
एकातिर सरकारी सेवाको गहन जिम्मेवारी, अर्कोतिर सिर्जनाको अथाह भोक । दिनभर कार्यालयका फाइल र प्रशासनिक काममा व्यस्त रहने हातहरू जब फुर्सद पाउँछन्, तब तिनले कलम समाउँछन् र कोरिन थाल्छन्– कविता, गजल अनि मुक्तकहरू । ‘नेपाल विद्युत् प्राधिकरण’का प्रशासकीय अधिकृत भए पनि चेतनाको उज्यालो बाँड्ने एक कुशल सर्जकको नाम हो विष्णु आचार्य ‘अतृप्त’ । उनको स्थायी मुकाम नुवाकोट हो ।
२०३० साल पुस ५ गते नुवाकोटको विदुर–५, माझी टारमा पिता स्व. पुष्पनाथ आचार्य र माता रमादेवी आचार्यको कोखबाट जन्मिएका विष्णु आचार्यको साहित्यिक नाम ‘अतृप्त’ हो । नुवाकोटको माटोमा बाल्यकाल बिताएका आचार्य हाल काठमाडौँको तारकेश्वर–२, जरङ्खुमा बसोबास गर्दै आएका छन् ।
नेपाली विषयमा एम.ए., बि.एड. तथा एम.पि.ए.सम्मको उच्च शैक्षिक योग्यता हासिल गरेका आचार्यको अनुभवको दायरा फराकिलो छ । उनले आफ्नो कर्मको सुरुवाती चरणमा सुभेनियर बोर्डिङ स्कुल र पाइनियर अंग्रेजी आवासीय मा.वि. मा शिक्षण पेसा गरेका थिए । त्यति मात्र नभई नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा आंशिक प्राध्यापन गरेर प्राज्ञिक क्षेत्रमा पनि आफ्नो छाप छोडेका विष्णु नेपाली साहित्यका युवा प्रतिभा हुन् ।
विभिन्न विद्यालयको व्यवस्थापन समितिमा रहेर समेत शैक्षिक नेतृत्व प्रदान गरेका अतृप्त हाल नेपाल विद्युत् प्राधिकरणमा प्रशासकीय अधिकृत (सातौँ तह)मा कार्यरत छन् ।
पेसाले प्रशासक भए पनि विष्णुको मन भने साहित्यमै रमेको छ । उनका रचनाहरू रातोपाटी, सेतोपाटी, साहित्य पोस्ट जस्ता चर्चित अनलाइन तथा विद्युत्, ज्योति, वैजयन्ती, शब्दसंयोजन लगायतका दर्जनौँ पत्रपत्रिकामा प्रकाशित भइरहन्छन् ।
आफ्नो कार्यक्षेत्र (नेपाल विद्युत् प्राधिकरण)भित्र पनि उनी एक अब्बल कविका रूपमा परिचित छन् । प्राधिकरण स्तरीय खुला कविता प्रतियोगितामा २०७० सालमा प्रथम, २०६२ मा द्वितीय र २०६१ मा तृतीय स्थान हासिल गरेका उनी निरन्तर साहित्य साधनामा साधनारत छन् । समग्रमा, विष्णु आचार्य ‘अतृप्त’ पेसागत धर्म र सिर्जनात्मक कर्मलाई सँगसँगै डोहोर्याउने एक अथक साधक हुन् भन्दा फरक पर्दैन । उनको हालै कविता संग्रह घर फर्कने तिर्खा प्रकाशित भएको छ । यस संग्रहमा ४९ वटा कविता संग्रहित छन् ।
विष्णु आचार्यका कविताहरू दिग्भ्रमित मानिसहरूका कहानी जस्ता लाग्छन् । उनका कविताहरूमा भरभराउँदो, ज्युँदो र हस्तक्षेपकारी बिम्बहरू अटाएका छन् । मानवको मनको भित्री तहसम्म प्रवेश गर्न सक्ने भावहरू उनका कवितामा अभिव्यक्त भएका छन् । ग्रामीण बोलीचालीमा आउने मीठा शब्दहरूदेखि लिएर आध्यात्मिक र वैज्ञानिक शब्दहरू पनि प्रचुर मात्रामा प्रयोग भएका छन् । उनका कविता संग्रहको ‘परदेशीको पत्र’ शीर्षकको कविताको कवितांश हेरौँ –
म हिँडे अनि भन्छ्यौ
घरको ठाउँमा घर छैन
म उडेँ अनि भन्छ्यौ
पिपलछेउको बर छैन
भरी गाग्राको साइत सपना त थिएन नि हगि
बोहटाभरि दहीको सगुन भ्रम त थिएन नि हगि
(घर फर्कने तिर्खा, पेज २१)
नेपालमा प्राकृतिक विकटता एक समस्या हो । ‘कृष्णभीर, त्रिशूली र म’ शीर्षकको कवितामा यस कुरालाई कविले मार्मिक रूपमा प्रस्तुत गरेका छन् । यस कवितामा ग्रामीण परिवेशमा दुःखित भएर जिउनुपर्ने बाध्यतालाई काव्यिक ढंगले प्रस्तुत गरिएको छ, जुन निकै सान्दर्भिक छ ।
जीवन ब्रह्मनालमा छ
आस्थाका धरहराहरू
जिजीविषाका सगरमाथाहरू
आँखाको डिलैबाट खसेर
खण्डहरको अनुवाद भइरहेछन्
(घर फर्किने तिर्खा, पृ. २७)
उनका कविताहरूमा लाक्षणिक अर्थसँगै व्यञ्जनात्मक अर्थ भरिपूर्ण छन् । सर्सर्ती हेर्दा यिनका कविता अभिधात्मक लागे पनि भावमा पसेर हेर्दा त्यस्तो लाग्दैन । ‘बाघ बाहिरिएपछि’ शीर्षकको कविता ज्वलन्त उदाहरण हो ।
आखिर बाघ त
सरासर जंगलतिर गएर
फट्याङ्ग्राको शिकार पो गर्न थाल्यो
(घर फर्कने तिर्खा, पृ. ११२)
साँच्चिकै भन्ने हो भने उनका छोटा कविता निकै चोटिला र मार्मिक रहेको पाउँछौँ । यसको उदाहरणका रूपमा ‘मित्रता’ कवितालाई लिन सकिन्छ । मित्रताको नाममा भएका समस्यालाई यस कवितामा व्यक्त गरिएको छ ।
कर गरी गरी
एक कप कफी खुवाउँछन्
र बदलामा
एक पाउन्ड रगत तानेर लान्छन्
म रक्त अल्पताको बिरामी
आजकाल
मित्रता धान्न मुश्किल पर्दै छ
(घर फर्कने तिर्खा, पृ. १०३)
उनका कविताहरू राष्ट्रियताका भावले ओतप्रोत छन् । प्राकृतिक, सांस्कृतिक, जनजीवन, ग्राम्य परिवेश, सहरको कोलाहल, मानिसका आन्तरिक मनको विरह आदिलाई प्रवाहमय बिम्ब प्रस्तुत गरिएको विष्णु आचार्य ‘अतृप्त’को कविता संग्रह घर फर्कने तिर्खा अरू कविता संग्रहभन्दा भिन्नै छ । शब्द सरल छ, भाव सरस छ । यिनका कवितामा मानवीय भावना प्रबल रूपमा आएका छन्, केही कवितामा पर्यावरण चेतनालाई नूतन ढंगले प्रस्तुत गरिएको छ । पर्यावरण चेतना आजको नेपाली साहित्यको एक नयाँ आविष्कार हो, जसलाई आचार्य जस्ता साहित्यकारले आफ्ना रचनामा सचेत ढंगले प्रयोग गरेका छन् ।
कृष्णदेव रिमालको प्रकाशकीयमा भनिएको छ –
‘मानवताको मैदानमा पोषणदायी फसल बनेर लहराइरहेका हुन्छन् उहाँका कविता । मान्छेका भाँचिएका मनलाई सीपको सियोले खिपेर मानव व्यवहारोचित भावहरू झुलाइरहेका छन्, यत्रतत्र स्खलित राष्ट्रियतालाई नयाँ पहिचान दिएका छन्, निर्जीव शब्दका शरीरमा भावहरूले आत्मवत् सजीवता भरेका छन् उहाँका कविताले । मान्छेका आला दुःख र सुकेका सुखलाई समन्वयात्मक रूपमा सजाउन सफल यस्ता कविहरू नेपाली साहित्यमा चम्किरहुन् !’ (घर फर्कने तिर्खा, प्रकाशकीय, पृ. ७)
उनको एउटा सानदार कवितांश हेरौँ –
चुलिँदै–चुलिँदै गएपछि
तिमीमा अहमको सगरमाथा
भुलिँदै–भुलिँदै गएपछि
पूर्वजको अमर गाथा
चिसो अगेनाको छेउमा टुक्रुक्क बसेर
सुस्केरा मिश्रित साउतीमय स्वरमा
भोगाइजन्य आत्मकथा सुनाउनबाहेक
अरू म के नै पो गर्न सक्छु र छोरा !
(घर फर्कने तिर्खा, पृ. ६८)
यस्ता सानदार कविताहरूले यो संग्रह भरिपूर्ण छ । विष्णु आचार्य अतृप्तको यस कविता संग्रह नेपाल विद्युत् प्राधिकरण अन्तर्गत विद्युतकर्मी साहित्य समाजले प्रकाशन गरेको हो ।