२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

कविता : मेरो लडाइँ अन्यायसँग

shivam cement
मिथिलेश आदित्य
२०८२ माघ २४ गते ०६:००
Shares
कविता : मेरो लडाइँ अन्यायसँग

तिमी केसँग लड्नेछौ
मेरो मेहनतसँग ?
जो हथेलीका रेखाहरूमा
पसिनाको मसीले लेखिएको छ ।

कि मानवतासँग ?
जो लड्दै गरेकोलाई उठाउँछ,
र जित्दै गरेकोलाई
निहुरिन सिकाउँछ ।

कि निष्ठासँग ?
जो मौसमसँग बदलिँदैन,
न नाफा–नोक्सानको हिसाब जान्छ,
जो केवल निभाउन जान्छ–
अन्त्यसम्म, एक्लै भए पनि ।

कि मेरा कर्महरूसँग ?
जो कुनै होहल्ला नगरी
आफ्नो फल रोज्छन्,
र समयका हातमा
मेरो सत्य सुम्पिदिन्छन् ।

तिमी मसँग हरेक ठाउँमा लड्नेछौ–
कहिले मञ्चमा,
कहिले फुसफुसाहटहरूमा,
कहिले पिठ्युँ पछाडि
छोडिएका अधुरा कुराहरूको सहारामा ।

तर याद राख–
हरेक ठाउँमा हार तिम्रै हुनेछ ।

किनकि मेरो लडाइँ
कुनै व्यक्तिसँग होइन,
मेरो लडाइँ अन्यायसँग हो ।

र तिम्रो पराजय
मेरो शक्तिबाट होइन,
तिम्रै कर्मबाट जन्मिनेछ–
ती कर्म,
जुन तिमीले अन्धकारमा ग¥यौ
र सोचेऊ
अन्धकार सधैँ तिम्रै रहनेछ ।

तर अन्धकार
कसैको साथी हुँदैन
उज्यालोको सानो आहटमै
आफ्नो बाटो बदलिदिन्छ ।

मैले सत्यलाई हतियार बनाइनँ,
मैले सत्यलाई आफ्नो बानी बनाएँ ।

र बानीहरू त्यागिँदैनन्
समय आएपछि पहिचान बन्छन् ।

तिमी झूटलाई कवच ठानिरह्यौ,
र मैले इमानदारीलाई
आफ्नो शरीर बनाएँ ।

यसैले जब लडाइँ हुनेछ–
मैदान बराबर हुनेछैन ।
तिमी आफ्नै अपराधहरूले
घेरिएका हुनेछौ,
र म आफ्ना कर्महरूसँग
अडिग उभिनेछु ।

किनकि जो मेहनत, मानवता र निष्ठासँग लड्छ
ऊ कुनै मानिससँग होइन,
आफ्नै भविष्यसँग लड्छ ।

र यस्ता लडाइँहरूमा
जित कहिल्यै तिम्रो हुँदैन ।

ताजा खबर

सम्बन्धित खबर