–डा. टीकाराम पोखरेल
सभाहल भरिभराउ थियो ।
पूर्वसूचनाअनुसार कार्यक्रम सुरु हुन लाग्यो ।
सुरुमा विनम्र मन्चमा उक्ल्यो र सबैको ध्यानाकर्षण गराउँदै भन्यो, ‘अब म विनम्रतापूर्वक कार्यक्रम संचालन गर्न गैरहेको छु ।’
यसपछि विनम्रले विनम्रतापूर्वक भन्यो, ‘अब म कार्यक्रमको अध्यक्षताको आसन ग्रहण गरिदिनहुन समादरणीय फलानोज्यूलाई अनुरोध गर्दछु ।’
समादरणीय गएर सभापतिको आसन ग्रहण गरिसकेपछि विनम्रले भन्यो, ‘अब म आजको कार्यक्रमका केन्द्रबिन्दु राजनेता फलानोलाई प्रमुख अतिथिको आसन ग्रहणका लागि अनुरोध गर्दछु ।’
यसपछि विनम्रले क्रमशः श्रद्धेय, आदरणीय, दूरदर्शी, भविष्यद्रष्टा, विद्वान् सबैलाई विनम्रतापूर्वक आसन ग्रहण गरायो ।
यसरी व्यस्ताताका बाबजुद आजको कार्यक्रममा आएर आसनमा विराजमान भइदिएकामा विनम्रले राजनेता, श्रद्धेय, आदरणीय, श्रीमान्, प्रबुद्ध, दूरदर्शी, भविष्यद्रष्टा र विद्वानहरूप्रति आभार प्रकट गर्यो ।
विनम्रको अनुरोध मुताविक प्रमुख अतिथिले पानसमा बत्ती बालेर कार्यक्रम उद्घाटन गरे ।
त्यसपछि मन्चमा रहेका राजनेता फलानोदेखि लिएर श्रद्धेय, आदरणीय, श्रीमान्, प्रबुद्ध, दूरदर्शी, भविष्यद्रष्टा, विद्वान् र अन्त्यमा समादरणीय सबैले भाषण गरे ।
कार्यक्रमको अन्त्यतिर प्रमुख अतिथिको आसनबाट उठेर राजनेताले दमदार भाषण गरे । उनको भाषण सकिएपछि विनम्रले सारगर्भित भाषण गरेकामा राजनेताप्रति अभार व्यक्त गर्दै दर्शक दीर्घामा रहेका दर्शकलाई पनि ताली बजाउन अनुरोध गर्यो ।
तर, ताली बजेन ।
मन्चमा बसेकाहरूले दर्शक दीर्घामा हेरे । त्यहाँ कोही पनि थिएन ।