२०८१ मंसिर ८ गते शनिवार / Nov 23 , 2024 , Saturday
२०८१ मंसिर ८ गते शनिवार

कथा : पढेको मान्छेले बुझ्नु पर्दैन ?

ADV
२०८१ भदौ ८ गते ०६:२५
कथा : पढेको मान्छेले बुझ्नु पर्दैन ?

–ओम बस्नेत

बिहानै एक चक्कर अलैँची बारी घुमेर घरमा आई पुग्छन् सिपाही कान्छा । आमा छोरा एक–अर्कामा हेरा हेर गर्छन् । यो देखेर अलिक ठूलो स्वरमा बोल्छन्, “के भयो हौ यो घरमा आज । ना बोल्ने कसम खाको छ कि क्या हो, के भयो कोही बोल्दैन त ?”

“आबो के बोल्नु र गाउँमा मुख देखाई सक्नु भएन । तिम्रो प्यारो छोरीले हामीलाई घारको न घाटको बनाएर गयो” भनेर सिपाहीनी कान्छीले अर्कापट्टि मुख फर्काएर खबर सुनाइन् । 

“हन के पो सुन्नु पर्छ हौ यो घरमा भ्यानै । कोसँग गोयेछ ?”

“जा है तेरो पापालाई च्या ल्याइदे” भनेर वीरमानलाई आमाले भित्र पठाइन । 

वीरमान गए पछि बुढाले सोधे, “आँन्ता के रे, कोसँग मुन्टेछ हाँङ्गमा भन्तह ?”

“को भन्नु र यो वीरमान र हाँङ्गमासाँगै कलेस पड्ने साथी आरे । कोही–कोही बेला हाम्रोमा आउँथ्यो नि हौ त्यो गोरे केटा । आफै भान्सा घारमा पोस्नु नादेको होइन ? अब राख्नु नि ज्वाइँलाई चुलामा” भनेर सम्पूर्ण विवरण सुनाउँछिन् । 

वीरमानले भित्रबाट कुरा सुनिरहेको थियो । हुन पनि हो, त्यो दिन पापाले जातको कुरा निकालेर कस्तो अप्ठ्यारोमा पारेका थिए । रोशनको अघि उसको शिर निहुरेको थियो सरमले । हाँङ्गमाले रोशन र वीरमानलाई बरन्डामै खाना ल्याइदिएकी थिई । 

हाँङ्गमाले पनि राती चैट गर्दा लेखेकी थिई, “नरिसाउनु है रोशन, यो उच–नीचको पर्खालबाट हामी निस्किनु नै पर्छ । आज नभए भोली मेरो पापा–आमाले बुझ्नु हुन्छ । कसैले न बुझे पनि वीरमान दा त हाम्रो पक्षमा हुनुहुन्छ नि ! हस् शुभरात्री !”

रोशन कलेजको होनहार विद्यार्थी । सुन्दर सुशील अनि गायन र वाद्यवादन क्षेत्रमा धेरै अगाडि बढेको भएर होला हाँङ्गमा जस्ती सुन्दरी आकर्षित भएकी । 

वीरमानले चिया टुलमा राखेको मात्र थियो मणिपुरे बटुका र टुल तल घुरयाँनमा पुग्ने गरी फ्याँकेर सिपाही कान्छाले रिस पोखाए । 

“तेरो बाउलाई घरी–घरी यो घरमा हुलेर लोदोर लागेको हो । आबो म घिमिरे बाजे ल्याएर घर चोख्याउँछु अनि किरिया पनि गर्छु । छोरा–छोरीहरू पढेको छ, आबो ज्ञानी पो हुन्छ की भनेको त झन् मूर्ख र आबुज पो हुँदो रहिछ, थूइया । मेरो लागी मरेको बराबर भयो । पढेको मान्छेले बुझ्नु पर्दैन ?”

“पापा के भाको तपाई ? जिउँदो मान्छेको क्रिया गर्दा र जात पातको कुरा गर्दा अहिले कानुनले तपाईँलाई जेल पु¥याउँछ । जात पात केही होइन पापा यो कुरा कति सम्झाउनु तपाईँलाई । हाम्रो हाँङ्गमा पढे लेखेको भएर अनि बुझेर नै यो कदम उठाएको हो” भनेर वीरमानले धेरै हिम्मत गरेर पापालाई सम्झाउनु खोज्यो । 

सिपाही कान्छालाई के भयो कुन्नि छोरीको कोठामा कहिले नजाने मान्छे आज उसको पलँङ्गमा ढल्केर एकोहोरो बेरवा सुर्ती तान्दै चिम्सो आँखा चिम–चिम पारेर के सोचेको हो, आफै जानुन् । 

ADVADV

सम्बन्धित खबर

Advertise