
उम्मेदवारहरूले घरदैलो कार्यक्रममा जनतासँग मत माग्दा उही पुरानै एजेन्डा सुनाउने गरेका छन् । सबै उम्मेदवारहरूले आफू चुनावमा विजयी हासिल गर्ने विश्वास गरेका छन् । प्रत्यक्षतर्फ १ सय ६५ निर्वाचन क्षेत्रका लागि करिब ३ हजार ४ सयभन्दा बढी उम्मेदवार मैदानमा छन् । अहिले उम्मेदवारहरूले मतदाता रिज्याउनका लागि गाउँ–गाउँमा विभिन्न सहानुभूति देखाइरहेका छन् । कोही खेतबारीका काम गरिरहेका जनतासँगै आफू पनि कुटो समाएर काम गर्दै छन् भने कोही उखुबारीमा जनतासँगै उखु बोकेर हिँडिरहेका छन् । थरीथरीका उपायहरू उम्मेदवारहरूले प्रयोग गरिरहेका छन् ।
चुनावको समयमा जनतासँग नजिक भएर मत माग्नु, उनीहरूको दुःखमा साथ दिन्छु भन्नु, बाटो नभएको ठाउँमा बाटोको व्यवस्था गरिदिने, पुल नभएको ठाउँमा पुल बनाइदिने, सिँचाइ नभएको ठाउँमा सिँचाइको व्यवस्था गरिदिने, किसानलाई मल समयमै पाउने वातावरण बनाइदिने, विद्यालय नभएको ठाउँमा विद्यालय बनाइदिने, शिक्षा र स्वास्थ्य सेवा निःशुल्क गरिदिने, भोकालाई खाना दिने, घर नहुनेलाई घर बनाइदिने, जग्गा नहुने भूमिहीनलाई जग्गा उपलब्ध गराइदिने, सुकुम्वासीलाई लालपुर्जा वितरण गरिदिने, बिजुली नभएको गाउँमा बिजुली पु¥याइदिने, किसानको उत्पादनलाई बजारीकरणका लागि व्यवस्थापन गरिदिने, ढल नभएको ठाउँमा ढलको व्यवस्था गरिदिने जस्ता एजेन्डा उम्मेदवारले कण्ठ पारेका छन् । कतिपयले रोजगारीका कुरा उठाएका छन् कतिपयले उद्योग–कारखाना खोल्ने, जीर्ण अवस्थामा रहेका उद्योग सञ्चालनका लागि काम गर्ने, ज्येष्ठ नागरिकका लागि विशेष व्यवस्था गर्ने, टोल–टोलमा ज्येष्ठ नागरिक केन्द्र स्थापना गर्ने जस्ता विषयहरू उम्मेदवारहरूले कण्ठ नै पारेका हुन्छन् ।
जनताको ‘सेन्टिमेन्ट’ कसरी क्याच गर्ने भन्ने कुरामा उम्मेदवारहरू निकै चलाख थिए र छन् पनि । जनतासामु गएर यस्ता विषय पूरा गर्ने वाचा स्वतन्त्र वा दलका उम्मेदवारहरूले गर्नु कुनै नौलो विषय थिएन र छैन पनि । उम्मेदवारले घरदैलो गर्दा जनतालाई बाँड्ने आश्वासनका पोका यिनै हुन् । जुन आश्वासन बाँडेर पटक–पटक सत्ताको तर मार्नेहरू पनि फेरि चुनावी रेसमै छन् ।
चुनाव जितेर सांसद बनेर आफ्नो चुनावी क्षेत्रमा एकपटक पनि पाइला नराख्नेहरूको संख्या ठूलै छ । जनतालाई विकासका सपना देखाएर जनतासामु गरिएको वाचा बिर्सिएर आफ्नै विलासितामा रमाइरहनेहरूले हुँदा–खाने निमुखा जनताको दुःखलाई सधैं सत्ताको भर्याङ किन बनाइरहन्छन् भन्ने प्रश्न मुख्य मुद्दा हो । जब सांसद बन्नका लागि जनताको घरमा गएर ठूला–ठूला विकासका सपना बाँडिन्छ भने त्यो सरासर झुटको मार्केटिङ भइरहेको बुझ्न कठिन छैन । निमुखा जनताको अभावलाई सत्ताको टेको बनाएर विलासिताको स्वादमा रमाउँदै नेता बन्ने प्रवृत्तिका कारण आज धनी र गरिबबिचको खाडल झन् ठूलो बन्दै गइरहेको छ । धनी झन् धनी हुँदै जाने र गरिब झन् गरिब हुँदै जाने अवस्था ढाँटको खेती गर्नेहरूको भीड बढिरहेकाले सिर्जना गरिरहेको छ ।
जब चुनाव जितेर सत्तामा पुग्छन्, मेरो भूमिका के हो ? मैले गर्ने मुख्य जिम्मेवारी के हो ? मेरो चुनावी क्षेत्रका जनतालाई कस्तो सेवा दिन सक्छु ? यति धेरै प्रतिस्पर्धीहरूमध्ये मलाई किन जिताए ? कम्तीमा मेरो निर्वाचन क्षेत्रका जनताको दुःखमा कसरी साथ दिन सक्छु ? उनीहरूसँग आफूले गरेका वाचा कसरी पूरा गर्ने ? यी सबै कुरा सर्लक्कै बिर्सने परिपाटी जीवितै छ । कम्तीमा आफूले जिताएर पठाएको सांसदले केन्द्रमा बसेर जनमुखी नीति बनाउन, निमुखामैत्री कार्यक्रम ल्याउन सरकारलाई खबरदारी गरोस् भन्ने अपेक्षाको भारी जनतामा हुन्छ । आफूले जिताएर पठाएको दलले बनाएको सरकारले भ्रष्टाचारीलाई कडा कारबाही गरोस्, बिल तिर्ने ठाउँमा लाइन बस्न नपरोस्, पासपोर्टका लागि लाइन बस्न नपरोस्, जुनसुकै सरकारी अड्डामा काम लिएर जाँदा एक पैसा पनि घुस खुवाउन नपरोस्, लाइसेन्स प्राप्त गर्न दुई वर्ष कुर्न नपरोस्, सरकारी अस्पतालमा लाइन नबसी सहजै स्वास्थ्य सेवा पाइयोस्, किसानी गर्नेहरूका लागि समयमा मल र बीउ पाइयोस्, पानीको व्यवस्था होस्– यस्ता अपेक्षा हुन्छन् । तर सत्तामा पुगेपछि यी सबै विषय सत्ताको प्राथमिकतामा पर्दैनन्, पारिँदैनन् ।
वर्षा लाग्छ, खोला–बाढी–पहिरोले सिंगै गाउँ नै बगाउँछ, त्यहाँ कुनै पूर्व तयारी गरिँदैन । सडकको दुर्दशाका कारण वर्षेनी कयौँ मानिस सवारी दुर्घटनामा ज्यान गुमाउँछन्, तर सडकको स्तरोन्नति सत्ताको प्राथमिकतामा पर्दैन । शीतलहरले तराईलगायतका जनता वर्षेनी मृत्युवरण गर्छन्, सत्ताको ध्यान त्यता कहिल्यै हुँदैन । भूमिहीन जनता सडककै बासमा जीवन गुजार्न बाध्य हुन्छन्, सत्ताको आँखा त्यहाँ कहिल्यै पर्दैन । दुर्गम ग्रामीण बस्तीका जनताले सिटामोलसमेत समयमा नपाउने अवस्था जीवितै छ, सत्ताको ध्यान त्यहाँ पुगेकै हुँदैन । सदियौँदेखि विभेदको चपेटामा परेका दलितहरूको अवस्था अन्त्य गर्न सत्ताले आवश्यक ठानेकै हुँदैन ।
आफैले मत दिएर जिताएर पठाएको सांसदलाई सिंहदरबारमा भेट्नसमेत नपाइने अवस्था अहिले पनि छ । गाउँबाट आएका निमुखा जनताले सिंहदरबारमा आफ्नै क्षेत्रका सांसदलाई भेट्न पाउँदैनन् । विकासको कुरा त निकै परको विषय हुन्छ । जनताले आफ्नो गाउँघरमा मत माग्न आउनेहरूलाई निडर भएर प्रश्न गर्न चुक्नु हुँदैन । जनतालाई ठूला–ठूला विकासका सपना देखाउनेहरूलाई जनताको प्रश्नबाट भाग्ने छुट छैन । जनताको प्रश्न नसुन्ने कहिल्यै नेता बन्न सक्दैन । राजनीतिलाई उत्तम सेवा नठान्ने नेतृत्वले निमुखाहरूको पीडा कहिल्यै थाहा पाउने प्रयास गर्दैन ।
मत माग्न आउनेहरूलाई सामान्यभन्दा सामान्य, आफ्नै गाउँमा आवश्यक शिक्षासम्बन्धी, स्वास्थ्यसम्बन्धी र सेवासम्बन्धी सरोकारका प्रश्न उम्मेदवारलाई गर्ने हिम्मत गरौँ । मुलुकको मुहार फेर्न, हुँदा–खाने जनताको आवश्यकता पूरा गर्न, जनस्तरका सवाललाई सत्ताको केन्द्रमा राख्न हामी मतदाताहरूले सही मान्छे, सही दल, सही विचार र सेवावाद चिन्न सकेनौँ भने हामीले त दुःख पाउने नै छौँ, हाम्रा सन्ततिले पनि यही दुःख दोहो¥याउनेमा कुनै शंका छैन । निमुखाहरूको अभावलाई सत्ताको भ¥याङ बनाएर विलासिताको तर मार्ने अभ्यास सधैँका लागि बन्द हुनुपर्छ ।