
आधुनिक चमक–दमकका बिच पुराना संस्कृतिहरू छायामा हराउँदै गएका छन् । सहरी जीवन हाम्रा परम्पराभन्दा धेरै पर पुगिसकेका छन् । पछिल्लो पुस्ताले हाम्रो विगत के थियो भन्ने नै थाहा नपाउने अवस्था भएको छ । एकातिर मानिसहरूले परम्परागत उत्सवलाई त्यागेका छन् भने अर्कोतिर सामूहिकताको विश्वास हराउँदै गएको छ । सहर, मानिसहरूको जमघट त छ तर यहीँ मानिसहरू एक्लै पनि छन् ।
तर, यस्तोमा सूर्य विनायक नगरपालिका–४, तर्खगालका महिलाहरू भने परम्परालाई जोगाउने अभियानमा उभिएका छन् । उनीहरूले परम्परालाई धान्ने गरी विभिन्न कार्यक्रम गर्दै आएका छन् । यहाँ तर्खगालका महिलाहरूले जोगाएको ‘वनभात खाने कार्यक्रम’लाई स्मरण गरिएको छ ।
यस पटक पनि तर्खगालका महिलाहरू सामूहिक रूपमा जुटेर तर्खगाल छेउको हरियाली जंगलमा ‘वनभात खाने कार्यक्रम’ साँच्चिकै भव्य रूपमा सम्पन्न गरेका छन् । यो केवल एउटा भोज थिएन, यो प्रकृतिको सामिप्यमा हुर्किएको संस्कार, सामूहिकता र रैथाने गौरवको अद्वितीय उत्सव थियो ।
बिहानको हुस्सुले वनपाखा ढाकिएको बेला विभिन्न पोसाकमा (गुन्यू–चोली, रातो–हरियो कुर्ता–सुरुवाल) सजिएर तर्खगालका आमा–काकी, दिदी–बहिनी, भाउजू–बुहारीहरू गुनगुनाउँदै जंगलको छेउमा जुटे । बिहानको समय कसैले दाउरा बटुल्दै, कसैले पात–पातको थलो मिलाउँदै, कसैले भाँडा–कुँडा सिँगार्दै, अनि कोही परिकारको तयारी गर्दै । सबैको अनुहारमा झल्किएको उत्साह आफैंमा एक अलग ऊर्जा ।
दाउराको चुलो तात्न थाल्यो, धुवाँ जंगलभरि तैरियो र सँगै हाँसो–ठट्यौली पनि फैलियो । ‘घरको भान्छाभन्दा वनभातको खाना त अर्कै स्वाद आउँछ नि !’ एक काकीको त्यो भनाइसँग सबैले टाउको हल्लाएर सहमति जनाए । त्यो दृश्य हेर्दा यस्तो लाग्थ्यो– चुलो मात्र तातेको होइन, आधुनिकताले छायामा पार्न खोजिरहेको परम्पराको आत्मासमेत फेरि उज्यालोमा उदाइरहेको छ ।
यस उत्सवले वनभात खाने संस्कृतिको गहिरो अर्थ फेरि सम्झाइदिएको छ । बिर्सिँदै गएका नेपाली रैथाने परम्परालाई महिलाहरूले आफ्नै मेहनत र समर्पणले पुनर्जीवन दिइरहेका छन् । सामूहिक रूपमा बसेर पकाएको र खाएको भोजनले ‘साथमा बसेर खायौँ भने दुःख–सुख आधा हुन्छ’ भन्ने जीवन सूत्र फेरि अनुभव गराएको छ ।
हुन पनि सहरको धुलो–धुवाँ र दौडधुपबाट टाढा पारिजातको सुगन्ध, वन पाखाको चिसो हावा र प्रकृतिको सान्निध्यमा बिताएको क्षणले मन, मस्तिष्क र आत्मामा अनुपम ताजगी गराउँछ । नाच, गीत र रमाइला कुराकानीसँगै सबैको मनमा नयाँ ऊर्जा जगाउँछ, सम्वनध झनै प्रगाढ वनाउँछ र समुदायको आत्मीयता पनि थप मजबुत वनाउँछ ।
परम्परालाई जोगाउने तर्खगालका महिलाहरू साँच्चिकै सच्चा सलामका योग्य छन् । वनभात केवल परम्परागत उत्सव मात्र होइन, यो पुस्तालाई जोड्ने पुल हो, संस्कृतिलाई जोगाउने अभियान हो, महिला शक्ति, आत्मीयता र सामूहिक एकताको प्रतिमूर्ति हो । तर्खगालका महिलाहरूले इतिहासलाई जोगाइरहनुभएको छ, भविष्यलाई दिशा देखाइरहनुभएको छ । तर्खगालका महिलाहरूले मौलिक पहिचानलाई सुरक्षित राख्दै समृद्ध, एकताबद्ध र संस्कृतिमय समाज निर्माणमा अमूल्य योगदान दिइरहनुभएको छ ।