
नीलम कार्की निहारिका नेपाली साहित्य जगतको परिचित नाम हो । सामाजिक तथा ऐतिहासिक विषयवस्तुमा उनको लेखन बेजोड छ । सन् १९९४ मा मौन जीवन उपन्यासबाट साहित्य लेखनमा पाइला टेकेकी उनको ‘नियतिको खेल’, ‘हवन’, ‘मस्तिष्क ज्वरो’, ‘नीलम कार्की निहारिकाका कविता’, ‘कागजमा दस्तखत’, ‘बेली’, ‘अर्की आइमाई’, ‘चीरहरण’, ‘योगमाया’, ‘४३ कथा’ कथासंग्रह, ‘द्रौपदी अवशेष’लगायतका कृति प्रकाशित छन् । उनको ‘चीरहरण’ उपन्यासले सन् २०१६ मा पद्मश्री साहित्य पुरस्कार र ‘योगमाया’ उपन्यासले सन् २०१८ मा मदन पुरस्कार प्राप्त गरेको थियो । उनी अहिले आफ्नो नयाँ उपन्यास राजमातामार्फत फेरि पाठकमाझ आउँदै छिन् । कर्मथलो अमेरिका बनाएकी साहित्यकार नीलम कार्की निहारिकासँग पुस्तक प्रकाशनका लागि नेपाल आएको समयमा मध्यान्ह दैनिकका लागि जानकी पाठकले गरेको कुराकानीको सम्पादित अंश :
अमेरिकाबाट पुस्तक बोकेर नेपाल आउनुभएको छ, कतिको उत्साहित हुनुहुन्छ ?
एकदम उत्साहित छु । डरसँगको उत्साहित छु । पाठकको अपेक्षाअनुसार गर्न सक्छु कि सक्दिनँ भन्ने छ । कवितामा भएको भए भर्खरै कविता पढेर पनि मेरो कविता कस्तो छ भन्ने कुरा पत्ता लगाउन सकिन्छ तर आख्यानमा एकदमै राम्रोसँग भिजेपछि मात्रै त्यसको प्रतिक्रिया पाउन सक्ने हुनाले अलि लामो डर रहन्छ ।
विदेशमा बस्नुहुन्छ, नेपालको ऐतिहासिक पृष्ठभूमिलाई समाएर पुस्तक लेखिरहनुभएको छ, कतिको गाह्रो हुन्छ ?
जहाँ बसेर लेखे पनि लेखन आफैंमा सजिलो काम पक्कै पनि होइन । ऐतिहासिक विषयवस्तुमा लेख्दाखेरि अध्ययन बढी चाहिन्छ । अब शिलालेखहरू पढेर मात्र गर्न सकिने होइन । मैले त सक्दिनँ । मैले इतिहासविद्हरूले लेखेको पुस्तकलाई आधार बनाएर लेख्ने हो । केही भूगोलको पनि अध्ययन गर्नुपर्ने हुन्छ । भूगोलको अध्ययन गर्न मैले तत् तत् ठाउँहरूमा पुगेर पुस्तकका लागि चाहिने विषयको खोजी गरेको छु । मलाई व्यक्तिगत रूपमा दिनेशराज पन्तले पुस्तक उपलब्ध गराएर धेरै ठुलो सहयोग गर्नुभएको छ । त्यसरी पुस्तक जम्मा गर्न सामग्री भेला पार्न चाहिँ गाह्रो हुन्छ ।
कच्चा पदार्थ लिएर गएर प्रशोधित पदार्थ हामीलाई दिनुभएको छ, तथ्य र कल्पनाको मिश्रण गर्दा के कुरामा बढी ध्यान दिनुहुन्छ ?
ऐतिहासिक कुरामा अलिकति बढी तथ्य हुन्छ अनि त्यसलाई कल्पना पनि मिसाउनुप¥यो । तथ्य र कल्पनालाई मिश्रण गर्न पक्कै गाह्रो हुन्छ । मैले मेरो आख्यानमा कथ्य कति उठाउने तथ्य कति उठाउने त्यसमा कथ्यको लेप कति लगाउने भन्ने कुरा पहिले नै तय गरेको हुन्छु । मैले उपन्यास धेरै तथ्यलाई नै टेकेर लेखेको छु ।
शताब्दी–शताब्दी नै जोड्नुभएको छ, कति समय लाग्यो तपाईंलाई राजमाता उपन्यास लेख्नलाई ?
मैले सोच बनाएको २०१८ सालमा हो । त्यतिबेला मैले केही पुस्तक भेला पारेर अमेरिका फर्कें । म नेपालमै आएको बेलामा आमाले यसमा लेख भन्नुभयो । त्यसपछि मैले कति सकिन्छ सामग्रीहरू खोजी गरेकी थिएँ । त्यतिबेला मैले जुनजुन भेटिन्छ त्यो किताब बोकेर गए । अमेरिका फर्किंदा त दुई सुटकेस कितबहरू मात्र थिए । तर तथ्य टिप्न ती किताब अपर्याप्त भए । मैले फेरि किताबहरू मगाउन सुरु गरे । पढ्दै जाँदा कोभिड सुरु भयो । कोभिड सुरु भइसकेपछि म रोकिनुप¥यो । त्यसबीचमा मैले अर्को उपन्यास द्रौपदी अवशेष लेखें ।
अनि त्यसपछि मैले निरन्तर पढेर लेख्न सुरु गरे । मैले फेसबुकमा स्टाटस नै लेखेको रहेछु, म आजदेखि यो उपन्यास लेख्दै छु भनेर । कति समय लाग्यो भनेर वर्षको मापनभन्दा पनि हामीले कति घण्टा कति समय दिएका छौं भन्ने हुन्छ । मैले अहिले पछिल्लो समय ७-८ घण्टा कम्तीमा पनि दिएको छु । म बाहिरको जागिरे जीवनमा नभएको हुनाले घरबाट उभ्रेको समय मैले सम्पूर्ण रूपमा जागिरजस्तै गरी मैले पुस्तकलाई दिएको छु । म मदन पुरस्कारका लागि नेपाल आएको थिएँ । अनि मदन पुरस्कार प्राप्त गरिसकेपछि त्यसको केही दिनपछि मेरो आमाले मलाई यो विषयमा लेख्न सुझाउनुभएको हो । आमाहरूको योगदान नभईकन छोराहरू त्यसरी शासक भएका छैनन् । उनीहरूको पछाडि आमाको हात छ । अनि त्यस्ता आमाहरूलाई केलाएर सत्यतथ्य पत्ता लगाएर अब अर्को उपन्यास लेख भनेर आमाले भनेपछि राजमाता लेखेको हो ।
चीरहरणमार्फत तपाईंले महाभारतलाई प्रश्न गर्नुभएको छ द्रौपदीलाई अगाडि सारेर । योगमायामा पनि त्यस्तै नै भयो । राजमातामा पनि त्यस्तै हो । महिलालाई केन्द्रमा राखेर सिर्जनाहरू हुँदैनन् भन्ने तपाईंको विरोध हो ?
त्यस्तो विरोध त होइन । धेरै पुरुषका कलमले पनि महिला लेखिएका छन् । हामी पनि लेखिरहेका छौं तर लेख्नुपर्ने विषय उठाउनुपर्ने विषय धेरै छन् । केही उठ्दै गएका छन् । अरू साथीहरूले, बहिनीहरूले पनि लेख्दै जानुभएको छ । मभन्दा अग्रजहरू, पुरुषहरू उहाँहरूले पनि लेख्दै जानुभएको छ । लेख्ने विषयहरू तमाम छन् । तर तुलनात्मक रूपमा कम लेखिएका भने पक्कै हुन् ।
महिला साहित्यकारहरू छायामा परेका छन् भन्ने गरेको सुनिन्छ, महिलालाई साहित्यकार मान्न गाह्रो भएको हो ?
हामी संख्यात्मक रूपमा अहिलेसम्म मदन पुरस्कार प्राप्त गर्ने हामी चार जना मात्रै महिला छौं । पारिजात, झमक कुमारी, राधा र मैले प्राप्त गरेको छु । मदन पुरस्कार पाउने साहित्कार मात्र गनिनुपर्छ भन्ने हैन फेरि । महिला हाँसेको र बोलेको मन नपराउने हाम्रो समाजले साहित्यकारलाई मात्र मन पराउँछ भन्ने पनि हुँदैन । अहिले अलि सहज भएको छ ।
इतिहासमा महिलाले गरेको विद्रोह प्रस्ट देखिन्छ । तर चर्चा र सम्मानका हिसाबले अलि पछाडि राख्न खोजिएको जस्तो देखिन्छ नि ?
हजुर, जस्तै मैले उठाएका नारी पात्र पनि विद्रोहका प्रतीक नै हुन् । आजको समयमा योगमायाको हिम्मत र समपर्णलाई मानिसहरूले कम सोचेको जस्तो त लाग्दैन । चीरहरण, द्रौपदी अवशेष र आउँदै गरेको राजमाता पनि एकप्रकारको विद्रोहकै प्रतीक हो । योगमाया त नेपाली नारीको जीवनमा र समाजमा क्रान्ति ल्याउन खोज्ने समग्रता नै हो । हुलाक टिकटमा नाम टासेर, पाठ्यक्रममा उहाँको बारेमा राखेर मात्र उहाँप्रति सम्मान गरेको हुँदैन । राज्यले सम्मान गर्न खोज्नु केही हदसम्म राम्रो भए पनि उहाँप्रतिको सम्मान त्यतिबेला हुन्छ जतिबेला उहाँले उठाएका चारबुँदे मागका विषयमा गहन छलफल हुन्छ । विभेद र भ्रष्टाचाररहित समाजको निर्माण नै योगमायाप्रतिको सच्चा सम्मान हुन्छ । त्यस्तै, अन्य नारी पात्र जसले जीवनमा समाज र राष्ट्र परिवर्तनका लागि आफ्नो ज्यान दिएका छन् तिनका बारेमा कम चर्चा भएका पक्कै हुन् । राज्य चलाउने राजाको कुरा हुन्छ तर राजालाई त्यो आधार बनाएर पारिवारिक व्यवस्थापन गर्ने राजमाताहरूको कुनै चर्चा हुँदैन । त्यस्तै राजमातालाई पर्दामा मात्र सीमित राख्नुहुँदैन भनेर मैले राजमाता लेखेको हुँ । अझै खोजिने र लेखिने क्रम जारी छ । अरूले पनि लेख्न थाल्नुभएको छ यस्ता विषयमा लेखिनुपर्छ भन्ने लाग्छ ।
महिलालाई केन्द्रमा राखेर पुस्तक लेख्ने प्रेरणा कहाँबाट पाउनुभयो ?
लेख्ने प्रेरणा त मैले मेरो आमाबाट पाएको हो । म सानै थिएँ । सानै भन्नाले अलिकति चेतना भइसकेको तर अलि परिपक्व नभएको । स्कुल जाँदै गर्दा बाटोमा साथीहरूसहित मज्जाले हाँस्दै गइरहेका थियौं । हाम्रो गाउँमा एक जना प्रधानपञ्च हुनुहुन्थ्यो । हामी हाँसेको देखेर तिमीहरू केटी मान्छे भएर यसरी हाँस्ने ? द्रौपदी हास्नाले त्यत्रो महाभारत भयो । केटी मान्छे त्यसरी हाँस्न मिल्छ ? भनेर प्रश्न गर्नुभयो । मलाई त्यो कुरा मनमा गडेको थियो । लगभग १२ वर्षको उमेर थियो होला उहाँको कुराले मलाई हाँस्न पनि डर लाग्ने भएको थियो । मलाई महाभारतको कथा आमाले बच्चा बेलादेखि सुनाइराख्नुभएको थियो त्यो कारण पनि म अलि प्रभावित भए । म नर्सिङ पढ्दै गर्दा एउटा आमाले आफ्नो बच्चा झाडीमा फालेको घटनाले मलाई बेस्सरी घोचेको थियो । के कारण आमाहरू यस्तो विवश हुन्छन्, आफू बाँच्न आफ्नो बच्चा त्याग्नुपर्ने अवस्थाको सिर्जना कसरी हुन्छ ? भन्ने कुराले मलाई बेलाबेला शिथिल गराउँथ्यो । श्रीमानको शवसँगै महिलाले जिउँदै जल्नुपर्ने समाजको कठोर नियमले महिलामाथि साँच्चै अन्याय भएको छ जस्तो लाग्थ्यो । विधवा अथवा सम्बन्धविच्छेद गरेका महिलामाथि समाजले हेर्ने नजर अझै पनि सकारात्मक छैन । यो कुरामाथि आवाज उठाउनुपर्छ भन्ने लागेर मैले महिलाका विषयमा लेख्न थालेको हो ।
लेख्दा लेख्दै कहिलेकाहीँ पात्रसँगै रुनुभएको छ ?
रुन्छु । कहिलेकाँही दुई चार दिनसम्म पनि आफैं पीडामा भइन्छ । लेखकले फरकफरक पात्र बाँच्न पाउँछ । म मात्रै भन्दिनँ हरेक लेखक पात्रसँग धड्किएर बाँचेको हुन्छ । परिवारमा बोल्दा जुन लबजमा पात्र बोल्छन् त्यही लबजमा बोलिने पनि हुन्छ । मैले आफूले लेखेका पुस्तकका हरेक पात्रको जीवन बाँचेको छु । उनीहरूको पीडा महसुस गरेको छु ।
ऐतिहासिक विषयवस्तु भएका पुस्तक अलि कम बजारमा आउँछन् । लेखकहरू अल्छी भएका हुन् कि पाठकलाई रुचि नभएको ?
पाठकहरूलाई एकदमै रुचि छ जस्तो लाग्छ मलाई । लेखक अल्छी भएको पनि होइन होला तर सामाजिक विषयवस्तु टिप्दाटिप्दै ध्यान नपुगेको हुन सक्छ । मैले पनि ११ वटा किताब लेख्दासम्म राजमाता लेख्नुपर्छ भन्ने ध्यान पुगेको थिएन नि त । लेख्नुपर्छ भनेर ध्यान पुगे पनि परिस्थिति नमिलेको हुन सक्छ । मैले ५१ सालमा द्रौपदीको विषयमा सोचेको भए पनि ७२ सालमा आएर प्रकाशित भयो । हाम्रा आख्यानकारहरूसँग त्यो प्रकारको लामो समय नभएको पनि हुन सक्छ ।
पछिल्लो समय पुस्तक समालोचक अथवा समीक्षक पूर्वाग्रही भएर लेख्न थाले भन्ने गरिछ, के साँच्चै त्यस्तै हो त ?
मैले पुस्तक लेखिसकेपछि त्यो मेरो मात्र हुँदैन । हरेक समालोचक र समीक्षक अथवा पाठकको पनि आ–आफ्नो दृष्टिकोण हुन्छ । बुझाई फरक भएर कहिलेकाहीँ आफूले सोचेर लेखेको भन्दा फरक तरिकाले व्याख्या भएको हुन सक्छ । मेरो कालो बिरालो भन्ने कथा छ । जुन कथा मलाई मन पर्ने कथा मै पर्छ । त्यो राजनीतिक विषयमा लेखिएको कथा थियो तर समालोचकले पुरै उल्टो अर्थ लाग्ने गरेर समालोचना गरिदिनुभएको थियो । फरक बुझाइ हुनु र पूर्वाग्रह राख्नु फरक कुरा हुन् फेरि । आग्रह पूर्वाग्रह लेखक, समालोचकले राख्नुहुँदैन । जसरी लेखेको छ त्यसैगरी बुझिदिनुभयो भने साह्रै आनन्द आउँछ ।
अन्त्यमा ?
समग्रमा हामीले धेरै नै कुरा गरिसक्यौं, अब मेरो पुस्तक राजमाता आउँदै छ । मैले अलि लामै समय लगाएर अलि धेरै दुःख गरेर लेखेको पुस्तक हो । इतिहासभित्र पस्न मलाई सजिलो थिएन । एउटा गोताखोरको भूमिका जस्तो निभाएको छु । मैले अहिलेसम्म मेरो पुस्तक पढिदिनुहोस् भनेर अनुरोध गरेको थिएन । राजमाता चाहिँ पढिदिनुस् है भनेर अनुरोध गर्छु म । नेपालको इतिहास केही हदसम्म भए पनि बुझ्न यो पुस्तक सहयोगी बन्नेछ ।