
हिन्दू धर्मको अनन्त आस्थाको प्रतीक महाशिवरात्रि र पशुपतिनाथ मन्दिर एकअर्कासँग अविभाज्य रूपमा जोडिएका छन् । फलतः शिवरात्रि भगवान् शिवको महान् रात्रि हो, जसलाई कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामका चार प्रमुख रात्रिमध्ये एक मानिन्छ । यो पर्व फागुन कृष्ण चतुर्दशीका दिन मनाइन्छ, जसलाई हिन्दू शास्त्रहरूमा व्रतोत्सवको राजा भनिन्छ । यस दिन उपवास, जागरण, शिवलिङ्गको अभिषेक र बेलपत्र चढाएर शिवको आराधना गरिन्छ ।
पशुपतिनाथ मन्दिर भने शिवको ‘पशुपति’ रूपको प्रमुख धाम हो । काठमाडौंको बागमती नदीको किनारमा अवस्थित यो मन्दिर युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत छ । यो क्षेत्र २४० हेक्टर जग्गामा फैलिएको छ र शैव, शाक्त, वैष्णव, बौद्ध लगायत विभिन्न सम्प्रदायका लागि समान आस्थाको केन्द्र हो । जबकि शिवरात्रिका दिन पशुपतिनाथमा लाखौं भक्तजनको घुइँचो लाग्छ, जसले यो मन्दिरलाई शिवरात्रिको केन्द्रबिन्दु बनाउँछ ।
शिवरात्रिको उत्पत्ति शिवपुराण, स्कन्दपुराण र अन्य धार्मिक ग्रन्थहरूमा वर्णित छ । धार्मिक शास्त्रहरूको अध्ययन गर्ने हो भने एउटा प्रमुख कथाअनुसार सृष्टिको आरम्भमा ब्रह्माबाट रुद्र रूपमा शिवको अवतरण यही रात्रिमा भएको थियो । यो दिनलाई शिवको जन्मरात्रि पनि भनिन्छ । यससँग सम्बन्धित एक प्रसिद्ध कथा चित्रभानु नामक शिकारीको छ । पूर्वकालमा चित्रभानु जङ्गलमा शिकार गर्दै थिए । साँझ सूर्य अस्त भएपछि ऊ बेलको वृक्षमुनि बस्यो, जहाँ शिवलिङ्ग रहेको थियो । उसले अनजानेमा बेलपत्रहरू शिवलिङ्गमाथि झार्यो र रातभर जागरण ग¥यो । अर्को दिन मृत्यु भएपछि शिवको कृपाले उसले स्वर्ग प्राप्त ग¥यो । यो कथाले सिकाउँछ कि अनजानमा पनि शिवको आराधना गर्दा मोक्ष प्राप्त हुन्छ ।
त्यसरी नै अर्को कथा समुद्रमन्थनसँग जोडिएको छ । देव र असुरले अमृत प्राप्त गर्न समुद्रमन्थन गर्दा कालकूट विष निस्कियो । संसारलाई विनाशबाट बचाउन शिवले उक्त विष पिए र नीलकण्ठ बने । यो घटना शिवरात्रिकै दिन भएको मानिन्छ । विष पिएर शिवले संसारको कल्याण गरेकाले यो दिनलाई कल्याणकारी रात्रि पनि भनिन्छ । त्यस्तै शिव र पार्वतीको विवाह पनि शिवरात्रिसँग जोडिएको छ । पार्वतीले शिवलाई पतिरूपमा प्राप्त गर्न कठोर तपस्या गरिन् र त्यसकै फलस्वरूप यही रात्रिमा उनीहरूको विवाह भएको विश्वास गरिन्छ । महिलाहरूका लागि यो दिन विशेष महत्व राख्छ । अविवाहित कन्याहरू असल पतिको कामना गर्छन् भने विवाहित महिलाहरू पतिको दीर्घायुको प्रार्थना गर्छन् । शिवपुराणमा उल्लेख छ– शिवरात्रिव्रतं कृत्वा सर्वपापैः प्रमुच्यते अर्थात् शिवरात्रिको व्रत गरे सबै पापबाट मुक्ति मिल्छ । यस दिन “ॐ नमः शिवाय” मन्त्र जप, रुद्राभिषेक तथा महामृत्युञ्जय मन्त्रको जप विशेष फलदायी मानिन्छ । नेपालमा शिवरात्रिलाई राष्ट्रिय पर्वका रूपमा मनाइन्छ, जसले हिन्दू एकताको प्रतीकका रूपमा समेत स्थान पाएको छ ।
पशुपतिनाथ मन्दिरको इतिहास हजारौं वर्ष पुरानो मानिन्छ । यो काठमाडौं उपत्यकाको प्राचीनतम धार्मिक स्थलमध्ये एक हो । गोपालराज वंशावलीअनुसार लिच्छवी राजा सुपुष्पदेवले यो मन्दिर निर्माण गरेका थिए (वि.सं. पूर्व ४५३) । पछि मल्ल राजाहरूले यसको पुनर्निर्माण गरे । भूपेन्द्र मल्लले वि.सं. १७५४ मा यसलाई अहिलेको स्वरूप दिएका थिए ।
पौराणिक किंवदन्तीअनुसार शिव र पार्वती काठमाडौं उपत्यकामा हरिण रूप धारण गरी आए । उनीहरू बागमती किनारको जङ्गलमा रमाए । देवताहरूले शिवलाई चिनेर समात्न खोज्दा शिव भागे र त्यस क्रममा उनको एउटा सिङ भाँचियो । त्यही सिङ शिवलिङ्गका रूपमा स्थापित भई पशुपतिनाथको उत्पत्ति भएको विश्वास गरिन्छ । अर्को कथाअनुसार एउटा गाईले दैनिक रूपमा एउटै स्थानमा दूध खसालेर लिंगको स्थान देखाएको थियो ।
यो मन्दिर २७५ शिवस्थलमध्ये एक भएकाले यसको विश्वव्यापी महत्व रहेको छ । नेपाल मात्र होइन, भारत, श्रीलंका, जापान लगायतका देशहरूबाट पनि भक्तजनहरू यहाँ दर्शन गर्न आउने गर्छन् । पशुपतिनाथको सबैभन्दा ठूलो विशेषता यसको पाँचमुखी स्वरूप हो । चार दिशातर्फ चार मुख र माथितर्फ पाँचौं मुख रहेको छ । प्रत्येक मुखले भिन्न–भिन्न दिशा र तत्त्वको प्रतिनिधित्व गर्दछ । पहिलो, पूर्वतर्फ फर्किएको मुख ‘तत्पुरुष’ हो, जसले सृष्टिको प्रतीकात्मकता बोकेको छ । दोस्रो, दक्षिणतर्फ फर्किएको ‘अघोर’ मुख संहार र क्रोधको प्रतीक मानिन्छ, जसले निर्भयताको भाव पनि जनाउँछ । तेस्रो, पश्चिमतर्फ रहेको ‘सद्योजात’ मुख पुनर्जन्म र नवीकरणको प्रतीक हो । चौथो, उत्तरतर्फ रहेको ‘वामदेव’ (अर्धनारीश्वर) मुख शिव–पार्वतीको एकत्वको प्रतीक हो । पाँचौं, माथितर्फ रहेको ‘ईशान’ मुख सबैभन्दा गोप्य र श्रेष्ठ मानिन्छ । यो निराकार स्वरूप हो र ब्रह्माण्डीय चेतनाको प्रतिनिधित्व गर्दछ । यही पशुपतिनाथको सर्वोच्च तत्व मानिन्छ ।
समग्रमा भन्नुपर्दा शिवरात्रि र पशुपतिनाथको महिमा असीम छ । यो पर्व र धामले हामीलाई शिवको कृपामा बाँच्न प्रेरित गर्छ । उपवास, जागरण र भक्तिले जीवनलाई पवित्र बनाउँछ । पशुपतिनाथले नेपाललाई विश्वमा चिनाएको छ । यहाँ आउने हरेक भक्तले आध्यात्मिक शान्ति अनुभूत गर्छन् । त्यसैले यस दिन “हर हर महादेव” को जयघोष गुन्जिन्छ । अन्त्यमा, शिवरात्रिको यस पावन अवसरमा सबैमा भगवान् शिवको कृपा र आशीर्वाद प्राप्त होस् ।