-जुनू घिमिरे
लाग्छ, शहर पराधीन छ
हिमाल, पहाड, आकाशमा
तुवाँलोको अधीन छ
प्रकृतिको स्वच्छन्द रूप कस्तो छ ?
यो शहरले बोल्न सक्दैन
हावा आफैंमा बिरामी छ
बाटो प्लास्टिक र धुलोको
अतिक्रमणमा परेको छ
पानी बोतल र जारहरूमा बन्द छ
तैपनि, यो शहरलाई
सुन्दरीहरूको शहर भनिन्छ ।
सुन्दरीहरू शहरमा
तुवाँलोले आकाशको नीलो रङ लुकाएर
घुर्मैलो रूप देखाएझैं प्रस्तुत हुन्छन्
वास्तविक रूप लुकाएर
लाग्छ, नारीहरू सुन्दर बन्ने चाहनामा
महँगा सौन्दर्य सामग्री र व्यापारीको
अधीनमा छन् ।
गाउँ स्वाधीन छ
माथि हिमालको छाता ओढेर
चिसो हिउँमा सुतेका मान्छेहरूमा
तातोपना छ
सेतो हिउँको नतातिने टोपीभित्र
आत्मसम्मानले बाँचेको आत्मविश्वास छ ।
प्रकृतिको छटामा
ऊ जस्तै सुन्दर नारीहरू मुस्कुराइरहेछन्
जसले सौन्दर्यको कुनै वस्तु
अनुहारमा पोतेका छैनन् ।
चौरी दुहुँदा दूधका सिर्काहरू
उफ्रिएर अनुहारमा पुग्छन्
नौनी होस् या छुर्पी बनाउँदा
हातमा लागेको चिल्लो
अनुहार र ओठमा दलेर
स्याउका दानालाई माथ खुवाउने
सुन्दरता बोक्छन्
हिउँले नुहाएका नारीहरू ।
वास्तविक रूप लुकाएर हिँड्ने शहर
आफ्नै सुन्दरतामा रमाएको हिमालबीच
एउटा समानता भेट्छु म
हिमालमा जैविक दूधले
अनुहारको यात्रा गर्छ
शहरमा क्लिजिङ मिल्कका नाममा
अजैविक दूधले अनुहार धुन्छन् ।
सुन्दर बन्ने नाउँमा यो शहरले कतै
आफैंमाथि अन्याय त गरेको छैन ?