
पैतालामा चिरा चिरा पारेर,
टाउकोमा नाम्लोको डाम बोकेर,
उकाली ओराली दौडिएको थियो
बेसाहा खोज्न डाँडापारिको गाउँमा भरिया दाइ ।
त्यो बिसौनी चौतारीमा कहिल्यै नभएको यात्रा हुन्थ्यो,
वरिपरि बटुवा, लाहुरे, किसान, गाई झत्ती,
र वर पिपलको ओटमा सुनिन्थ्यो गाउँको कथा ।
आज त्यो चौतारी हरायो ।
भत्किएको छ, माटोमा मिसिएको स्मृति जस्तो ।
तर वर पिपल अझै उभिएको छ,
पर्खिरहेको छ ।
फेरि कसैले आउँला कि भनेर
ज्ञानको कुरा, संस्कृतिको सास लिएर ।
कहिले होला त्यो बिहान,
जब गाउँका गल्लीहरूमा फेरि गीत गुन्जिएला,
बालबालिकाले संस्कृतिको अक्षर पढ्नेछन्,
कलाले घर–घर उज्यालो पार्नेछ ।
नेपाली माटोमा फेरि फक्रियोस् त्यो सोच
चौतारी भत्किए पनि चेतना नभत्कोस्
हाम्रो पहिचान, हाम्रो गौरव,
फेरि बाँचोस्,
फेरि उज्यालो बनोस् ।