२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

निर्वाचन र राष्ट्रिय सरोकार

shivam cement
डा. कृष्ण बेलबासे
२०८२ फागुन १७ गते ०६:०५
Shares
निर्वाचन र राष्ट्रिय सरोकार

देशमा आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचनको परिणाम कस्तो आउला भन्ने विषयमा यतिबेला कथित विश्लेषक, विज्ञ, सञ्चारकर्मी, दलका पदाधिकारी, उम्मेदवार तथा मतदातासमेत आ–आफ्नो धारणा सार्वजनिक गरिरहेका छन् । तर ती अभिव्यक्ति र आचरणलाई हेर्दा– ठोस निष्कर्षमा पुग्न सकिने अवस्था देखिँदैन । एकातर्फ धेरैजसो मत तार्किक र तथ्यमा आधारित भन्दा पनि पूर्वाग्रही वा भावनात्मक देखिन्छन्; अर्कोतर्फ तुलनात्मक रूपमा सन्तुलित देखिने विश्लेषणसमेत निर्वाचन प्रक्रिया, मतदाताको मनोविज्ञान र अन्तिम घडीमा हुने समीकरण परिवर्तनका कारण अनिश्चित नै रहन्छन् ।

निर्वाचन कुन परिस्थितिमा, कस्तो राजनीतिक पृष्ठभूमिमा र कस्तो शक्ति–सन्तुलनका बिच सम्पन्न हुन्छ भन्ने कुरा स्वयं परिणाम निर्धारणको प्रमुख आधार हो । प्रतिनिधि सभाको कार्यकाल पूरा नहुँदै निर्वाचनको वातावरण बन्नु, सत्ता समीकरणको तीव्र फेरबदल र त्यससँग जोडिएका आन्तरिक तथा बाह्य प्रभावका बहसहरूले चुनावलाई अझ जटिल बनाएको छ । यस सन्दर्भमा धेरैको आशंका के छ भने निर्वाचनपश्चात् गठन हुने सरकार राष्ट्रिय हित, सुरक्षा र जनकल्याणभन्दा बाह्य प्रभावको दबाबमा बढी परिचालित हुने खतरा रहन्छ । यो आशंका सहमत वा असहमत हुन सकिने विषय हो, तर यसलाई पूर्णतः नजरअन्दाज गर्न पनि मिल्दैन ।

यद्यपि उम्मेदवारहरूमध्ये धेरै शिक्षित, अनुभवी र ऊर्जावान् युवा पनि छन् । केहीले स्वच्छ शासन, आर्थिक समृद्धि र सुशासनका प्रतिबद्धता व्यक्त गरेका छन् । त्यसैले ‘जो जिते पनि देशले निकास पाउँछ’ भन्ने मत राख्नेहरू पनि छन् । तर प्रश्न के हो भने– के निर्वाचन अभियानमा राष्ट्रिय सार्वभौमसत्ता, सुरक्षा, सामाजिक सद्भाव र दीर्घकालीन रणनीतिक हितजस्ता मूल विषयहरू पर्याप्त रूपमा उठाइएका छन् ? प्रायः भाषण र बहस हेर्दा, आफ्नै निर्वाचन क्षेत्रलाई विकासको आश्वासन दिने, प्रतिस्पर्धीमाथि आरोप–प्रत्यारोप गर्ने र अल्पकालीन लोकप्रियता खोज्ने प्रवृत्ति बढी देखिन्छ । यस क्रममा प्रयोग हुने भाषा र शैलीले सामाजिक सद्भावलाई समेत आघात पु¥याउने गरेको देखिन्छ । यस्ता अभिव्यक्ति र आचरणले उम्मेदवारको दृष्टि, परिपक्वता र प्राथमिकता स्पष्ट पार्छन् ।

आजको विश्व राजनीति तीव्र प्रतिस्पर्धात्मक चरणमा छ । भूराजनीतिक रूपमा संवेदनशील क्षेत्रहरूमा रहेका साना राष्ट्रहरू प्रत्यक्ष वा अप्रत्यक्ष दबाबको घेरामा छन् । दक्षिण एशियाका धेरै देशहरू बाह्य शक्तिहरूको प्रभाव–प्रतिस्पर्धाबाट प्रभावित छन् । नेपाल पनि त्यसबाट अछुतो छैन । यस्तो अवस्थामा राष्ट्रिय सहमति, सामाजिक एकता र स्पष्ट विदेशनीति अत्यावश्यक हुन्छ । दुर्भाग्यवश, हामीभित्रै विभाजनका रेखाहरू गहिरिँदै गएको अनुभूति हुन्छ ।

नेपालमा धर्म, जाति, भाषा र संस्कृतिको विविधता ऐतिहासिक यथार्थ हो । तर लामो समयसम्म यी विविधताबीच सामञ्जस्य कायम रह्यो । पछिल्ला दशकहरूमा राजनीतिक परिवर्तन र अधिकारवादी बहसका नाममा पहिचान–आधारित ध्रुवीकरण बढेको छ । विविधताको सम्मान लोकतान्त्रिक मूल्य हो, तर त्यसैलाई राजनीतिक लाभका लागि अतिरञ्जित गरी समाजलाई विभाजित गर्ने प्रवृत्तिले दीर्घकालीन अस्थिरता निम्त्याउन सक्छ । बाह्य शक्तिहरूले प्रभाव विस्तार गर्न समाजभित्रको विभाजनलाई उपयोग गर्ने विश्वव्यापी अभ्यास रहेको तथ्यलाई पनि हामीले बिर्सनु हुँदैन ।

इतिहासतर्फ फर्केर हेर्दा, नेपालले सानो र स्रोत–सीमित राष्ट्र भएर पनि औपचारिक उपनिवेशवाद भोग्नुपरेन । राष्ट्रिय एकता र स्वाधीनताप्रति शासक तथा जनस्तरमा रहेको प्रतिबद्धताले त्यसमा भूमिका खेलेको थियो । तर, २००७ सालको राजनीतिक परिवर्तनपछि खुला सीमाना, वैदेशिक प्रभाव र आन्तरिक शक्ति–संघर्षका कारण राजनीति क्रमशः बाह्य चासोको केन्द्र बन्दै गयो । २०४६ सालको परिवर्तनपछि बहुदलीय लोकतन्त्र पुनस्र्थापित भए पनि सुशासन, पारदर्शिता र उत्तरदायित्वको अपेक्षा पूरा हुन सकेन । भ्रष्टाचार, अनियमितता र सत्तास्वार्थले जनअसन्तोष बढायो ।

त्यस असन्तोषको पृष्ठभूमिमा सशस्त्र द्वन्द्व, त्यसपछि शान्ति प्रक्रिया र नयाँ राजनीतिक संरचनाको निर्माण भयो । तर प्रणाली परिवर्तनसँगै राजनीतिक संस्कारमा अपेक्षित सुधार आउन सकेन । सत्तामा पुगेका धेरै शक्तिहरूले जनउत्तरदायित्वभन्दा सत्ता–साझेदारी र लाभको राजनीति प्राथमिकतामा राखेको आरोप जनस्तरमा व्याप्त छ । यही कारण नयाँ–नयाँ आन्दोलन र वैकल्पिक शक्ति खोज्ने प्रवृत्ति दोहोरिँदै आएको छ ।

पछिल्ला राजनीतिक घटनाक्रममा संवैधानिक संस्थाहरूको भूमिकामाथि पनि प्रश्न उठेका छन् । संविधानले राष्ट्रपतिलाई राष्ट्रिय एकताको प्रवद्र्धक र संविधानको संरक्षकको भूमिका दिएको छ । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको सन्तुलन लोकतन्त्रको मूल आधार हो । तर प्रतिनिधि सभा विघटन, सरकार गठन–विघटनका विवाद र तिनमाथि न्यायिक पुनरावलोकनको प्रक्रियाले संस्थागत विश्वसनीयताको बहस जन्माएको छ । न्यायालयप्रति जनविश्वास कमजोर हुँदा राज्य संयन्त्र समग्रमै प्रश्नको घेरामा पर्छ । न्याय ढिलो हुनु, संवेदनशील मुद्दामा लामो समय निर्णय नआउनु वा राजनीतिक प्रभावको आशंका हुनु लोकतान्त्रिक स्वास्थ्यका लागि राम्रो संकेत होइन ।

संविधानले राष्ट्रहितलाई स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाभिमान र जनहितसँग जोडेको छ । राष्ट्रिय हितविपरीत आचरण दण्डनीय हुने व्यवस्था पनि छ । तर, व्यवहारमा राज्यका अंगहरूले यी सिद्धान्त कति प्रभावकारी रूपमा कार्यान्वयन गरिरहेका छन् भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । सुरक्षा संयन्त्र, प्रशासनिक निकाय र राजनीतिक नेतृत्व सबैको आचरणले राष्ट्रिय सुरक्षाप्रति संवेदनशीलता झल्किनुपर्छ । अन्यथा नागरिकस्तरमा निराशा र अविश्वास बढ्छ ।

यस परिप्रेक्ष्यमा मूल जिम्मेवारी कसको हो भन्ने प्रश्न पनि उठ्छ । शासन–प्रशासनमा रहेका व्यक्तिहरूको नियत, नैतिकता र क्षमता नै राज्यको चरित्र निर्धारण गर्ने कारक हुन् । गलत निर्णय, अपारदर्शी व्यवहार र स्वार्थकेन्द्रित राजनीति नै आजको असन्तोषको प्रमुख कारण हुन् । बाह्य प्रभावलाई मात्र दोष दिएर आन्तरिक कमजोरी ढाक्न सकिँदैन । बाह्य हस्तक्षेप तब सम्भव हुन्छ, जब आन्तरिक संरचना कमजोर हुन्छ ।

त्यसैले आजको आवश्यकता आत्ममूल्यांकन हो– व्यक्तिगत पनि, संस्थागत पनि । लोकतन्त्र केवल निर्वाचनको अभ्यास होइन; त्यो उत्तरदायित्व, पारदर्शिता र नैतिकताको संस्कार हो । स्वार्थ तत्कालीन लाभ दिन सक्छ, तर दीर्घकालीन रूपमा मानसिक असन्तोष र सामाजिक विखण्डन जन्माउँछ । त्याग र दायित्वले भौतिक कठिनाइ ल्याए पनि नैतिक सन्तुष्टि र स्थायित्व दिन सक्छ । के हामी यस यथार्थलाई स्वीकार गर्न तयार छौँ ?

आगामी निर्वाचनको परिणाम जे आए पनि राष्ट्रिय सुरक्षा, सामाजिक सद्भाव र जनहितको प्रश्न ओझेलमा पर्नु हुँदैन । दल, उम्मेदवार र मतदाता– सबैले अल्पकालीन लाभभन्दा दीर्घकालीन राष्ट्रिय हितलाई प्राथमिकतामा राख्नुपर्ने बेला यही हो । विभाजन होइन, सहमति; आरोप होइन, उत्तरदायित्व; स्वार्थ होइन, त्याग– यी मूल्यहरूलाई व्यवहारमा उतार्न सके मात्र लोकतन्त्र सुदृढ हुनेछ ।

अन्ततः देशको भविष्य कुनै एक व्यक्ति वा दलले मात्र निर्धारण गर्ने होइन । सजग नागरिकता, सुदृढ संस्था र नैतिक नेतृत्वको संयुक्त प्रयासले मात्र राष्ट्र सुदृढ बन्छ । त्यसैले निर्वाचनलाई केवल सत्तापरिवर्तनको माध्यम नभई आत्मसुधार र राष्ट्रिय पुनर्संरचनाको अवसरका रूपमा लिन सकियो भने मात्र यसको वास्तविक सार्थकता सिद्ध हुनेछ ।

सम्बन्धित खबर