
संस्कार र संस्कृतिलाई तिलाञ्जली दिएर आधुनिक बन्ने दौडमा दौडिरहेको वर्तमान शिक्षाले एउटा यस्तो समाजको जग बसाल्दैछ, जोसँग टाउको त छ तर मुटु छैन । हिजोका दिनमा शिक्षाको अर्थ केवल अक्षर चिन्नु मात्र थिएन, बरु जीवन जिउने कला र समाजप्रतिको दायित्व बुझ्नु पनि थियो । तर आज, हाम्रा शिक्षण संस्थाहरू ज्ञानका मन्दिरभन्दा बढी प्रमाणपत्र बाँड्ने कारखानाजस्ता देखिएका छन्, जहाँबाट निस्कने उत्पादनहरू प्राविधिक रूपमा दक्ष त छन्, तर मानवीय संवेदनाका दृष्टिले अत्यन्तै कमजोर ।
अहिलेको पुस्ता ‘स्मार्ट’ हुने होडमा यति टाढा पुगिसक्यो कि उसलाई आफ्नै जराहरू बोझिलो लाग्न थालेका छन् । हातमा पछिल्लो मोडेलको आइफोन बोकेर विश्वलाई औँलाको भरमा नचाउने युवाहरू आफ्नै घरको आँगनमा बसेका हजुरबा–हजुरआमाको अनुभव सुन्ने फुर्सद पाउँदैनन् । पश्चिमा हावाको यस्तो तीव्र प्रभाव छ कि मौलिक मूल्य–मान्यताहरू ‘पुरानो जमानाको’ भन्दै उपहासको पात्र बनिरहेका छन् । हामीले हाम्रा सन्तानलाई अंग्रेजी बोल्न त सिकायौँ, तर आफ्नै मातृभाषामा आशीर्वाद लिन सिकाउन बिर्सिएछौँ । परिणामस्वरूप, आजको शिक्षित पुस्तासँग भौतिक सुखका साधनहरू त पर्याप्त छन्, तर मानसिक शान्ति र सामाजिक सद्भावको खडेरी छ ।
संस्कारविहीन शिक्षाले जन्माएको यो समाज अन्ततः स्वार्थको एउटा ठूलो सञ्जाल मात्र बन्न पुगेको छ, जहाँ सम्बन्धहरू उपयोगिताका आधारमा गाँसिन्छन् र रगतको नाताभन्दा बैंक ब्यालेन्सलाई बढी महत्व दिइन्छ । विवेक हराएको यो शिक्षित भीडले प्रविधिलाई त हातमा लियो, तर त्यसको सही प्रयोग गर्ने चरित्र निर्माण गर्न सकेन । यदि समयमै हामीले शिक्षालाई नैतिकता र संस्कृतिसँग जोड्न सकेनौँ भने, भोलिको समाजमा मान्छेहरू त होलान्, तर ती केवल हाडछालाका मेसिन मात्र हुनेछन् ।
शिक्षालाई मानव जातिको तेस्रो आँखा मानिन्छ, जसले व्यक्तिलाई संसार बुझ्ने दृष्टि प्रदान गर्छ । तर आधुनिक युगको दौडमा शिक्षा केवल आर्थिक उपार्जन र प्राविधिक दक्षताको पर्यायवाची बन्दै गएको छ । जब शिक्षाको विशाल शरीरबाट ‘संस्कार’ रूपी आत्मा गायब हुन्छ, तब त्यसले एउटा यस्तो समाजको जग बसाल्छ, जुन बाहिरबाट भव्य देखिए पनि भित्रबाट खोक्रो र जर्जर हुन्छ । संस्कारविहीन शिक्षाले निर्माण गर्ने समाज केवल डिग्रीधारीहरूको भीड त हुन सक्छ, तर त्यो मानवीय संवेदना र नैतिक मूल्यले युक्त एउटा जीवन्त समाज हुन सक्दैन । यस विषयको गहिराइलाई केलाउँदा यसले पार्ने बहुआयामिक प्रभावहरू डरलाग्दा देखिन्छन् ।
संस्कार र शिक्षाको सम्बन्ध नङ र मासुको जस्तै हुनुपर्छ । शिक्षाले क्षमता दिन्छ भने संस्कारले त्यो क्षमतालाई सही मार्गमा डोर्याउने लगाम प्रदान गर्छ । संस्कारविहीन शिक्षाले समाजमा सबैभन्दा पहिले ‘बौद्धिक अहंकार’को बीउ रोप्छ । जब एउटा विद्यार्थीले केवल गणितका सूत्र र विज्ञानका सिद्धान्तहरू घोक्छ तर आफ्ना गुरु, अभिभावक र समाजप्रतिको दायित्व बिर्सिन्छ, तब ऊ समाजका लागि एउटा घातक प्राणी बन्न पुग्छ । यस्तो शिक्षाले मानिसलाई चतुर त बनाउँछ, तर विवेकशील बनाउँदैन । विवेकहीन चतु¥याइँले समाजमा सद्भाव होइन, बरु षड्यन्त्र र कलहको वातावरण सिर्जना गर्छ । संस्कार नभएको शिक्षित व्यक्तिले आफ्नो बुद्धिलाई अरूको हितमा भन्दा पनि अरूलाई कसरी ठग्ने वा कसरी आफू मात्रै माथि पुग्ने भन्ने स्वार्थमा केन्द्रित गर्छ ।
पारिवारिक तहमा हेर्ने हो भने, संस्कारविहीन शिक्षाले हाम्रो परापूर्व कालदेखि चल्दै आएको ‘संयुक्त परिवार’ र ‘पारस्परिक सम्मान’ को संस्कृतिलाई ध्वस्त बनाउँदै लगेको छ । आजका शिक्षित भनिएका पुस्तामा आफ्ना आमाबुबा र ज्येष्ठ नागरिकप्रतिको आदर भाव हराउँदै जानुको मुख्य कारण हाम्रो शिक्षामा संस्कारको कमी नै हो । मानिसहरूले ठूलाठूला घर त बनाएका छन्, तर ती घरभित्र माया र ममताको अभाव छ । डिग्री र डलरको मोहमा फसेका सन्तानहरूले आफ्ना जन्मदातालाई वृद्धाश्रमको अँध्यारो कोठामा छाडेर विदेशमा सुख खोज्नु संस्कारहीन शिक्षाकै एउटा कुरूप चित्र हो । यसले समाजलाई भावनात्मक रूपमा दरिद्र बनाउँदै लगेको छ, जहाँ मानिसहरू भौतिक सुख सुविधाले घेरिएका भए पनि मानसिक रूपमा एक्ला र दुःखी छन् ।
सामाजिक र राजनीतिक दृष्टिकोणबाट हेर्दा, संस्कारविहीन शिक्षाले समाजमा भ्रष्टाचार र अनैतिकतालाई प्रश्रय दिन्छ । आजका ठूलाठूला घोटालाहरूमा संलग्न व्यक्तिहरू कुनै अनपढ वा गँवार हुँदैनन्; तिनीहरू त देशका प्रतिष्ठित विश्वविद्यालयबाट दीक्षित भएका उच्च शिक्षा प्राप्त व्यक्तिहरू नै हुन्छन् । यदि शिक्षाले इमानदारिता, नैतिकता र राष्ट्रियताको संस्कार दिएको हुन्थ्यो भने ती व्यक्तिहरूले देशको सम्पत्तिमा गिद्धे दृष्टि लगाउने थिएनन् । जब शिक्षाले ‘छिटो धनी बन्नु नै सफलता हो’ भन्ने गलत मानक स्थापित गर्छ, तब समाजमा न्याय र निष्ठाको अन्त्य हुन्छ । संस्कारविहीन समाजमा शक्ति हुनेले निर्धालाई थिच्नु र पैसा हुनेले कानुनलाई खरिद गर्नु सामान्य जस्तै बन्न पुग्छ ।
संस्कारविहीन शिक्षाले सांस्कृतिक विचलन र पहिचानको संकट पनि निम्त्याउँछ । जुन शिक्षाले आफ्नो माटोको सुगन्ध, आफ्नो भाषाको मिठास र आफ्नो पुर्खाको गौरवशाली इतिहास सिकाउँदैन, त्यसले नागरिकलाई परजीवी बनाउँछ । आधुनिकताका नाममा विदेशी संस्कृतिको अन्धअनुकरण गर्ने र आफ्नो मौलिकतालाई ‘अन्धविश्वास’ वा ‘पिछडिएको’ संज्ञा दिने जमात संस्कारविहीन शिक्षाकै उपज हो । यसले समाजको मौलिकता नष्ट गर्छ र हामीलाई विश्व मानचित्रमा पहिचानविहीन बनाउँछ । एउटा रुखको जरा काटियो भने त्यो जतिसुकै विशाल भए पनि ढल्न बेर लाग्दैन; त्यस्तै, आफ्नो संस्कार र संस्कृतिबाट काटिएको समाज पनि धेरै समयसम्म जीवित रहन सक्दैन ।
संस्कारविहीन शिक्षाले एउटा यस्तो समाज निर्माण गर्छ, जहाँ मानिसहरू मेसिनजस्तै चल्छन् तर उनीहरूमा मानिस हुनुको कुनै बोध हुँदैन । त्यहाँ प्रतिस्पर्धा हुन्छ तर सहकार्य हुँदैन, तर्क हुन्छ तर सत्य हुँदैन र विलासिता हुन्छ तर सन्तोष हुँदैन । त्यसैले, अबको शिक्षा प्रणालीले प्रमाणपत्र मात्र बाँड्ने कारखाना बन्नु हुँदैन । शिक्षामा नैतिकता, करुणा, सेवा र देश प्रेमजस्ता संस्कारहरूलाई अनिवार्य रूपमा मिसाउनुपर्छ । जबसम्म हातमा सीप, मस्तिष्कमा वैज्ञानिक चेतना र हृदयमा मानवीय संस्कारको संगम हुँदैन, तबसम्म हामीले कल्पना गरेको सभ्य र शान्त समाज केवल एउटा सुन्दर सपना मात्र रहनेछ । शिक्षाले मानिसलाई जीवन बाँच्ने कला र मरेपछि पनि सम्झिन लायक कर्म गर्ने संस्कार सिकाउनु नै आजको मुख्य आवश्यकता हो ।