
असोजको चिसो बिहान थियो । काठमाडौंको पुरानो बानेश्वर क्षेत्र अझै निद्राबाट ब्यूँझँदै थियो । सडक छेउका चिया पसलहरूमा भर्खरै दुध उम्लिन थालेको थियो । त्यही सडकको मोडमा रहेको एउटा सानो पुस्तक तथा स्टेशनरी पसल थियो– ‘ज्ञानदीप पुस्तक भण्डार’ ।
त्यो पसल बिहान सबेरै खोल्ने गर्थी– अनुश्री । उसलाई किताब पढ्न खुब मन पथ्र्यो । मानिसहरूभन्दा किताबसँग उसको मित्रता गहिरो थियो । पसलभित्र सधैं किताबको गन्ध, कापीको कागज र मसीको मिश्रित सुवास फैलिएको हुन्थ्यो ।
अनुश्रीले एउटा कुरा भने राम्ररी याद राखेकी थिई– हरेक बिहान ठीक साढे आठ बजे एउटा युवक पसल अगाडि आएर उभिन्थ्यो । पसलभित्र नछिरी, झ्यालबाट किताबहरू नियाल्थ्यो । कहिले डायरी, कहिले पेन, कहिले कार्ड । हेथ्र्यो धेरै, बोल्थ्यो कम ।
उसको नाम थियो– आर्यन ।
साधारण कपडा, झोला काँधमा, अनुहारमा स्थायी गम्भीरता ।
पहिलो पटक उ पसलभित्र छिर्दा अनुश्रीलाई सामान्य ग्राहक झैं लागेको थियो ।
‘डायरी छ ?’
‘कस्तो ?’
‘निलो कभर भएको, धेरै बाक्लो होइन ।’
अनुश्रीले देखाइदिई । आर्यनले एकछिन पल्टायो, फेरि राखिदियो । किनेन ।
त्यसपछि ऊ हप्तामा दुई–तीन पटक आउन थाल्यो । कहिले डायरी हेथ्र्यो, कहिले कार्ड, कहिले कलम । तर धेरैजसो किन्थेन ।
अनुश्रीलाई कौतुहलता लाग्न थाल्यो ।
किन यति धेरै हेर्छ, तर किन्न चाहिँ हिच्किचाउँछ ?
एकदिन आर्यनले एउटा साधारण ग्रीटिङ कार्ड किन्यो ।
‘यसमा केही लेखिदिन मिल्छ ?’
‘के लेख्ने ?’
‘जन्मदिनको शुभकामना... नाम नलेखिदिनु ।’
अनुश्रीले लेखिदिई ।
‘दिनु कसलाई हो ?’
‘कलेजकी एक साथीलाई ।’
त्यसपछि त्यो क्रम सुरु भयो ।
जन्मदिन, परीक्षा सकिएको बधाई, नयाँ वर्ष, दशैँ, तिहार– हरेक अवसरमा आर्यन कार्ड लिन आउँथ्यो ।
सधैं नाम नलेख्ने ।
सधैं एउटै व्यक्तिका लागि ।
अनुश्रीले अनुमान गरिसकेकी थिई– यो केवल ‘साथी’ मात्र होइन ।
कहिलेकाहीँ उसले जिस्क्याउँदै सोध्थी– ‘यति धेरै कार्ड पठाउँदा उसले केही प्रतिक्रिया त दिन्छ होला नि ?’
आर्यन मुस्कुराउँथ्यो, तर त्यो मुस्कानमा थकान लुकेको हुन्थ्यो ।
‘कार्ड उसले पाउँछ, प्रतिक्रिया आवश्यक छैन ।’
समय बित्दै गयो ।
कार्ड पठाउने क्रम चलिरह्यो, तर आर्यनको अनुहार झन् गम्भीर हुँदै गयो ।
अनुश्रीले महसुस गर्न थाली– ऊ केवल कार्ड होइन, आफ्नै मन पनि पठाइरहेको छ ।
एकदिन साहस गरेर अनुश्रीले सोधी– ‘माफ गर्नुहोला, उसले कहिल्यै जवाफ नदिँदा नरमाइलो लाग्दैन ?’
आर्यन केहीबेर चुप लाग्यो ।
‘उ जवाफ दिनुपर्ने अवस्थामा छैन ।’
त्यो उत्तरले अनुश्रीलाई झनै जिज्ञासु बनायो, तर उसले थप सोधिन् ।
मंसिरको अन्तिम साता थियो ।
आर्यन असामान्य रूपमा चाँडै आयो । अनुहार थकित, आँखामा अस्थिरता ।
‘आज अन्तिम कार्ड चाहियो,’ उसले भन्यो ।
‘अन्तिम ?’
‘हो । अब पठाउनु पर्ने छैन ।’
अनुश्रीको मन कस्सियो ।
‘किन ?’
आर्यनले सास फेर्दै भन्यो– ‘उसको विवाह हुँदैछ ।’
पसलभित्र एकछिन मौनता छायो ।
अनुश्रीले शब्द भेटिन ।
उसले सबैभन्दा राम्रो कार्ड निकालिदिई– सादा, सेतो, गहिरो भाव बोकेको ।
आर्यनले लामो समय लेख्यो ।
शब्दहरू कोर्दै, मेट्दै, फेरि लेख्दै ।
अन्त्यमा कार्ड बन्द गर्यो ।
‘आज तिमीले नै पुर्याइदेऊ,’ उसले भन्यो ।
अनुश्री छक्क परिन् ।
‘म ?’
‘हो । म आज जान सक्दिन ।’
उसले सहमति जनाई ।
कार्ड पुर्याएर फर्किंदा साँझ परिसकेको थियो ।
पसल फर्किँदा आर्यन त्यहीँ बसेको थियो ।
उसले अनुश्रीलाई हेरेर भन्यो– ‘अब एउटा अर्को डायरी चाहियो ।’
‘डायरी ?’
‘निलो कभर भएको ।’
अनुश्रीले पुरानै डायरी देखाइदिई । आर्यनले किन्यो ।
त्यसपछि अचानक भन्यो– ‘यो डायरी तिम्रो लागि ।’
अनुश्री स्तब्ध भई । ‘मेरो लागि ?’
आर्यनले गहिरो सास लियो ।
‘जसका लागि म ती कार्ड पठाउँथे, उ मेरी दिदी थिई । उ मलाई आमाबाबु गुमेपछि हुर्काएकी । म कहिल्यै खुलेर धन्यवाद भन्न सकिन । ती कार्डहरू त्यसकै माध्यम थिए ।’
अनुश्रीका आँखामा नमी छायो । ‘तर म...’
‘तिमीलाई म पहिलो दिनदेखि नै मन पराउँथेँ,’ आर्यनले भन्यो ।
‘तर म तिमीलाई केवल पसलवाली हैन, साथी बनाएर चिन्न चाहन्थेँ । ती कार्डहरूले त्यो मौका दिएँ ।’
उसले डायरी अघि बढायो ।
‘यदि तिमी चाह्यौ भने, यो डायरीमा हाम्रो कथा सुरु गरौँ ।’
अनुश्री मुस्कुराई ।
डायरी समाउँदै भन्यो– ‘कथा त सुरु भइसकेछ ।’
पसलभित्र किताबको गन्ध अझै गाढा भयो ।
बाहिर चिसो हावा चलिरह्यो । र, दुई अपरिचित मनहरू, निलो डायरीको पहिलो पृष्ठमा, बिस्तारै परिचित बन्दै गए ।