–मेघराज भट्टराई
नेताले स्वतन्त्रताको महत्त्व नबुझेर दुःख पायौं
कार्यकर्ताले विवेक गुमाएर दुःख पायौं ।
पस्थ्यो पत्रिकाको कार्यालयमा सेना थर्काउँदै
त्यो अपमान आज हामीले बिर्सिएर दुःख पायौं ।
के बोल्ने, के लेख्ने, उसको आदेशमा चल्ने हामी
कर्तव्यबोध नभएर युवा शक्ति नबुझेर दुःख पायौं ।
घर के हो, पर के हो, पीडा भोगेका अग्रजलाई सोध
घरको मिठास, परिवारको माया नजानेर दुःख पायौं ।
समग्रलाई मूल्यांकन गर्नु हरेकभित्र दानव भएको
यो तीतो यथार्थलाई स्वीकार नगरेर दुःख पायौं ।
युद्ध देखेकालाई सोध युद्ध नदेखेका मानिस हो !
सुन्दर जहाँ उजाड भएको नेदेखेकाले दुःख पायौं ।
निरंकुश हैकमवाद लादेर मानिसको मुख थुन्ने
यो दृश्यको पीडा नबुझेका नेतृत्वले गर्दा दुःख पायौं ।
स्वतन्त्रता, सार्वभौमिकता हामी मानवको पहिलो यात्रा
लोभ, लालचको घैला भर्ने चाहनाले गर्दा दुःख पायौं ।
स्वाभिमान गुमेपछि मरेतुल्य जीवन हुन्छ मानवको
आत्मसम्मान के हो ? नबुझेपछि मानवले दुःख पायौं ।