–चन्द्रबहादुर बस्याल
व्यवस्था फेरियो तर कथा उस्तै
झरीभित्र भिज्ने छानाको व्यथा उस्तै
राजतन्त्र गयो, गणतन्त्र आयो
तर, हात खाली, पेट भोकले करायो ।
सपना देखायो हरेक नेतृत्वले
तर, बाटो उही हो, बिर्से निर्धनले
पुग्दैन गाउँसम्म विकासको बादल
अझै त पाइला चिप्लिन्छ ढुंगा र कादल ।
शिक्षा सस्तो भयो, कागजमा मात्र
विद्यालय नजिक, किताब अझ टाढै
स्वास्थ्य निःशुल्क छ रे अब त
तर, औषधि किन्ने पैसाको गम्भीर कथा ।
खसीका मासु भोजमा खाँदा
मजदुरको पसिना आँसुमा झरिरहँदा
हिजोका राजा, आजका नेता
तर, खाली भुइँमान्छेको रह्यो अभावको लता ।
परिवर्तन आयो झन्डाको रङमा
सुख कहिले आउँछ जनताको आँगनमा ?
आशाका किरणले छुँदैनन् गाउँ
जहाँ त्यहीँ छ भोक र चिसोको छाया ।
व्यवस्था फेरियो तर जिन्दगी उस्तै
सपना देख्ने आँखाको कथा उस्तै
कुन दिन आउला जनताको मुहारमा
सच्चा परिवर्तनको उज्यालो बिहान ?