नयाँ सरकारको जिम्मेवारी नवनियुक्त प्रधानमन्त्रीको काँधमा रहेको छ । त्यसैले वर्तमान सरकारले विगतमा देखिएको कमी कमजोरीलाई हटाई आर्थिक विकासको मुद्दालाई अघि लानुपर्ने देखिएको छ । 

नेपाली अर्थतन्त्र अनुचित फाइदा लिने प्रवृत्तिबाट ग्रस्त छ । जसले गर्दा सरकारी नीति र कार्ययोजनाले अपेक्षित नतिजा दिन सकेको छैन । आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने विषय कागजमा मात्रै सीमित रहेको छ । सुशासन प्रभावकारी हुँदा मात्रै भ्रष्टाचार घट्छ । सुशासन फितलो हुँदा भ्रष्टाचार बढ्ने सर्वमान्य सिद्धान्त हो । तर पनि भ्रष्टाचार नियन्त्रणतर्फ काम हुन सकेन । 

उत्पादन संयन्त्र कमजोर हुँदा वस्तु तथा सेवाका लागि पनि अन्य देशमा भर पर्नुपर्ने अवस्था विद्यमान रहेको छ । युवाहरू देशभित्र बसिरहेमा बेरोजगारीले चरम रूप लिन सक्ने भएकाले त्यसबाट निस्कने छालको तरंग राजनीतिक दलसम्म पुग्न सक्छ भन्दै नेतृत्वले युवाहरूलाई स्वदेशमा बस्ने वातावरण निर्माणमा प्राथमिकता दिएनन् ।  किनकि स्वदेशमा बस्दा उनीहरू राज्य व्यवस्थाविरुद्ध आन्दोलन वा विद्रोहमा जान सक्छन् । त्यसैले राज्य नेतृत्व गरिहेको दल होस् वा प्रतिपक्षमा रहेको अन्य राजनीतिक दल उनीहरूले वैदेशिक पलायनलाई रोक्नेतर्फ पटक्कै काम गरेनन् । सरकार सञ्चालनमा युवाशक्ति बाहिरिनुलाई सकारात्मक रूपमा लिइने परिपाटीका कारण अहिलेको अवस्था आएको हो । 

मुलुकमा अहिले परिश्रम गर्छुभन्दा पनि काम गर्न पाउने अवस्था छैन । भोकको अनुभूति अघाएका पेटहरूले गर्न सक्दैनन् । भोक मेट्नकै लागि जीवन भर संघर्ष गर्नुपर्छ । देशमा केही वर्षयता भोक आतंक चलेको छ । बेरोजगारी बढ्दो छ । काम गरेर खाने वातावरण छैन । देशभित्र बसेर भोकको सामना गर्न नसकिने भएपछि नागरिकहरू विदेश जान लामबद्ध छन् । नेपाली युवा कति आतकिंत छन् भन्ने कुरा राहदानी विभाग, दूतावास र विमानस्थलमा दिनहुँ देखिने लाइनले नै देखाइरहेको थियो ।  

यस्तो अवस्थामा सरकारी स्रोतसाधनको दोहन, ठेक्कापट्टामा मिलेमतो, कर्मचारी र सुरक्षा अधिकारीको सरुवा बढुवामा मिलेमतोका विषय चर्चामा आइरहने गथ्र्यो । नेता र कर्मचारी मुछिएको ललिता निवास प्रकरण, वाइडबडी विमान खरिद, नक्कली भुटानी शरणार्थी प्रकरण, सहकारी ठगी, भिजिट भिसा प्रकरण, टेरामक्स, पतञ्जली जग्गा एवं गिरीबन्धु टी स्टेटजस्ता प्रकरणसँगै सार्वजनिक सेवा प्रवाहमा हुने गरेको ढिलासुस्तीले गर्दा नयाँ पुस्तामा आक्रोश बढिरहेको थियो । 

सत्ता र शक्तिमा रहँदा नेता र उनीहरूको पहुँचमा रहेका कर्मचारीको मात्रै हालिमुहाली हुने गरेको थियो । पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बाैं रुपैयाँ भ्रष्टाचारमा राजनीतिज्ञ र कर्मचारी संलग्न भएको कुरा बाहिर आए पनि छानबिन हुन सकेन । ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदनअनुसार नेपाल अति भ्रष्टाचार हुने देशको सूचीमा रहेको छ । नेपालको सम्पत्ति शुद्धीकरणमा निगरानी गर्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को ग्रे लिस्टमा परेको छ । यस्ता कारणले युवाहरूमा बढेको आक्रोशको कारण आजको अवस्था आएको हो । 

अधिकांश मानिसको इच्छा सुख हो । सुख प्राप्त गर्ने साधन सम्पत्ति हो । सुखको चरित्र नै अस्थिरता र मानिसलाई एकपछि अर्को लालसा जगाउनु हो । सुख र सम्पत्तिको चाहना असीमित हुन्छ । सम्पत्तिबाट सुखलाई सुरक्षित बनाउने सार्वजनिक अधिकारीको चाहनामा कहिले पनि पूर्ण विराम लाग्दैन । शक्तिमा एकाधिकार भएका व्यक्तिलाई प्रभावित गरी फाइदा दोहन गर्ने क्षमताले मुलुक अहिलेको अवस्थामा आइपुगेको हो । तृप्त नहुने सुखको इच्छा र सम्पत्ति प्राप्त गर्ने अवस्थाले शक्तिमा भएका व्यक्तिलाई सम्पत्ति जम्मा गर्न अभिप्रेरित गर्दछ । जसले मुलुकमा कमाउ धन्दालाई थप प्रश्रय गर्न सहयोग पु¥यायो । यस्तो कमाउ धन्दाले समाज र देशमा नै विकृति देखापरेको हो । 

नेपालको आर्थिक विकासका लागि विभिन्न क्षेत्रमा लगानी गर्न आवश्यक स्रोतको अभाव रहेको भन्दै विदेशी लगानीका लागि पनि यथेष्ट प्रयास हुँदै आएको छ । तर प्रयासअनुसारको विदेशी लगानी भित्रिन सकेको छैन । परम्परागत आन्तरिक अर्थतन्त्रको समस्याका कारणले गर्दा समग्र अर्थतन्त्रमा दबाबको अवस्था कायमै रहेको छ । आन्तरिक उत्पादन तथा माग सिर्जना नभएको कारणबाट जनताको जीवनस्तरमा सुधार आउन सकेको छैन । राजनीतिक रिले दौडका कारण योभन्दा अघि पनि आर्थिक क्षेत्रमा गम्भीर असर परेको थियो । सोही कारण आर्थिक क्षेत्रको अपेक्षाकृत विकास हुन सकेन । 

कौटिल्यको अर्थशास्त्रमा अर्थ आर्जनमा देखिएको असमानताको कारण विश्वका सबै देशमा कलह र अशान्तिले स्थान पाएको उल्लेख  छ । कौटिल्यले भनेजस्तै देश देशमा अशान्त वातावरण स्थापना हुनुमा अर्थ आर्जनको मूख्य भूमिका रहेजस्तो घरपरिवारमा पनि यही अर्थ अभावको कारण जीवन गुजारामा दबाब सिर्जना भएको छ । यो भनेकै धन आर्जनमा देखिएको असमानताले हो । हामीकहाँ थोरै मानिस सम्पन्न छन् । असंख्य नागरिक जीवन निर्वाहका लागि साधारण साधनबाट समेत वञ्चित रहेका छन् । 

हरि रोकाले वैकल्पिक अर्थतन्त्र नामक पुस्तकमा जीवन यापनका लागि पुँजी निर्माण हुन नसक्दा ग्रामीण वा सहरी क्षेत्रका आमनागरिकको जीवस्तर नराम्ररी प्रभावित भएकोे बताएका छन् । पुँजी निर्माणमा सक्रियतापूर्वक जनसंख्यामाथि हुने वातावरण नबन्दा राष्ट्रिय पुँजी निर्माणमा समेत आघात पुगेको उनको पुस्तकमा उल्लेख छ । पुस्तकमा उल्लेख गरेजस्तै लामो समयदेखि मानवीय जीवन रक्षाका लागि समाजको तल्लो वर्ग (बटम अफ द पिरामिड)लाई राज्यले हेर्न नसकेको कारण मुलुकमा नयाँ अवस्था सिर्जना भएको हो । यसको दुरगामी प्रभावबारे नेतृत्व तहले ध्यान दिनुपर्ने देखिएको छ । सुशासनको अभावले बढेको असमानताले असन्तुष्टि र विद्रोहको स्वरलाई चर्को बनाउँदै ल्याइरहेको अवस्थामा जेनजी आन्दोलनपछि सत्ता परिवर्तन भइसकेको हुँदा विश्व अर्थ व्यवस्थामा आइरहेको फेरबदल, राष्ट्रिय राज्यको अन्तर्राष्ट्रिय मोह, आर्थिक तथा सामाजिक संकट, क्षेत्रीय गठबन्धन तथा नयाँ शीतयुद्धलाई समेत ध्यानमा राखेर अर्थ रूपान्तरणका लागि अन्तरिम सरकारले राज्यको अर्थ राजनीतिक रणनीति तयार गरी अघि  बढ्नुपर्ने खाँचो महसुस भएको छ । 

दसैं र तिहारजस्ता चाडपर्व आर्थिक लेनदेनका लागि उच्च गतिविधि हुने समय हो । यसको तयारीमा मानिसहरूले लुगा, खाना र अन्य सामान किन्ने हुँदा बजार गतिविधि चलायमान हुने गर्छ । अहिले अर्थतन्त्र चलायमान हुन सकिरहेको छैन । जेनजी आन्दोलनमा एकै दिन १९ जनाको नरसंहार भएको थियो । सो आन्दोलनमा साहदत पाउने संख्या अहिले ७३ पुगिसकेको छ । यो संख्या बढ्दो क्रममा रहेको छ । यस्तो अवस्थामा सीमित स्वार्थ समूह भएका व्यक्तिहरूले बजरामा कालोबजारी सुरु गरिसकेका छन् । कृत्रिम अभाव र कालो बजारी गर्ने जोसुकैलाई सरकारले कडाभन्दा कडा कारबाही गर्नुपर्ने देखिएको छ । योसँगै चाडपर्वमा हुने मूल्यवृद्धि नियन्त्रण गर्न सकेमा केही मात्रामा भए पनि आमनागरिकले राहत महसुस गर्न सक्ने थिए । 

साधारणतया एक छाक खान पनि औसत नेपालीलाई धौधौ पर्ने अवस्था अहिले विद्यामान रहेको छ । यस्तो बेला चाडपर्वको बाहानामा बजारमा अवधि सकिएका सामानहरूको बिक्री वितरण हुन सक्ने देखिएकाले त्यसको अनुगमन र नियन्त्रणलाई प्रभावकारी रूपमा अघि बढाइ कालोबजारी गर्ने व्यक्ति, समूह थोरै फाइदाका लागि आमनागरिकको जीवनमाथि खेलबाड गरेको भेटिएमा त्यसलाई दण्ड दिने व्यवस्थालाई कार्यान्वयन गर्नुपर्ने खाँचो पनि देखिएको छ । 

कुशासनको कारण मानसिक सन्तुलन गुमाउनेसम्मको अवस्थासमेत सिर्जना भएको सबैलाई थाहा भएकै विषय हो । त्यसैले जेनजी आन्दोलनपछि बनेको सरकारले जनताले तिरेको करको रकमबाट कर्मचारीले तलब तथा सुविधा पाउने भएकाले जनाता नै सर्वोपरि हुन् भन्ने कुरालाई ध्यानमा राख्दै आन्दोलनबाट हासिल भएको ऊर्जाबाट देशमा रहेको अध्याँरोलाई उज्यालोतर्फ लानुपर्ने देखिएको छ । सर्वसाधारणको जनजीवन र अर्थतन्त्रमा आशाको नयाँ किरण विजारोपण गरी अर्थपूर्ण उपलब्धिलाई अनवरत रूपमा अघि बढाउनु नै  अहिलेको आवश्यकता हो । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise