२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

कथा : उचाइको मापन

shivam cement
समर शर्मा
२०८२ फागुन २ गते ०६:१०
Shares
कथा : उचाइको मापन

माघको अन्तिम साता थियो । पहाडी जिल्लाको सानो बजार ‘सिमखोला’ बिहानैदेखि असामान्य रूपमा चहलपहलपूर्ण थियो । गाउँपालिकाले आज ‘विकास महोत्सव’ आयोजना गरेको थियो । रंगीन गेट बनाइएका थिए, माइकबाट देशभक्तिका गीत घन्किरहेका थिए र चौकमा ठूला–ठूला होर्डिङ टाँसिएका थिए– समृद्ध सिमखोला, हाम्रो सपना ।

अरुण धेरै वर्षपछि आफ्नो गाउँ फर्किएको थियो । सहरमा इन्जिनियरिङ पढेर ऊ केही दिन बिदामा आएको थियो । बजारको परिवर्तन देखेर ऊ छक्क परेको थियो– नयाँ भवन, कालोपत्रे सडक, क्याफे, बैंक । तर उसको मन कताकता खाली जस्तो थियो ।

चौकमा उसले आफ्नो पुरानो साथी मिलनलाई भेट्यो । मिलन अहिले गाउँपालिकामा कार्यरत थियो । टल्किने कोट, छातीमा परिचयपत्र, हातमा मोबाइल– उसको चालढाल बदलिएको थियो ।

‘कस्तो लाग्यो हाम्रो गाउँ ? अब त सहरलाई टक्कर दिन्छ नि !’ मिलनले गर्वका साथ सोध्यो ।

अरुण मुस्कुरायो, ‘बाहिरबाट हेर्दा त राम्रै छ ।’

उनीहरू कार्यक्रमतर्फ लागे । मञ्चमा नेताहरू पालैपालो भाषण दिइरहेका थिए । कसैले नयाँ भवनको चर्चा गर्थे, कसैले बजेटको । तालिका अनुसार ‘गाउँका उत्कृष्ट व्यक्तित्व’लाई सम्मान गर्ने कार्यक्रम पनि थियो ।

पहिलो सम्मान एक ठूला व्यापारीलाई दिइयो– उनले बजारमा तीन तले घर बनाएका थिए । दोस्रो पुरस्कार एक नेताका नजिकका मान्छेलाई– उनी ‘सामाजिक अभियन्ता’ घोषित भएका थिए । तेस्रो सम्मान मिलनलाई नै– ‘युवा परिवर्तनकारी’को उपाधि ।

ताली बजिरहँदा अरुणको नजर मञ्चभन्दा टाढा, खोल्साको किनारतिर गयो । त्यहाँ एक वृद्धा बुढी आमा ढुङ्गामा बसेर भीड हेरिरहेकी थिइन् । उनको नाम सीता आमा थियो । गाउँका धेरै बालबालिका उनको सानो झुपडीमा गएर पढेका थिए । उनले वर्षौंदेखि निःशुल्क अक्षर सिकाउँदै आएकी थिइन् । उनको आफ्नै सन्तान थिएन, तर सारा गाउँका बालबालिका नै उनका सन्तानजस्ता थिए ।

अरुण सानो हुँदा पनि सीता आमाले नै उसलाई अक्षर चिनाएकी थिइन् । कार्यक्रम सकिएपछि अरुण सीता आमातिर गयो ।

‘आमा, तपाईं यहाँ एक्लै ? तपाईंलाई त सम्मान गर्नुपर्ने हो नि आज,’ उसले नम्र स्वरमा भन्यो ।

सीता आमा हल्का हाँसिन्, ‘मलाई के सम्मान बाबु ? म त जे जानेँ, त्यही सिकाएँ ।’

‘तर तपाईंले त धेरैलाई पढ्न सिकाउनुभयो ।’

‘पढ्न सिकाउनु ठूलो कुरा होइन बाबु,’ उनले बिस्तारै भनिन्, ‘मान्छे राम्रो बन्न सिक्यो कि सिकेन, त्यो ठूलो कुरा हो ।’

त्यत्तिकैमा मिलन पनि त्यहाँ आइपुग्यो । उसले औपचारिक हाँसो हाँस्दै भन्यो, ‘आमा, तपाईंलाई पनि अर्को वर्ष सूचीमा राख्छौँ है । यसपालि प्रक्रिया मिलेन ।’

सीता आमाले केही भनिनन् । उनले खोल्सातिर हेर्दै मात्र भनिन्, ‘सूचीमा नाम चढेपछि मात्र मान्छे ठूलो हुँदैन बाबु । मन ठूलो भए पुग्छ ।’

त्यो साँझ अचानक पानी प¥यो । पहाडमा परेको झरीले माथिको अधबनेको सडक भत्कायो । खोल्सामा पानीको बहाव बढ्यो । बजार नजिकैको झुपडी बग्ने खतरा भयो ।

सीता आमाको झुपडी त्यही किनारमा थियो । भीड जम्मा भयो । सबै हेरे, कुरा गरे, मोबाइलमा भिडियो खिचे । तर पानीभित्र पस्ने आँट कसैले गरेन ।

अरुण दौडियो । मिलन पनि पछि लाग्यो । दुवैले मिलेर झुपडीभित्र रहेका किताब र थोरै सामान बाहिर निकाले । अरू दुई–चार युवाले पनि साहस गरे । केहीबेरमा झुपडीको आधा भाग बग्यो, सीता आमा सुरक्षित थिइन् ।

भोलिपल्ट बजारभरि यही घटनाको चर्चा थियो । सामाजिक सञ्जालमा तस्बिरहरू राखिए– ‘युवाहरूको साहस’ भन्दै ।

तर अरुणको मनमा भने अर्कै कुरा चलिरहेको थियो । उसले हिजो मञ्चमा पाएको ताली सम्झियो र खोल्साको किनारमा बसेकी वृद्धा सम्झियो ।

केही दिनपछि अरुण सहर फर्कनुअघि गाउँपालिकामा गयो । उसले प्रस्ताव राख्यो– ‘सीता आमाका लागि सुरक्षित घर बनाऔँ । अनि त्यो घरलाई सानो सामुदायिक पुस्तकालय बनाऔँ ।’
मिलन केही बेर चुप लाग्यो । त्यसपछि भन्यो, ‘यो काम भाषणभन्दा ठूलो रहेछ ।’

दुई महिनापछि खोल्साको किनारमा सानो तर बलियो घर ठडियो । ढोकामाथि सानो बोर्ड टाँसियो– ‘सीता सामुदायिक पुस्तकालय’ ।

उद्घाटनका दिन कुनै ठूला ब्यानर थिएनन्, न त मञ्च । सीता आमाले मात्रै भनिन्, ‘घर ठूलो भएर होइन बाबु, भित्रको सोच ठूलो भएर गाउँ अगाडि बढ्छ ।’

त्यस दिन अरुणले बुझ्यो– मान्छेको उचाइ मञ्चको सिँढीले होइन, उसले अरूका लागि झुकेको क्षणले नापिन्छ ।

सिमखोलाको बजार अझै बढ्दै थियो । भवनहरू अग्लिँदै थिए । तर गाउँका बालबालिकाको आँखामा चम्किएको उज्यालो भने त्यो सानो पुस्तकालयबाट फैलिन थालेको थियो । र, त्यही उज्यालो नै साँचो विकास थियो ।

ताजा खबर

सम्बन्धित खबर