-हरिविनोद अधिकारी
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी
मन नलागी–नलागी पढाउँदै गर्दा
म तिम्रा कलेटी परेका ओठ सम्झन्छु
पाप्रा उप्केका कुर्कुच्चा सम्झन्छु
सयौं टालाले टालेको चोलो सम्झन्छु
धुजाधुजा भएको पटुकी सम्झन्छु
खुम्चिँदैखुम्चिँदै घुँडामुनि आएको गुन्युँ सम्झन्छु
अनि, तिम्रा निधारका कालीगण्डकी सम्झन्छु ।
मासु सकिएर, हिउँले खाएको पहाडझैँ
हातका नसा सम्झन्छु
पत्रै पत्र परेका गाला सम्झन्छु
छाम त तिमी त देख्दिनौ
थाप्लोमा नाम्लोले उजाड बनाएको तालु सम्झन्छु ।
त्यसैले आमा ! मैले फेरि झोला बोक्दै छु ।
उता, पर पिँढीको डिलमा झोक्राएका
बाको जुत्ता सम्झन्छु
जुत्ता च्यातेर निस्केको
कान्छी औंला सम्झन्छु
आँसु त कहिले झारेनन् तर
आँखाभित्र लुकेको सेती सम्झन्छु
अहँ, मन फुकाएर कहिले हाँसेनन् उनी
तर, पीडाले क्षत बिक्षत भएको मुटु सम्झन्छु ।
अँगेनाको डिलमा कराहीभरी दूध तताउँदा
आमासित गरेको गन्थन सम्झन्छु
धोतीको सप्को हालेर आमा सुँक्कसुँक्क गर्दा
‘म मरेको छैन’ भनेको सम्झन्छु
कछाडको फेरोमा पटुकाभित्र
सुगाले खाएर छाडेको
आधाउधी अम्बा सम्झन्छु
घेरो च्यातिएको टोपी अनि भोटो सम्झन्छु ।
यतिका वर्षपछि ती सबै पीडा भोग्दै गर्दा
म तिमीलाइ सम्झन्छु
मनले मनलाई मनसँगै साट्न पनि त
धन चाहिँदो रहेछ
आफन्तले आफन्तलाई आफन्तसँगै
चिनाउन पनि त धन चाहिँदो रहेछ ।
त्यसैले बा ! म फेरि झोला बोक्दै छु ।
खै जिन्दगिलाइ के दिएँ
र, जिन्दगीले के दियो मलाई ?
आफ्नै मन आफैँसँ खुसी नहुँदा
अरूलाइ कसरी खुसी बनाउन सकिएला र ?
देशलाई के दिएँ र देशले के दियो भन्नू ?
तर, देशले ठूलो गुन लाएको छ
मलाई हरियो पासपोर्ट थमाइदिएको छ
अनि, बल, बैँस, चहना बेच्ने
शुभकामना दिएको छ ।
त्यसैले म फेरि झोला बोक्दै छु ।
कास्की, हालः टोकियो, जापान