
‘राजनीतिक प्रयोगशाला’ भन्ने धारणा त्यतिबेला जन्मिन्छ, जब नागरिकले सत्ता प्रक्रियालाई स्वाभाविक प्रतिस्पर्धा होइन, अदृश्य प्रभावहरूको खेलझैँ अनुभव गर्न थाल्छन् । यस्तो अनुभूति कुनै एक देशमा सीमित छैन; संक्रमणकालीन लोकतन्त्र भएका धेरै समाजमा यो समान रूपमा देखिन्छ । जनशास्त्रीय रूपमा हेर्दा, यो विश्वास संकट, शक्ति असन्तुलन र सूचना संरचनाको रूपान्तरणसँग अभिन्न रूपमा गाँसिएको हुन्छ ।
‘डिपस्टेट’ शब्द सामान्यतया औपचारिक सरकारभन्दा बाहिर रहेका स्थायी शक्ति सञ्जालहरूलाई जनाउँछ– जस्तै सुरक्षा संरचना, नौकरशाही, आर्थिक हित समूह वा अन्तर्राष्ट्रिय रणनीतिक प्रभावहरू । जनशास्त्रीय दृष्टिले, कुनै पनि राज्यमा औपचारिक सत्ता र अनौपचारिक प्रभावबिच अन्तक्र्रिया हुनु अस्वाभाविक होइन । समस्या त्यतिबेला गहिरिन्छ, जब नागरिकले निर्णय प्रक्रियामा पारदर्शिता नदेखी ‘निर्णय कतै अरू नै हुँदैछ’ भन्ने अनुभूति गर्न थाल्छन् । यस्तो अनुभूति तथ्य, अनुभव र कहिलेकाहीँ अफवाहको मिश्रणबाट बनिन्छ, जसले राजनीतिक मनोविज्ञानलाई तीव्र बनाउँछ ।
‘प्रोक्सीवार’ आधुनिक शक्ति राजनीतिमा प्रायः प्रत्यक्ष युद्धभन्दा अप्रत्यक्ष प्रभाव, वैचारिक प्रतिस्पर्धा र रणनीतिक संलग्नताको रूपमा देखिन्छ । साना वा रणनीतिक रूपमा संवेदनशील राष्ट्रहरूमा विभिन्न शक्ति केन्द्रहरूले वैचारिक, कूटनीतिक वा आर्थिक माध्यमबाट प्रभाव जमाउने प्रयास गर्नु विश्वव्यापी यथार्थ हो । तर जनशास्त्रले एउटा महत्वपूर्ण चेतावनी दिन्छ– हरेक आन्तरिक द्वन्द्व वा अस्थिरतालाई बाह्य षड्यन्त्रको मात्र परिणाम मान्नु समाजभित्रका संरचनागत कारणहरूलाई ओझेलमा पार्न सक्छ । आन्तरिक असन्तुलन, दलगत प्रतिस्पर्धा, संस्थागत कमजोरी र आर्थिक असमानता पनि उत्तिकै निर्णायक हुन्छन् ।
डिजिटल प्लेटफर्महरूले यो समीकरणलाई झन् जटिल बनाएका छन् । सूचना प्रवाहको लोकतान्त्रीकरणसँगै ध्यान– अर्थतन्त्र राजनीति निर्धारण गर्ने नयाँ शक्ति बनेको छ । सामाजिक सञ्जालमा सत्य, आधा–सत्य र भ्रम एउटै गतिमा फैलिन्छन् । ‘एल्गोरिदम’ले भावनात्मक, ध्रुवीकरण गर्ने वा सनसनीपूर्ण सामग्रीलाई प्राथमिकता दिन्छ, जसले नागरिक चेतनालाई स्थिर विचारभन्दा क्षणिक प्रतिक्रियामा केन्द्रित गरिदिन्छ । जनशास्त्रीय रूपमा यो डिजिटल भीड–मनोविज्ञान हो, जहाँ धारणा र वास्तविकताबिचको दूरी बढ्छ ।
डिपस्टेटको धारणा, प्रोक्सीवारको बहस र डिजिटल प्रभाव– यी तीनै तत्वले एउटा साझा मनोवैज्ञानिक वातावरण बनाउँछन्– अनिश्चितता र अविश्वास । नागरिकले देख्ने राजनीति औपचारिक प्रक्रिया जस्तो देखिए पनि, अनुभव गर्ने राजनीति अदृश्य शक्ति सन्तुलनको खेलझैँ लाग्न थाल्छ । यस्तो अवस्थामा प्रत्येक घटना सजिलै ‘खाका’, ‘निर्देशन’ वा ‘इशारा’ का रूपमा व्याख्या गरिन्छ । जनशास्त्र भन्छ– यो धारणा स्वयं सामाजिक यथार्थको हिस्सा बन्छ, चाहे यसको सबै पक्ष प्रमाणित नभए पनि ।
तर दीर्घकालीन दृष्टिले निर्णायक प्रश्न सधैं संस्थामा फर्किन्छ । यदि संस्थाहरू विश्वसनीय, पारदर्शी र उत्तरदायी छन् भने बाह्य प्रभाव वा अनौपचारिक शक्ति सञ्जालले सीमित प्रभाव मात्र पार्छ । यदि संस्थागत भरोसा कमजोर छ भने सानो घटना पनि विशाल षड्यन्त्र जस्तो अनुभूत हुन्छ । यसैले ‘प्रयोगशाला’को अनुभूति प्रायः राजनीतिक संरचना र सामाजिक विश्वासबिचको दूरीको सूचक हुन्छ ।
समाधानको जनशास्त्रीय सूत्र बाह्य कारकको निरन्तर दोषारोपणमा होइन, संस्थागत विश्वसनीयता, सूचना साक्षरता र नीति–केन्द्रित राजनीतिक संस्कारमा निहित हुन्छ । जबसम्म राजनीति छवि, अफवाह र ध्रुवीकरणको चक्रमा घुमिरहन्छ, तबसम्म प्रयोगशालाको अनुभूति मेटिँदैन । देशको स्थायित्व अन्ततः अदृश्य शक्ति बहसभन्दा अघि दृश्य संस्थागत परिपक्वतामा निर्भर हुन्छ ।