
तिमी केसँग लड्नेछौ
मेरो मेहनतसँग ?
जो हथेलीका रेखाहरूमा
पसिनाको मसीले लेखिएको छ ।
कि मानवतासँग ?
जो लड्दै गरेकोलाई उठाउँछ,
र जित्दै गरेकोलाई
निहुरिन सिकाउँछ ।
कि निष्ठासँग ?
जो मौसमसँग बदलिँदैन,
न नाफा–नोक्सानको हिसाब जान्छ,
जो केवल निभाउन जान्छ–
अन्त्यसम्म, एक्लै भए पनि ।
कि मेरा कर्महरूसँग ?
जो कुनै होहल्ला नगरी
आफ्नो फल रोज्छन्,
र समयका हातमा
मेरो सत्य सुम्पिदिन्छन् ।
तिमी मसँग हरेक ठाउँमा लड्नेछौ–
कहिले मञ्चमा,
कहिले फुसफुसाहटहरूमा,
कहिले पिठ्युँ पछाडि
छोडिएका अधुरा कुराहरूको सहारामा ।
तर याद राख–
हरेक ठाउँमा हार तिम्रै हुनेछ ।
किनकि मेरो लडाइँ
कुनै व्यक्तिसँग होइन,
मेरो लडाइँ अन्यायसँग हो ।
र तिम्रो पराजय
मेरो शक्तिबाट होइन,
तिम्रै कर्मबाट जन्मिनेछ–
ती कर्म,
जुन तिमीले अन्धकारमा ग¥यौ
र सोचेऊ
अन्धकार सधैँ तिम्रै रहनेछ ।
तर अन्धकार
कसैको साथी हुँदैन
उज्यालोको सानो आहटमै
आफ्नो बाटो बदलिदिन्छ ।
मैले सत्यलाई हतियार बनाइनँ,
मैले सत्यलाई आफ्नो बानी बनाएँ ।
र बानीहरू त्यागिँदैनन्
समय आएपछि पहिचान बन्छन् ।
तिमी झूटलाई कवच ठानिरह्यौ,
र मैले इमानदारीलाई
आफ्नो शरीर बनाएँ ।
यसैले जब लडाइँ हुनेछ–
मैदान बराबर हुनेछैन ।
तिमी आफ्नै अपराधहरूले
घेरिएका हुनेछौ,
र म आफ्ना कर्महरूसँग
अडिग उभिनेछु ।
किनकि जो मेहनत, मानवता र निष्ठासँग लड्छ
ऊ कुनै मानिससँग होइन,
आफ्नै भविष्यसँग लड्छ ।
र यस्ता लडाइँहरूमा
जित कहिल्यै तिम्रो हुँदैन ।