२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

बौद्धिक आप्रवासन र समृद्धिको कल्पना

shivam cement
निष्णु थिङ
२०८२ फागुन ४ गते ०६:०५
Shares
बौद्धिक आप्रवासन र समृद्धिको कल्पना

सरकारको एउटा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पनि छ । भर्खरै, नेपाल श्रम आप्रवासन प्रतिवेदन–२०२४ सार्वजनिक गरेको छ । यस प्रतिवेदनले बौद्धिक श्रमको परिभाषा दिएको पाइँदैन र त्यसको तथ्यांक पनि अहिलेसम्म संकलन र सार्वजनिक गरेको छैन । मूलतः शारीरिक श्रमको सिलसिलामा विभिन्न देशमा गएका श्रमिकहरूको तथ्यांक यसमा पाइन्छ । यस आलेखमा बौद्धिक श्रम र त्यसको आप्रवासनको प्रसङ्गलाई कोट्याउने प्रयत्न गरिएको छ । बौद्धिक श्रम आप्रवासन, कुनै पनि देशको शिक्षित, दक्ष र सीपयुक्त जनशक्ति अर्को देशमा पलायन हुने प्रक्रिया हो । जस्तै ः विषय विज्ञ, ज्ञानकर्मी, इन्जिनियर, चिकित्सक, अनुसन्धानकर्ता, वैज्ञानिक, प्राध्यापक, सूचना प्रविधि विशेषज्ञ, पत्रकार, साहित्यकारहरू बौद्धिक श्रमिक हुन् । तिनीहरूले गर्ने ज्ञानमा आधारित श्रमलाई बौद्धिक श्रम भन्दछन् । त्यस्ता व्यक्तिहरू एउटा देश छोडेर अर्को देशमा जानुलाई बौद्धिक श्रम आप्रवासनको रूपमा परिभाषित गर्न सकिन्छ । यसरी बौद्धिक श्रम आप्रवासन हुनुको कारण हाम्रो आन्तरिक वातावरण उचित नहुनु हो । 

प्रसङ्ग एक 

यही पौष १० गते, त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह सम्पन्न भयो । यतिबेला सामाजिक सञ्जालमा एउटा रिल अझै भाइरल (चर्चा) भइरहेको छ । एक जना स्नातकोत्तर उत्तीर्ण विद्यार्थी त्रिवि दीक्षान्त पोसाक (गाउन) लगाएर आफ्नो शैक्षिक प्रमाणपत्र हात लिएर हस्याङ फस्याङ गर्दै दौडिँदै दशरथ रङ्गशालाबाट बाहिरिन खोज्दा उनका साथीले सोध्छन्, कता हिँडेको ? ‘जवाफमा उनले, मेरो अहिले मलेसियाको उडान छ । बेलैमा गएन भने जहाज छुट्छ ।’ यो रिलले नेपालको शिक्षा प्रणाली र रोजगारीको स्थितिलाई दरिलो व्यङ्ग्य मात्रै गर्दैन, हामी सबैलाई ट्रोल (खिसीटिउरी) गर्दछ । पंक्तिकारसित स्नातकोत्तर गरेका अधिकांश साथीहरू पनि यसरी नै आकासिए र पाताल भासिए । नव दीक्षित ती युवाहरूले यो देशमा भविष्य देख्न सकेनन् । युवाहरूले सुन्दर भविष्यको खोजीमा देश छोडे । 

प्रसङ्ग दुई

केही वर्षअघि एक जना साथी पुतलीसडकमा भेट भयो । चिया पिउँदै गफ गर्ने क्रममा उनले सोधे, ‘के गर्दै हो ?’ जवाफमा भनेँ, ‘एमफिल सकाएँ, अब विद्यावारिधि गर्ने योजनामा छु ।’ उनले तुरुन्तै भने, ‘विद्यावारिधि गरेर के गर्नु ? यो देशमा कुनै दलमा नलागी केही अवसर पाउने होइन ।’ केही समयको बसाइपछि छुटेर आ–आफ्नो बाटो लाग्यौँ । मलाई त्यो कुराले धेरै दिनसम्म लखेटिरह्यो । वास्तवमा उनले नेपाली समाजमा अहिले चलिरहेको सत्यलाई ओकलेका हुन् । दलमा आबद्ध नभई सामान्य दैनिकी चल्न पनि मुस्किल हुने परिस्थिति निर्माण गरेको छ । अवसर पाउन परै जाओस् ! 

प्रसङ्ग तीन 

पंक्तिकारलाई स्नातकोत्तरमा अध्यापन गर्ने प्राध्यापक डा. हरि अधिकारीले विभागीय प्रमुखबाट अनावश्यक आरोप खेपेपछि नैतिकताको आधारमा राजीनामा दिए । उनले व्यक्तिगत कुराकानीमा आफूमाथि अन्याय भएको सुनाएका थिए । उनलाई निकै पीडा बोध भएछ । उनी त्रिविको स्थायी प्राध्यापकबाट राजीनामा दिएर केही समयपछि हिँडे । उनी अहिले चीनको राम्रो विश्वविद्यालयमा प्राध्यापन गर्दछन् । कहिलेकहीँ कुराकानी हुन्छ । त्यसैगरी, डा. प्रेम फ्याक पनि हैरान भएपछि राजीनामा दिएर हङकङ विश्वविद्यालय हिँडे, अहिले कोलम्बिया विश्वविद्यालय न्युयोर्कमा प्राध्यापन गर्दै छन् । यसरी राम्रो शिक्षक गुमाउनु पर्‍यो । 

मेरा एक जना नजिकका चिनेका डा. रोशनराज बराल, जसले जवाहरलाल नेहरु विश्वविद्यालयबाट विद्यावारिधि गरेर स्वदेश फर्केपछि शान इन्टरनेशनल कलेजमा क्याम्पस प्रमुखमा कार्यरत थिए । यहाँको वातावरणबाट निराश भएर उनी पनि अमेरिका भासिए । यसरी कैयन् बौद्धिक व्यक्तिहरू यहाँबाट आप्रवासन भएका छन् । बिबिसी साझा सवालका चर्चित प्रस्तोता पत्रकार नारायण श्रेष्ठ पनि सबै छाडेर अमेरिकामा भासिए । पंक्तिकारसित स्नातकोत्तरमा सँगै अध्ययन गरेका थुप्रै साथीहरू अहिले विभिन्न देशमा गए, उतै स्थायी बसोबास अनुमति पत्र लिएर बसेका छन् । यसरी बौद्धिक आप्रवासनको सूची बनाउँदै लैजाने हो भने प्रशस्त व्यक्तिहरू फेला पर्छ । 

प्रसङ्ग चार

एक जना युवा स्नातकोत्तरको अध्ययनपछि आफ्नो योग्यताले भ्याएसम्म क्याम्पस पढाउने, अध्ययन र अनुसन्धानका काममा जोडिए । सहरमा व्यस्त हुँदा गाउँमा पुर्खौली जग्गा जमिन बाझिने समस्या देशव्यापी बनेसँगै उनलाई त्यो जमिनको उपयोग गर्न मन लाग्यो । त्यसपछि उनले एउटा कृषि फार्म दर्ता गरेर आफ्नो पुर्खौली जग्गामा ड्रागन खेती सुरु गरे । मातापिताको मुख्य निगरानीमा त्यो फार्म सुरु भयो । आफूसित भएको केही रकम र थप लगानीको लागि उनले बैंकबाट ऋण लिए । पहिलो त कृषि कर्जा लिनै उनलाई हम्मे हम्मे भयो । कृषि विकास बैंक नाम मात्रैको बैंक भयो । जसले कृषिमा लगानी गर्न कुनै रुचि देखाउदैन । बरु जसले कमिशन दिन्छ, उनले सजिलै त्यो बैंकबाट कर्जा पाएको प्रत्यक्ष उनले देखे र भोगे । 

बल्ल बल्ल निकै पापड बेलेपछि मात्रै कर्जा प्राप्त भयो । छ महिनाको प्रयासमा त्यो सम्भव भयो । कर्जा लिएको करिब एक वर्षपछाडि उनी बिरामी भए । बिरामी भएपछि उनको रोजगारी बन्द भयो, आम्दानीका बाटा बन्द भयो र उपचारमा खर्च हुँदै गयो । एकातिर उपचारमा खर्च हुने र आम्दानीका बाटा बन्द भएपछि बिस्तारै आर्थिक संकटले गाँज्दै लग्यो । कृषि फार्मका आम्दानी पनि उपचार, घर व्यवहारमा खर्च गर्नु पर्ने परिस्थिति सिर्जना भयो । परिणामतः बैंकको किस्ता बुझाउन समस्या हुन थाल्यो । बैंकले उनलाई ताकेता (टर्चर) गर्न सुरु भयो । शारीरिक, मानसिक र आर्थिक रूपमा कमजोर हुँदै गएको बिरामी युवालाई बैंकको टर्चर अर्को दुःख थपियो । उनले राज्य, सरकार, दल र समाज कतैबाट सहयोग पाएनन् । परिवार मात्रै उनको एक्लो सहारा हो । आफ्नै देशमा केही गर्नु पर्छ भनेर केही गर्न खोजेका ती युवा अहिले अप्ठ्यारोमा छन्, तर उनको साथमा कोही छैन । उनीबाट राज्यले कर मात्रै असुल्ने काम गर्दै आयो तर कठिन परिस्थितिमा उनलाई टेको दिने न राज्य छ न कोही छ । 

अमेरिकामा बस्ने साथीले सुनाएका थिए, कोभिड कालमा दुई वर्षसम्म त्यहाँको सरकारले प्रतिव्यक्ति चार हजार डलर जीवन निर्वाह भत्ता दियो । पाँच जना परिवार संख्या भएको उनलाई मासिक बिस हजार डलर प्राप्त भयो । जीवन बन्दाबन्दीमै (लकडाउन) पनि राम्रैसित चल्यो । हाम्रो राज्यले कोभिड कालमा त्यस्तो राहत र सामाजिक सुरक्षाका कार्यक्रम केही ल्याउनै सकेन । यही देशमै केही गर्ने अठोट भएको युवा बिरामी परेर आर्थिक संकटमा पर्दा उनलाई कुनै किसिमको प्रोत्साहन (इन्सेन्टिभ) दिन चाहेन । उल्टै दुःख दिइरहेको छ । 

बौद्धिक फिर्ती केन्द्र (ब्रेन गेन सेन्टर) 

नेपाल सरकारले परराष्ट्र मन्त्रालय अन्तर्गत ब्रेन गेन सेन्टर स्थापना गरेको केही वर्ष भइसक्यो । त्यो केन्द्रले अहिलेसम्म के गरिरहेको छ ? त्यसको के प्रगति हुँदैछ ? अहिलेसम्म कति जना बौद्धिक नागरिकलाई फिर्ता ल्यायो ? तिनीहरूलाई कसरी देशभित्र व्यवस्थापन गरिँदै छ ? त्यसको कुनै प्रतिवेदन सार्वजनिक भएको छैन । त्यसको मतलब त्यो केन्द्रले अहिलेसम्म केही गरेको छैन भन्ने अर्थ लाग्छ । 

औपनिवेशिक कालमा बेलायतले विश्वभरिका संशाधन (रिसोर्स) लगेर आफ्नो मुलुक बनायो । त्यसैगरी, अमेरिकाले विश्वभरिका उत्कृष्ट प्रतिभा (बेष्ट ब्रेन)लाई आफ्नो देशमा लगेर मुलुक बनाउने काम गर्‍यो । चिनियाँ कम्युनिस्ट पार्टीको पछिल्लो बिसौँ जनकांग्रेसले (२०२२) विश्वभरिका उत्कृष्ट प्रतिभालाई लैजाने नीति पारित गरेको छ । संसारका अहिलेका विकसित देशहरू सबैले यसरी अरू देशका राम्रा प्रतिभालाई लगेर आफ्नो मुलुक निर्माण गर्ने काम गरे । उनीहरूले शिक्षा, स्वास्थ्य, आविष्कार, नवप्रवर्तन, विश्वविद्यालय, अन्तरिक्ष, सफ्टवेयर, बाहिरबाटै गएका एलन मस्कले फेसबुक, ट्विटरलगायतका सूचना प्रविधिमा छलाङ मारे । चीनले पोर्चुगलका पूर्व मन्त्री तथा विद्धान व्यक्ति ब्रुनो मसाइ बेइजिङमा लगेर आफ्नो मुलुक निर्माणको गति बढाइरहेको छ । 

आसन्न निर्वाचनमा दलहरूलाई प्रश्न 

माथिको तीतो यथार्थको सन्दर्भमा केही अपवाद पनि छन् । व्यक्तिगत जोखिम लिएरै कतिपय बौद्धिक व्यक्तिहरू स्वदेश फर्केका छन् । तर यहाँको कुशासन, भ्रष्टाचार, घुसखोरी, नातावाद, कृपावाद, चरम दलीयकरण र कमसल मानिसहरूले पहुँचको भरमा अवसर पाउँदा योग्यहरूले टुलुटुलु हेर्न परिरहेको यथार्थता छ । कतिपय निराश भएर पुनः फर्केका छन् । केही यहीँ संघर्ष गरिरहेका छन् । तर कुन दिन उनीहरू पनि यो देशलाई सराप्दै जताबाट आए त्यतै जाने हुन्, थाहा छैन । यहाँको आम्दानीको तुलनामा महँगी अत्यधिक छ । छोराछोरीलाई पढाउने र बिरामी उपचार खर्च अचाक्ली महँगो छ । आसन्न निर्वाचनका उम्मेदवार र दलहरूलाई प्रश्न छ– तपाईँहरू सरकारमा आएपछि आफ्नै दलमा आबद्ध नभएकाहरूले (स्वतन्त्र नागरिक) यो देशमा अवसर पाउँछन् कि पाउँदैनन् ? अवसर पाउनको लागि के दलमै आबद्ध हुनै पर्ने हो ? एकोहोरो देश बनाउने नारा लगाइरहँदा, साँच्चिकै देश बनाउन चाहिने बौद्धिक जनशक्तिको आप्रवासनलाई कसरी निरुत्साहित गर्नहुन्छ ? बौद्धिक जनशक्तिलाई कसरी यहीँ नै टिकाउने हो, त्यसको कार्य योजना के छ ? यहीँ देशमै केही गर्न चाहने युवाहरूलाई गरिखाने वातावरण कसरी बनाउनु हुन्छ ? बाहिर (डायस्पोरामा) रहेका बौद्धिक जनशक्तिलाई कसरी आकर्षित गर्ने योजना छ ? लोककल्याणकारी र सामाजिक सुरक्षाका नयाँ कार्यक्रमहरू के के छन् ? सहज, सर्वसुलभ र कम लागतमा गुणस्तरीय शिक्षा र स्वास्थ्य प्रबन्ध गर्ने के के योजना छन् ?  

(लेखक, नेपाल खुल्ला विश्वविद्यालयमा प्राध्यापन गर्दछन् ।)

ताजा खबर

सम्बन्धित खबर