
विगत दुई दशकदेखि नेपालमा पत्रकारिताले जुन फड्को मारेको छ, त्यसमा छापा माध्यमको ठूलो योगदान छ । तर यता केही वर्षदेखि छापा माध्यममा देखिएको ह्रासोन्मुख प्रवृत्तिले छापा माध्यममा आश्रित पत्रकार, सम्पादक, प्रकाशक तथा छापाका मिडियामा लगानीकर्ताहरूमा निराशा देखिएको छ र यसका लागि खासै प्रयास गरेको पाइँदैन । तर मुलुकमा छापा माध्यमको आवश्यकता छ भनेर सबैले भन्ने गरेका छन् । यो लेखमा त्यसको संक्षिप्त आकलनसहित के गरेमा छापा माध्यम टिक्न सक्नेछ भन्ने अनुमान पनि गरिएको छ ।
छापा माध्यमको सुरुवाती काल
नेपालमा छापा माध्यमको विकास गिद्धे प्रेसमा नेपालमै छापेर पत्रिका निकाल्न थालेपछि भएको मानिन्छ । विक्रम संवत् १९५८ साल वैशाख २४ गतेबाट साप्ताहिक गोर्खापत्रको प्रकाशन सुरु भएपछि जानकारीमूलक तथा सन्देशमूलक समाचारपत्रको सुरुवात भएको मान्दै आएका छौँ । १२५ वर्षमा अनवरत छापिने पत्रिकाको रूपमा दीर्घ जीवन पाएको पहिलो पत्रिका हुन सकेको छ । आज पनि निरन्तर प्रकाशन हुने पत्रिकामा सुरुको गोर्खापत्र पछि सुधारिँदा गोरखापत्रको रूपमा छापिँदै नै रहेको छ । २००७ सालपछि सुरु भएको अभिव्यक्ति स्वतन्त्रताको लहरले मुलुकमा छापा माध्यमहरूको महत्व बढेको थियो । पञ्चायती कालमा यसले धुकधुकी बाँकी राखे पनि २०४७ सालदेखि भने पत्रिका प्रकाशनमा बाढी नै आएको देखिन्छ । अनि छापा माध्यमको पत्रिका भन्ने बित्तिकै दैनिक पत्रिकाहरूको मात्र सम्झना हुँदैन, जस्तोसुकै अप्ठेरो बेलामा पनि दैनिकसँग छापिने अर्धसाप्ताहिक, साप्ताहिक, पाक्षिक, मासिक, द्वैमासिक, त्रैमासिक, वार्षिक तथा समसामयिक प्रकाशनमार्फत जनतालाई सुसूचित गर्ने काम हुँदै आएको छ । आज पनि छापा माध्यमलाई नै विश्वसनीय पठन सामग्रीको रूपमा लिइन्छ ।
आएका चुनौती
छापा माध्यमले अहिले विश्वभर चुनौतीको सामना गरिरहेको छ । सबैभन्दा विश्वसनीय माध्यमका रूपमा छापा माध्यम पत्रकारितालाई लिइने भए पनि विश्वभरका छापा माध्यमहरूले आफूलाई डिजिटल माध्यममा लैजानुपर्ने बाध्यता देखिएको छ । यसको कारण हो, डिजिटल माध्यममार्फत् तत्काल नै सम्प्रेषण गर्न सकिने हुन्छ । तर पनि अनवरत सुसूचित हुन र लेख्य सामग्रीको भण्डारण गर्नका लागि छापा माध्यमकै भर पर्ने पाठक अहिले पनि विश्वभर धेरै नै छन् ।
विश्वमा छापा माध्यमको अवस्थालाई केलाउँदा, समाचार प्रकाशकहरूको कुल आम्दानीमा प्रिन्टको हिस्सा ५० प्रतिशतभन्दा कम भएको छ । यो सन् २०२५ मा औसत ४४.६ प्रतिशत मात्र छ । यसअघि २०२३ मा यो ५७.५ प्रतिशत थियो अर्थात् २ वर्षमा १२.५ प्रतिशतले घटेको छ । विश्वव्यापी रूपमा न्यूजपेपर प्रकाशन उद्योगको राजस्व ३.१ प्रतिशतले घटिरहेको छ र २०२५ मा यो करिब ४८०.५ अर्ब मात्र पुग्ने अनुमान छ । अमेरिकामा मात्रै विगत २० वर्षमा प्रिन्ट न्यूजपेपरको वितरण ७० प्रतिशतले घटेको छ (२००५ को तुलनामा २०२५ मा करिब ३८ मिलियन मात्र बाँकी) ।
प्रिन्ट विज्ञापनको घट्दो प्रवृत्ति जारी छ– विश्वमा प्रिन्ट विज्ञापन २०२४ मा ४.५ प्रतिशत र २०२५ मा थप ३ प्रतिशतले घट्ने र २०२६ मा अझ ४ प्रतिशतले घट्ने अनुमान गरिएको छ । यी तथ्यले देखाउँछन् कि डिजिटल माध्यमको उदयले छापा पत्रपत्रिकालाई गम्भीर चुनौती दिइरहेको छ, तर प्रिन्ट अझै पनि केही प्रकाशकहरूका लागि महत्वपूर्ण आम्दानी स्रोत बनेको छ ।
नेपालमा छापा माध्यमको अवस्था
नेपालमा ८ हजारभन्दा बढी पत्रपत्रिका र म्यागेजिन दर्ता भएका छन्, जसमध्ये ७६५ दैनिक छन् । तर प्रिन्टको वितरण र बिक्री तीव्र रूपमा घटिरहेको छ, जसले गर्दा धेरै प्रकाशनहरू डिजिटलतर्फ लागेका छन् । प्रिन्ट विज्ञापन र बिक्री घटेपछि पत्रकारिताको मुख्य स्रोत डिजिटल मिडियातर्फ सरेको छ । परम्परागत मिडिया (प्रिन्ट, रेडियो, टिभी) स्थिर वा बन्द हुँदै गएका छन्, जबकि अनलाइन पोर्टलहरू २०२५ को मध्यसम्म करिब ६ हजार जति पुगेका छन् ।
नेपालमा न्यूज पेपरको वितरणलाई युनेस्कोले पहिलेदेखि नै कमजोर अवस्थाको भनेको छ र यो प्रवृत्ति अझै बढ्दै गएको छ । धेरै दैनिक पत्रिकाहरूले कर्मचारी कटौती गरेका छन् र उत्पादन तथा वितरण घटाएका छन् । समग्र मिडिया व्यापार राजस्व करिब ३.८ अर्ब रुपैयाँ छ, तर प्रिन्टको हिस्सा घट्दै गएको छ । विज्ञापन मुख्य स्रोत भए पनि प्रिन्टमा यो घटेको छ ।
यी तथ्यांकहरूले देखाउँछन् कि नेपालमा पनि विश्वव्यापी जस्तै डिजिटलको प्रभावले छापा माध्यमलाई जोखिममा पारेको छ, यद्यपि केही सरकारी संस्था (जस्तै : गोरखापत्र)ले अझै नाफा कमाइरहेका छन्, तर निजी क्षेत्रमा भने ठूलो चुनौती देखा परेको छ ।
छापा माध्यम (प्रिन्ट मिडिया) नेपालमा गम्भीर संकटको सामना गरिरहेको छ । यो संकट मुख्य रूपमा डिजिटल प्लेटफर्महरू (जस्तै फेसबुक, युट्युब, टिकटक, अनलाइन पोर्टलहरू) को उदय, विज्ञापनको प्रवाह डिजिटलतर्फ सर्नु, पाठक संख्या घट्नु, कागज तथा छपाइ खर्च बढ्नु, आर्थिक मन्दी र युवा पुस्ताको डिजिटल प्राथमिकताका कारण आएको हो । नेपालमा प्रिन्ट मिडियाको मुख्य आम्दानी विज्ञापनबाट आउँछ, जुन अहिले धेरै घटेको छ ।
तर यो संकटबाट बच्न र प्रिन्ट मिडियालाई बलियो बनाउन सम्भव छ । यहाँ केही व्यावहारिक रणनीति तथा उपायहरू छन् –
डिजिटल रूपान्तरण अपनाउनु : छापा संस्करणलाई निरन्तरता दिँदै अनलाइन संस्करण बलियो बनाउनु, डिजिटल सदस्यता बढाउन सुरु गर्नु, पाठकले पैसा तिरेर गुणस्तरीय, विज्ञापनरहित सामग्री पढ्न सक्ने व्यवस्था गर्नु । प्रिन्ट + डिजिटल प्याकेज बनाएर बिक्री गर्नु ।
गुणस्तर र विशिष्ट सामग्रीमा जोड : सामान्य समाचारभन्दा गहिरो विश्लेषण, अनुसन्धानमूलक रिपोर्ट, दीर्घकालीन फिचर, स्थानीय÷क्षेत्रीय मुद्दा, इतिहास, संस्कृति, वातावरण, शिक्षा जस्ता विषयमा विशेष ध्यान दिनु । प्रिन्टको फाइदा उपयोग गर्नु– राम्रो डिजाइन, फोटो, इन्फोग्राफिक्स, लामो लेखहरू जुन स्क्रिनमा पढ्न गाह्रो हुन्छ । युवा पुस्तालाई आकर्षित गर्ने गरी छोटा–छोटा, आकर्षक खण्डहरू (इन्फोटेनमेन्ट, समरी) राख्नु ।
नयाँ आम्दानीका स्रोतहरू खोज्नु : घट्दो विज्ञापनमा मात्र निर्भर नबस्नु । सशुल्क सदस्यता, धेरै सदस्यता बनाएर समूहमा सामग्री उपलब्ध गराउने, पाठकबाट सिधै सहयोग लिने, सम्पादकीय स्वतन्त्रता कायम राखेर जनहितका प्रायोजित सामग्री उत्पादन गर्ने । किताब, विशेष प्रकाशन, विशेष सभा–समारोह, सेमिनार, तालिम कार्यक्रमबाट आम्दानी गर्ने । सरकारी सूचना÷विज्ञापनका लागि प्रेस काउन्सिलमार्फत नीति सुधारको माग गर्नु ।
लागत नियन्त्रण र दक्षता : छपाइ प्रविधि सुधार गरेर कागज तथा डिजिटल प्रिन्टिङको लागत घटाउनु । वितरण प्रणाली सुधार्नु, जस्तै : डिपो÷एजेन्टसँग साझेदारी गर्ने, घर–घर पठाउने प्रणाली घटाएर मुख्य स्थानमा मात्र फोकस गर्नु । पत्रकार तथा कर्मचारीहरूलाई बहुपक्षीय कौशलयुक्त बनाउनु (एकै व्यक्तिले प्रिन्ट र डिजिटल दुवै काम गर्न सक्ने तालिम दिई सक्षम बनाउनु) ।
पाठकसँग सम्बन्ध बलियो बनाउनु : स्थानीय स्तरमा पाठक क्लब, पृष्ठपोषण कार्यक्रम, सामूहिक कार्यक्रमहरूको आयोजना गर्नु । प्रिन्टको विश्वसनीयता वृद्धि गर्नु– गलत समाचार, भ्रमपूर्ण विचार वा फेक न्युजको विरुद्ध दृढ रूपमा उभिनु । ज्येष्ठ नागरिक, शिक्षक, विद्यार्थी, ग्रामीण क्षेत्रका पाठकलाई लक्षित गरेर विशेष अभियान चलाउनु ।
नीतिगत तथा संस्थागत सहयोग : सरकारसँग प्रिन्ट मिडियालाई राहत (कागजमा भन्सार छुट, विज्ञापन कोटा, कर छुट) माग गर्नु । नेपाल पत्रकार महासंघ, सम्पादक समाज, विभिन्न मिडियासँग सम्बन्धित संस्थाहरू, व्यावसायिक पत्रकारका अन्य पेसागत संस्थाहरू तथा प्रेस काउन्सिलले संयुक्त रूपमा ‘प्रिन्ट बचाऔँ’ अभियान चलाउनु र अन्तर्राष्ट्रिय दातृ निकाय÷संस्थासँग सहकार्य गरेर डिजिटल ट्रान्सफर्मेसनमा सहयोग लिनु ।
छापा माध्यम वा प्रिन्ट मिडिया पूर्ण रूपमा हराउँदैन, तर यसले आफूलाई पुनः परिभाषित र परिमार्जित गर्नुपर्छ । विश्वमा पनि धेरै ठाउँमा प्रिन्ट अति आवश्यक र दिगो टिकाउ सामग्रीको माध्यम बनेको छ । नेपालमा पनि गुणस्तर, विश्वसनीयता र स्थानीयता कायम राखेर, डिजिटलसँग मिसाएर छापा माध्यम वा प्रिन्ट मिडियालाई बचाउन सकिन्छ ।
अन्त्यमा, आज छापा माध्यमका पत्रिकाहरू जोगाउनु जरुरी छ । त्यसका लागि उद्योगहरू, वाणिज्य क्षेत्रहरूले आफ्नो सामाजिक दायित्वको रकमलाई सदुपयोग गरी जनहितका विभिन्न सूचनामूलक तथा सन्देशमूलक सामग्री तयार गरी प्रचार–प्रसार गर्न छापा माध्यमको प्रयोगलाई अनिवार्य गराउन सक्नुपर्छ । यसका लागि सरकारको मात्र भर नपरी निजी क्षेत्रको व्यापक सहयोग भए छापा माध्यमले रोई–कराई गर्नै पर्दैन ।