२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

मुद्रितबाट मल्टिमिडियासम्म

shivam cement
भावना पाठक
२०८२ माघ १५ गते १४:०७
Shares
मुद्रितबाट मल्टिमिडियासम्म

अभिव्यक्तिको मूल आधार भाषा हो । भाषा मानवले निर्माण गरेको शक्तिशाली एवं सामूहिक आविष्कार पनि हो । एकअर्कासँग सहकार्य गर्न संकेत, ध्वनि र शब्दहरूको प्रयोगबाट सुरु भएको भाषा समयक्रमसँगै लेखिने र छापिने माध्यमका रूपमा विकास भयो । आजको डिजिटल युगमा दृश्य–श्रव्य माध्यमसँग जोडिएर बहुआयामिक अभिव्यक्तिका रूपमा भाषा विकसित भएको छ । मुद्रित शब्दबाट सुरु भएको अभिव्यक्तिको यात्रा आज मल्टिमिडिया प्लेटफर्मसम्म आइपुगेको छ, जसले भाषा प्रयोग गर्ने शैली, प्रभाव र पहुँचलाई पूर्ण रूपमा परिवर्तन गरिदिएको छ ।

मुद्रण प्रविधिको विकासले भाषिक अभिव्यक्तिमा क्रान्ति ल्यायो । नेपालमा पहिलोपटक १९०८ सालमा छापाखानाको प्रयोग भएको हो । जसलाई गिद्दे प्रेसको नामले चिनिन्छ । प्रधानमन्त्री जंगबहादुर राणाले बेलायत भ्रमणबाट फर्कंदा ल्याएको हाते छापाखाना थापाथली दरबारमा जडान गरी सञ्चालन गरेका थिए । १९५८ सालमा गोरखापत्र प्रकाशनपछि नेपाली भाषा विस्तारमा महत्वपूर्ण आयाम थपियो । विस्तारै नेपालमा  पत्रपत्रिका, जर्नल र पर्चाहरूको प्रकाशन हुन थाल्यो, जसले विचारलाई स्थायी रूप दिए । साहित्य, दर्शन, राजनीति र विज्ञानका कुराहरू मुद्रित माध्यममार्फत फैलिन सके । औपचारिक, संरचित र व्याकरणमा आधारित भाषा विस्तारै सरलीकृत हुँदै आजको युगसम्म आइपुगेको छ । 

मुद्रित शब्दको सीमा पनि थियो । जसका कारण अशिक्षित वा कम शिक्षित वर्गले यसलाई बुझ्न कठिन हुने अवस्था थियो । समयसँगै सहज, छिटो र प्रभावकारी अभिव्यक्तिको खोजीका लागि भाषामा श्रव्य र दृश्य पनि जोडिन पुग्यो । रेडियो र टेलिभिजनको विकाससँगै भाषिक अभिव्यक्ति पनि नयाँ चरणमा प्रवेश गर्‍यो । रेडियोले आवाज र टेलिभिजनले दृश्य र शब्दलाई एकसाथ प्रस्तुत गर्‍यो । यससँगै भाषा पढिने मात्र होइन, सुनिने र देखिने पनि बन्यो । समाचार, नाटक, गीत, अन्तर्वार्ता र वृत्तचित्रहरूले भाषालाई जनजीवनसँग अझ नजिक ल्याए ।

इन्टरनेट र डिजिटल प्रविधिको विकाससँगै भाषिक अभिव्यक्ति बहुआयामिक बन्न पुग्यो । वेबसाइट, ब्लग, सामाजिक सञ्जाल, युट्युब, पोडकास्ट, एनिमेसन र इन्फोग्राफिक्सले भाषा प्रयोग गर्ने तरिका नै बदलिदिएको छ । अब अभिव्यक्ति शब्दमा मात्र सीमित नभएर चित्र, भिडियो, आवाज, इमोजी, ग्राफिक्स र अन्तत्र्रिmयासँग पनि जोडिएको छ ।

नेपालमा नेपाल न्युजले पहिलो अनलाइन न्युज पोर्टलको सुरुवात गरेको थियो । जसले आफ्नै समाचार राख्नेदेखि लिएर अन्य पत्रिकाहरूलाई समेत आफ्नो साइटमा राखेर प्रचार गर्ने काम गरेको थियो । सुरुवातमा  कान्तिपुर, गोरखापत्रलगायत अन्य थुप्रै साप्ताहिक र मासिक पत्रिका नेपाल न्युजको वेबसाइटमार्फत प्रकाशन गर्ने महत्वपूर्ण काम गर्‍यो । अहिले प्रायः सबै प्रकाशन हाउसका आफ्नै अनलाइन पोर्टल पनि छन् । अब अहिले अनलाइन पोर्टलका समाचार अझ छिटो विस्तार गर्न सामाजिक सञ्जालको प्रयोग हुने गरेको छ । 

मल्टिमिडिया अभिव्यक्तिमा पाठक वा दर्शक अडियन्स मात्र नभएर प्रतिक्रिया दिने, टिप्पणी गर्ने, सेयर गर्ने कुरामा सहभागी हुन्छन् । जसले भाषिक अभिव्यक्तिमा सबैको पहुँच पुर्‍याएको छ । सामाजिक सञ्जालमा लामो लेखभन्दा छोटो क्याप्सन, भिडियो वा दृश्य सामग्री बढी प्रभावकारी भएको देखिन थालेको छ । 

मल्टिमिडिया अभिव्यक्तिले भाषामा लचिलोपनदेखि विश्वव्यापी पहुँच दिएको छ । सानो समुदायको भाषा पनि डिजिटल माध्यमबाट अन्तर्राष्ट्रियस्तरमा चिनिन सकेका छन् । शिक्षा, सञ्चार र सिर्जनात्मक क्षेत्रमा नयाँ सम्भावना खुलेका छन् । स्थानीय भाषा, बोलीचाली, मिश्रित भाषाजस्तै नेपाली–अंग्रेजी र नयाँ शब्दावलीको प्रयोग बढेको छ ।

पछिलो दुई दशक अथवा गणतन्त्रपछि नेपालको भाषा अभिव्यक्तिको माध्यम डिजिटल प्लेटफर्ममा निर्भर रहेको देखिन्छ । सामान्यदेखि सामान्य सूचनासम्म सामाजिक सञ्जाल र वेबसाइटमा अपलोड गरिएको हुन्छ । उपन्यास, महाकाव्य अथवा कुनै संग्रहभन्दा बाहेक प्रकाशन न्यून छ । सर्जकहरू पुस्तक प्रकाशनभन्दा ब्लग क्रियट गरेर आफ्ना क्रियसन डिजिटल प्लेटफर्ममा राख्न थालेका छन् । अडियन्स पनि थिएटर छोडेर सामाजिक सञ्जालमा कविता, गजल, कथा, उपन्यास आदिको बनिबनाउ भिडियोमा आकर्षित हुन थालेका छन् । ई–बुक, अनलाइन पत्रपत्रिकाले मुद्रण परम्परालाई लगभग विस्थापित गरेको छ भने रेडियो टेलिभिजनलाई युट्युब, टिकटकजस्ता मनोरञ्जनमूलक एपले पछाडि पारेको छ । आजभोलि कतिपय पुस्तक निश्चित रकम तिरेर अनलाइनबाट पढ्न मिल्नेसम्मको सहजता छ । पढ्नका लागि पुस्तक किन्नैपर्छ भन्ने ट्रेन्ड पनि हटेको देखिन्छ । 

रेडियो नेपालबाट सुरु भएको श्रव्य अभिव्यक्ति, नेपाल टेलिभिजनबाट सुरु भएको दृश्य अभिव्यक्ति अहिले मल्टिमिडियामा गएर मिसिएका छन् । मुद्रण र श्रव्य, दृश्यमा डिजिटल प्रविधिले पारेको केही प्रभावलाई छोड्ने हो भने यो दुई दशकमा नेपाली भाषा, साहित्य सबैको पहुँचमा पुगेको देखिन्छ । घटना घट्नेबित्तिकै हातमै खबर आइसक्ने प्रविधिको विकासले आममानिसलाई दुनियासँग नजिक बनाएको छ ।  मनमा लागेको कुरा, व्यक्त गर्न चाहेका भावना बिनाझन्झट पोस्ट गर्न सक्ने अवस्था छ । यसले अभिव्यक्तिलाई सीमित गर्दैन । 

दृश्य र श्रव्य सामग्रीको अधिक प्रयोगले पढ्ने संस्कार कमजोर हुँदै गएको देखिन्छ । अभिव्यक्तिलाई सजिलो बनाएको भए पनि कहिलेकाहीँ भाषिक शुद्धता र गहिराइमा चुनौती पनि खडा गरेको देखिन्छ । सूचनाको भीड, सतही सामग्री, गलत सूचना र भाषिक मौलिकताको क्षय पछिल्लो समय भाषामा देखिएको समस्या हो । केही समस्यालाई छोड्ने हो भने प्रविधिमा आएको यो परिवर्तनले आममान्छेको जीवन सहज बनाएको देखिन्छ । मुद्रित शब्दबाट मल्टिमिडिया अभिव्यक्तिसम्मको यात्रा भाषाको निरन्तर विकासक्रम हो ।

सम्बन्धित खबर