
– जनक बराल
साहित्य भनेको मानवीय अनुभूति, समाजका उतार–चढाव, समयका छलफल र जीवनका अनेक आयामलाई शब्दमा उतार्ने कला हो । प्रायः धेरैलाई साहित्य सिर्जना पढ्ने–लेख्ने शौकको क्षेत्र मात्र हो जस्तो लाग्छ । धेरैलाई लाग्छ– साहित्यले पैसा दिँदैन, साहित्यमा करिअर हुँदैन र साहित्यिक कर्म जीवन निर्वाहका लागि पर्याप्त हुँदैन । तर अहिलेको डिजिटल युगमा यो धारणाले निकै परिवर्तन भोगिरहेको छ । अब साहित्य केवल पुस्तकका पानाभित्र सीमित छैन, बरु डिजिटल प्लेटफर्म, सामाजिक सञ्जाल, भिडियो, अडियो, पोडकास्ट, जर्नलिजम, अनलाइन कोर्स आदिद्वारा त्यसले आर्थिक अवसरहरूको नयाँ ढोका खोलिरहेको छ । प्रश्न उठ्छ–साहित्यबाट पनि पैसा कमाउन सकिन्छ र ? यसको जवाफ– हो । संसारले साहित्यलाई नयाँ रूप–रंग, नयाँ बजार र नयाँ सम्भावनाले स्वागत गरिरहेको छ ।
पहिलो कुरा, डिजिटल प्लेटफर्मको विकासले साहित्यिक अभिव्यक्तिलाई नयाँ आकार दिएको छ । आज फेसबुक, इन्स्टाग्राम, एक्स, युट्युब, टिकटक जस्ता प्लेटफर्महरूले सिर्जनाकर्मीलाई अड्कल गर्नै नसक्ने अवसर प्राप्त भएको छ । फेसबुकमा कविताका केही पंक्ति लेखेर मात्रै पनि लेखकले हजारौँ पाठक पाउन सक्छ । धेरै युवा स्रष्टाहरू फेसबुक स्टोरी, नोट वा सार्वजनिक पोस्टमा आफ्ना कथा, निबन्ध, संस्मरण र कविताहरू पोस्ट गर्छन् । जब पाठक बढ्छन्, त्यसको सिधा प्रभाव लेखकको प्रतिष्ठा, लोकप्रियता र भविष्यका आयस्रोतहरूमा पर्छ । अनलाइन विज्ञापन, ब्रान्ड कोल्याबोरेसन, स्पोन्सर्ड पोस्ट वा ‘फ्यान–सब्सक्रिप्सन’ जस्ता सुविधाले लेखनलाई आयमा जोड्ने सकिन्छ । यसको अर्थ, फेसबुक केवल सामाजिक सञ्जाल मात्र रहेन, साहित्यिक बजार पनि बन्न थालेको छ ।
त्यस्तै, इन्स्टाग्राम जस्तो दृश्यात्मक प्लेटफर्ममा ‘माइक्रो–पोएट्री’ वा ‘कोट–लिखाइ’ले ठूलो सम्भावना देखाइरहेको छ । सुन्दर डिजाइनमा प्रस्तुत गरिएका दुई–तीन लाइनका भावपूर्ण कविता वा उद्धरणहरूले लाखौँ दर्शक बटुल्छन् । यिनले ब्रान्डिङ, बुक–मार्केटिङ र मर्चेन्डाइजिङका ढोका खोलिदिन्छन् । साहित्य अझै गम्भीर विषय हो भन्ने धारणालाई तोड्दै यसले कला, ग्राफिक्स र शब्दको मिश्रणबाट नयाँ बजार निर्माण गरिरहेको छ ।
अर्को महत्वपूर्ण माध्यम हो– युट्युब । युट्युबमा साहित्यिक सामग्री अपलोड गरेर आय आर्जन सम्भव छ । कथाहरूलाई नयाँ शैलीमा प्रस्तुत गर्दै ‘स्टोरीटेलिङ च्यानल’ चलाउने, आफ्नै कवितालाई वाचन गर्ने, साहित्यिक छलफल, पुस्तक समीक्षा, लेखक परिचय, श्रोताले पठाएका कथाको वाचन, सांस्कृतिक कथा–किस्सा आदि प्रस्तुत गर्न सकिन्छ । धेरैले कथा वा कविता केवल पढेर पोस्ट गर्ने होइन, भिडियोको रूपमा रूपान्तरण गरेर सशक्त प्रस्तुति दिने गरेका छन् । दृश्य, ध्वनि र संगीत मिल्दा साहित्यिक सामग्री अझै प्रभावकारी हुन्छ । यस्ता भिडियोले युट्युब मोनेटाइजेसन, स्पोन्सर, एफिलेट मार्केटिङ जस्ता माध्यमबाट पैसा कमाउने सम्भावना बढाउँछ ।
त्यस्तै, टिकटकले पनि साहित्यलाई नयाँ शैलीमा लोकप्रिय बनाइदिएको छ । छोटो भिडियोमा १०–१५ सेकेन्डका कविता, उद्धरण वा भावनात्मक कथाका अंशहरू अहिले मानिसहरू निकै सुन्छन् । साहित्य छिटो फैलिने र लोकप्रियता बढ्ने यो ठूलो माध्यम हो । लोकप्रियता बढ्दै जाँदा टिकटक क्रिएटर फन्ड, ब्रान्ड कोलाबोरेशन, लाइभ गिफ्ट जस्ता माध्यमले आम्दानी पनि हुन्छ ।
डिजिटल युगको अर्को सुन्दर सम्भावना हो– पोडकास्ट । कथा, कविता वाचन, साहित्यिक छलफल, लेखकहरूको अन्तर्वार्ता, पुस्तक समीक्षा आदि विषयमा बनाइने पोडकास्टहरूले विशिष्ट श्रोता वर्ग बनाउँछन् । आजकल मानिसहरू गाडी चलाउँदा, हिँड्दा, घरायसी काम गर्दा पोडकास्ट सुन्न मन पराउँछन् । स्पोटिफाइ, एप्पल पोडकास्ट, गूगल पोडकास्ट आदि माध्यममार्फत पोडकास्टले विज्ञापन, स्पोन्सर वा पेड–सब्सक्रिप्सनबाट पैसा कमाउन सक्छ ।
अब लेखनको परम्परागत बजार पुस्तक प्रकाशनमा आउँदा, अहिले यसले पनि आयस्रोतमा नयाँ आयाम थपेको छ । पहिले प्रकाशकले मात्र पुस्तक छापिदिन्थ्यो र लेखकलाई कुनै रोयल्टी दिँदैनथे । अहिले धेरै प्रकाशकहरूले पुस्तक बिक्रीको आधारमा लेखकलाई न्यूनतम १०–१५ प्रतिशतको रोयल्टी दिन थालिसकेका छन् । साथै, लेखकले आफ्नै खर्चमा पुस्तक छपाएर ‘इन्डिभिजुअल पब्लिसिङ’ गर्न थालेका छन् । फाइदा–बिक्री पैसा मुख्य रूपमा लेखककै हातमा आउँछ । अनि ‘ई–बुक’ र ‘अडियो बुक’को बजार पनि फस्टाइरहेको छ । ई–बुक प्लेटफर्म जस्तै एमेजन किन्डलर, गुगल बुक्स, कोबो आदि मार्फत नेपाली लेखकले विश्वव्यापी पाठक पाउन सक्छ ।
साहित्यबाट कमाइको अर्को उदीयमान क्षेत्र हो– वर्कसप तथा कोर्स । लेखन सिक्न चाहनेहरूको संख्या बढ्दै गएको छ । त्यसैले, ‘क्रिएटिभ राइटिङ’ वर्कसप, कविता लेखन तालिम, कथा संरचना, संवाद कला, शैलीगत लेखन आदि विषयमा अनलाइन र अफलाइन कोर्स लिई आर्थिक आम्दानी गर्न सकिन्छ । धेरै लेखकहरूले आफ्नो लेखन अनुभव बाँडेर पनि राम्रो कमाइ गर्दै छन् ।
सामाजिक सञ्जाल र युट्युबजस्तै, ब्लगिङ पनि एउटा मजबुत माध्यम हो । ब्लग प्लेटफर्ममा साहित्य लेख्दा वेबसाइटमा विज्ञापन राखेर आम्दानी गर्न सकिन्छ । साहित्यिक संस्मरण, यात्रा–वर्णन, आलोचना, पुस्तक समीक्षा, मनोवैज्ञानिक लेख, जीवनशैली सम्बन्धी लेखन ब्लगहरूमा निकै लोकप्रिय छन् । साहित्यले ब्लगिङमार्फत व्यावसायिक आय दिएको थुप्रै उदाहरण छन् ।
त्यस्तै, फ्रिलान्स लेखनले पनि साहित्यिक क्षमतालाई रोजगारीसँग जोड्ने अवसर दिन्छ । म्यागजिनहरू, पत्रपत्रिका, अनलाइन पोर्टल, विज्ञापन कम्पनी, स्क्रिप्ट राइटिङ, स्टोरी कन्सेप्ट डेभलपमेन्ट, फिल्म र सिरियलका लागि संवाद लेखन आदि क्षेत्रमा लेखनबाट राम्रो आय सम्भव छ । कथा र शैलीगत लेखनमा सीप भएका व्यक्तिले पटकथा लेखनमार्फत पनि राम्रो कमाइ गर्न सक्छन् ।
साहित्यिक सिर्जनाको आर्थिक मूल्य बढ्ने अर्को क्षेत्र हो– साहित्यलाई दृश्य र सञ्चारमा रूपान्तरण । कथा, उपन्यास, निबन्ध वा संस्मरणलाई छोटो चलचित्र, वेब सिरिज, म्युजिक भिडियो वा नाटकमा रूपान्तरण गर्ने प्रवृत्ति बढ्दो छ । यसरी रूपान्तरण गर्दा कथाको कपी राइट प्रयोग गरिने भएकाले लेखकलाई ‘राइट्स फी’ वा ‘रोयल्टी’ मिल्छ । डिजिटल स्ट्रीमिङ प्लेटफर्महरूले धेरै कथाहरू मागिरहेका छन् । यो भविष्यमा लेखकका लागि ठूलो बजार बन्ने निश्चित छ ।
यति धेरै सम्भावनाबिच, सबैभन्दा मुख्य कुरा भनेको समयसँगै साहित्यिक पहिचान निर्माण गर्ने हो । जब एक लेखकले निरन्तर सिर्जना गर्छ, नियमित रूपमा पाठकसँग सम्बन्ध बनाउँछ र गुणस्तरीय सामग्री प्रस्तुत गर्छ, तब अवसरहरू आफैँ बढ्दै जान्छन् । आजका धेरै युवा लेखकले फेसबुकमा कविता लेख्दै सुरुवात गरेका छन् । त्यसपछि उनीहरूले युट्युब बनाएका, कथा वाचन सुरु गरेका, पोडकास्ट गरेका, पुस्तक निकालेका छ । यसरी साहित्यले जीवनसँगै आय पनि दिन थालेको छ ।
साहित्य पैसाको मात्र होइन, भावना, अभिव्यक्ति र चेतनाको समिश्रण हो । तर अभिव्यक्ति र चेतनाको यो यात्राले आज आर्थिक रूपले पनि सम्भावनाका पाना खोलिदिएको छ । पुस्तक लेखेर, कविता वाचन गरेर, कथा भिडियो बनाएर, फेसबुकमा पोस्ट गरेर, पोडकास्ट चलाएर वा ब्लग लेखेर–अनेक बाटोबाट आजको लेखक कमाइ गर्न सक्छ । प्रश्न–साहित्यबाट पनि पैसा कमाउने कि ? उत्तर–अवश्य कमाउने । तर लगन, निरन्तरता र सिर्जनाप्रति समर्पण आवश्यक छ ।
यसरी, साहित्य सिर्जना मात्र होइन, साहित्यिक व्यावसायिकताको पनि नयाँ संसार खुलेको छ । अब साहित्य केवल मनका लागि होइन–सीप, पहिचान र आयस्रोतको माध्यम पनि बन्न सक्ने अवस्थामै पुगेको छ ।