–प्रा. डा. युवराज संग्रौला
संस्कृत भाषामा ‘क्रान्ति’को अर्थ ‘उन्नयन’ हुन्छ, तर हामीले क्रान्तिको अर्थ ‘विध्वंस’ भन्ने बुझ्यौँ । उन्नयन निर्माण हो, जो परिवर्तनले ल्याउँछ । तर, हामीले गरेको क्रान्तिले, सत्ता ल्यायो, नवउदारवाद ल्यायो, देशमा एसियाली विकास बैंक र विकास सहयोगका नाममा ८० प्रतिशत ऋणको चङ्गुल ल्यायो, शिक्षामा चेतनाको नाश ल्यायो, संचारमा अफवाह ल्यायो, वकालतमा बिचौलिया ल्यायो, चिकित्सामा व्यापार ल्यायो, संस्कारमा रछ्यान ल्यायो र देशभक्तिमा घुन ल्यायो । किन ? किनकि क्रान्ति उन्नयनका लागि होइन, एक दरबार होइन, अनेक दरबार निर्माण गर्न आयो । अनि आज देश जनताबाट प्रत्येक सासमा ऋण तिर्न बाध्य छ ।
चेतना ‘मानिसलाई वृत्तिबाट तथ्यमा निहित सत्यको खोजी गर्दै विज्ञान र विज्ञानको पछाडि रहेको सत्यमा टेकेर जीव बोधमा पुग्ने’ मार्ग हो, तर आज देशको शिक्षा गाँजा खाने स्वतन्त्रता, यौन अश्लीलता प्रकट गर्ने सामाजिक सञ्जाल, महिलाको सम्मान र सिर्जनाको अधिकार मासेर पोइल जाने गीत, राजनीतिमा विज्ञता होइन चटक र सनक निर्माण गर्ने खेल हुँदै, धर्म मानवता होइन व्यापारी र अपराधीले धन कमाउने अस्त्र बन्दै एउटा रछ्यानको निर्माण हुँदैछ ।
त्यसैले चेतनाले निर्देश गर्ने उन्नयनको ‘खेती’ नेपालको भविष्यले गर्ने क्रान्ति हो । मानिस होइन विचारको चाहना हो, क्रान्ति जसले नेपालीको बौद्धिकतालाई पलायनका लागि होइन सिर्जनाका लागि क्रियाशील पारोस् । एउटै मान्छे जीवनभर मन्त्री हुने वा सामन्तवाद समाप्त पारेर ‘समयको पारखी र राष्ट्र बोक्न सक्ने विज्ञलाई मन्त्री बनाओस् ।’
यसो गर्न शिक्षामा क्रान्ति चाहिन्छ । १६ वर्ष पुगेको शिक्षित युवा उद्यमी बनोस्, किसान बनोस्, खेलाडी बनोस्, निर्माता बनोस्, गाँजाको स्वतन्त्रताको खोजी गर्ने र मर्नका लागि विदेशिने नागरिक नबनोस् ।
जब एउटा बालक हुर्किन्छ, उसले मानवता सिक्न पाओस्, आमाका भाषामा सोच्न पाओस्, बाबुका औँलाबाट सीप सिक्न पाओस्, देशको इतिहासका कथा सुन्न पाओस्, देशको भूगोल चिन्न पाओस्, कविता लेख्न पाओस्, गीत गाउन पाओस् र हुर्किन पाओस् । उसले आफ्नै भाषामा बोल्दा सजाय नपाओस् र कुरा नबुझ्दा शिक्षाको पिटाइ खाएर अपराध सिक्न नथालोस् । उसले विज्ञान र गणितका सिद्धान्त सिक्दै विज्ञानलाई निर्माणमा लगाउन पाओस् । उसले झोला बोकाएर कालो मोसो दल्ने जत्थाको नाइके बन्नु नपरोस् । विदेशबाट शिक्षा विकासका लागि ल्याएको २५० मिलियन डलर कहाँ गयो ?
प्लटिङ्ग र आवासमा बैंक र वित्त संस्थाको ६० प्रतिशत किन उद्योग गएन ? उद्योगको विकास कसरी ०.६ प्रतिशतमा पुग्यो ? किन नेपाल भारतमा ५ खर्बको रेमिट्यान्स पठाइ रहेको छ विदेशबाट १४ खर्ब ल्याएर ? किन १५ खर्बको आयात गरेको हो ? ६ अर्बको पोस्टदाना र सुपारी किन आयात गर्नुपर्ने हो ? गरिब देशका मन्त्रीले करोडको गाडी किन चढ्नुपर्ने पर्ने हो ? यी प्रश्न समाधान गर्न देशले वित्त पुँजीवाद होइन, सामाजिक नागरिकतन्त्र खोज्नुपर्छ, टिकटक र गाँजा होइन । राजनीतिमा सेवकको खोजी गर्नुपर्छ मालिकको होइन । नयाँ दिमागको खोजी गर्नु पर्छ, निवृत्त दिमागको होइन । बौद्धिकको खोजी गर्नुपर्छ, सन्कीको होइन ।