
विगत लामो समयदेखि नेपालमा प्रजातान्त्रिक प्रणालीअनुसार राज्यका विभिन्न तहहरू – स्थानीय, प्रदेश र संघीय चुनावहरू भइरहेको छ र यसमा जनताको उत्साहजनक सहभागिता पनि रहेको पाइन्छ । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापश्चात्, निर्वाचन केवल भोट हाल्ने प्रक्रिया मात्र नभएर नागरिक चेतना, राजनीतिक संस्कारको विकास र लोकतान्त्रिक प्रक्रियामा मर्यादाको परीक्षा पनि बन्ने गरेको छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि बनेको नागरिक सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचनको मिति तय गरेको छ र निर्वाचनको तयारीमा सरकार र सबै दलहरू प्रायः तयारी अवस्थामा छन् ।
अहिले आसन्न निर्वाचनको माहौल तातिएको छ र यसले एउटा गम्भीर प्रश्न खडा गरेको छ– के मतदातालाई सार्वजनिक रूपमा केही युट्यूबरहरू र जिम्मेवार मिडियाकर्मीहरूले तपाई कुन दलमा वा नेतासँग भोट हाल्नुहुन्छ भनेर प्रश्न सोध्न मिल्छ ? अहिले यस्ता प्रश्नहरूले भ्यु बढी बटुल्ने बहानामा र कुनै पनि दलका नेतालाई बदनाम गरेर आफू सेलिब्रेटी बन्ने होडबाजीले विभिन्न किसिमका सञ्चारमाध्यमहरूलाई समातेको देखिन्छ र यसले अर्को प्रश्न पनि उठाएको छ कि, के राष्ट्रको चौथो अंगको रूपमा चिनिएको सञ्चारमाध्यमको कर्तव्य र निष्पक्षता यही हो त ? पक्कै पनि होइन र यसले मुख्यधारका मिडियालाईसमेत बदनाम गराइरहेको अवस्था छ ।
अर्को महत्वपूर्ण प्रश्न भनेको – देशको गरिमामय सांसदजस्तो पदमा पुग्ने इच्छा राख्ने नेता जसले नीति निर्माण तहमा महत्वपूर्ण जिम्मेवारीहरू बहन गर्नुपर्ने हुन्छ, त्यस्ता व्यक्तिहरूमा कस्तो किसिमको ज्ञान, क्षमता र जिम्मेवारी बोध हुनुपर्छ भन्ने कुरा थाहा पाउन जरुरी छ कि छैन ? कि, गाएर, बजाएर, बोलेर या भाइरल भिडियो बनाएर मात्र जिम्मेवारीको बोझ थाम्न सकिन्छ ? यी महत्वपूर्ण प्रश्नहरू र भविष्यमा निर्वाचित सांसदहरूको अवस्थाबारे गम्भीर रूपले सोच्न जरुरी छ ।
मतदाताको सीमा
नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्ना विचार र अभिव्यक्ति स्वतन्त्रता दिएको छ । यसको अर्थ भनेको कुनै पनि नागरिकलाई स्वतन्त्र रूपमा कुनै पनि दललाई मत दिन पाउने अधिकार छ । तर निर्वाचनको समयमा केही कानुनी र नैतिक सीमाहरू पनि लागू हुन्छन्, जस्तैः निर्वाचन आचारसंहिता, निर्वाचन आयोगका निर्देशन र प्रचलित कानूनी नियमले मतदातालाई जबरजस्ती प्रलोभनमा फसाउने, घृणात्मक भाषण गर्ने वा मतदातालाई गलत सूचना प्रवाह गर्ने किसिमका गतिविधिहरूलाई रोक लगाएको छ । यसैले, मतदाता र सञ्चारमाध्यमहरूले पनि सचेत भई नैतिकताको पालना गर्नुपर्छ ।
युट्यूबर वा मिडियाकर्मीको हैसियतमा बसेर कुनै पार्टीको पक्षमा एकतर्फी प्रचार गर्नु, पैसा वा सुविधा लिएर मतदातालाई प्रभावित पार्नु वा मतदान अघि तथा मतदानको दिन एक्जिट पोल जस्ता गतिविधि गर्नु कानूनी विपरीत हुनसक्छ । त्यसैले बोल्न पाइन्छ भने पनि विचारपूर्वक तथ्यपरक ढंगले बोल्नुपर्छ ।
मिडिया र युट्युबरको जिम्मेवारी
मिडिया राज्यको चौथो अंग हो । यसको मुख्य भूमिका भनेको तथ्यपरक सूचना दिने, बहस गराउने र सत्तालाई जबाफदेही बनाउने हो, न कि दलको प्रचार मेशिन बन्नु । नयाँ मिडियाहरू – फेसबुक, युट्यूब र टिकटक – कुनै पनि घटनाको तत्काल जानकारी प्राप्त गर्ने माध्यमका रूपमा सहज छन् । तर चुनावको समयमा यसका माध्यमबाट गलत सूचना फैलाउँदा मतदातामा नकारात्मक असर पर्न सक्छ र भ्रष्टाचारी र दुराचारी नेताले राज्यको प्रतिनिधित्व गर्न पुग्ने सम्भावना बढ्न सक्छ । त्यसैले मिडियाले सन्तुलन र निष्पक्षता कायम राख्दै तथ्य जाँच, आचारसंहिता पालना गर्नुपर्दछ ।
जनप्रतिनिधिले के जान्ने ?
सांसद कुनै सांस्कृतिक कार्यक्रमका कलाकार होइनन्, उनीहरू राज्य सञ्चालनका प्रमुख नीति निर्माताहरू हुन् । त्यसैले सांसदलाई न्यूनतम होइन, राज्य सञ्चालनका विविध विषयमा पर्याप्त ज्ञान हुनु जरुरी छ । यसमा राजनीतिक शास्त्र, संस्कार, नैतिकता, इमानदारिता, शालीनता, भद्रता आदि कुराहरूको विशेषता सांसदहरूमा हुनु आवश्यक छ ।
आवश्यक ज्ञानहरूमा संविधानको गहिरो ज्ञान, कानूनी प्रक्रिया, संसदीय समिति, बजेट निर्माण प्रक्रिया, जनताको कुरा संसदमा कसरी राख्ने र देशको विकासका खाका कसरी बनाउने जस्ता कुराहरू पर्छन् । यद्यपि, वर्तमान अवस्थामा, विभिन्न दलबाट प्रतिनिधित्व गर्ने केही व्यक्तिहरू भने गायन, नृत्य र सामाजिक मिडियामा भाइरल हुनेका रूपमा परिचित छन् । यी व्यक्तिहरूले प्रतिनिधिसभामा जाने क्रममा गहिरो ज्ञान र अनुभवको अभाव देखाएका छन् ।
विश्वका केही मुलुक र विशेषगरी नेपालको राजनीतिक बजारमा गीत गाउने, नाच्ने, युट्यूब, फेसबुक, टिकटकमा भाइरल हुने, भावनात्मक भाषण गर्ने क्षमता राजनीतिमा सहायक हुनसक्छ । तर, यो देशको प्रतिनिधित्व गर्नका लागि घातक पनि हुनसक्छ । संसद् बहसको थलो हो, न कि स्टेज शो । केही दलहरूले संसदमा बढी संख्या देखाउनका लागि सेलिब्रेटीहरूलाई समावेश गरिरहेका छन्, जसले समाजमा गलत भाष्य निर्माण गर्दै छन् ।
निष्कर्षमा,
निर्वाचन केवल उम्मेदवारको परीक्षा मात्र नभएर, मतदाता, पत्रकार र नागरिक समाज सबैको परीक्षा हो । मतदाताले सूचना छानेर बुझ्ने, तथ्यमा आधारित निर्णय गर्ने, नीति र सिद्धान्तमा भोट हाल्ने संस्कार अपनाउनु पर्छ । त्यस्तै, पत्रकारहरूले निष्पक्ष रूपमा प्रश्न गर्न, समाजले कानूनी मर्यादामा दबाब सिर्जना गर्न र नागरिकहरूले लोकतान्त्रिक मर्यादाको पालनामा सचेत रहन जरुरी छ । नेपालको लोकतन्त्रलाई बलियो बनाउन हरेक नेता र जनतामा सोच, नीति, इमान र जिम्मेवारी बोधको भावना हुनु अत्यन्त जरुरी छ । यही चेतनाले मात्र नेपालको सन्दर्भमा निर्वाचनलाई सार्थक बनाउँछ ।