-विक्रम कार्की
विश्वविद्यालय अन्तर्गत रिसर्च कमिटीको स्वीकृत प्रस्तावपत्रको अनुसन्धान विधिअनुसार झोलाभरी प्रश्नावली बोकेर परिमाणत्मक तथ्यांक संकलन गर्न जाँदा मानिसहरुको बक्र जीवनरेखा अध्ययन गरेपछि फेनोमोनोलोगिकल स्टडी गर्न पनि मन लाग्दो रहेछ ।
क्वान्टिटेटिभ रिसर्चअन्तर्गत सोसियल सर्भेको क्रममा जिरी नगरपालिकाको वडा न. ५ र ७ मा नमुना छनौट गरी विप्रेषण प्राप्त गर्ने र नगर्ने २४० वटा घरधुरिहरुको आर्थिक सामाजिक अवस्थाको तथ्यांक संकलन गरिएको थियो ।
यस क्रममा देखेको आर्थिक सामाजिक परिस्थितिको कारण क्वालिटेटिभ रिसर्चमा चाख लागेर वैदेशिक रोजगारीको क्रममा भोगेका भुक्तभोगीबाट नै कहानी ग्रहण गरी दुख पीडालाई उतार्न पनि मन लागेर आउँदो रहेछ ।
एक जना माइग्रेन्टको भोगाई
जिरी नगरपालिकाको कर्मचारी सविना गजमेरलाई साथ लिएर घरमा पुग्दा आफ्नो दैनिकी कार्य घन चुड्दै थिए, यज्ञबहादुर विश्वकर्मा । हामी जाने वित्तिकै अन्तरंग छलफल गर्न तयार भए उनी ।
बाजेको पालामा जुंगुबाट जिरी–५ मा बसाई सराइ आएका यज्ञबहादुर विश्वकर्माको जग्गाको नाममा डेड रोपनी मात्र छ । आफ्नो पुर्खौली पेशाले जीविकोपार्जन मात्र गरे, थप जमिन जोड्न सकेनन । चरम गरिबी र आफ्नो पेशा आरन नचलेपछि २०७१ सालमा १ लाख खर्च गरेर वैदेशिक रोजगारको लागि कतार पुगेका उनी डेड महिना मात्र त्यस ठाउँमा टिक्न सके । खानबाहेक मासिक नेपाली रुपयाँ ४० हजार मिल्छ भनेकोमा मासिक नेपाली रुपयाँ १२ हजार मात्र पाए । आफ्ना दर्दानाक दिनहरु विना हिच्किचाउट पस्कन थाले । दलालले गरिब दलितलाई समेत ठग्न छोडेन । लामो कुराकानीको क्रममा, आफ्ना विगत स्मरण गरे ‘आफू ठगिएको थाहा पाएपछि जीवनको मूल्यहिनतासँग नमिठो गरी रोएको कुरा मार्मिक ढंगले बताए (काम नगरे भोकै मरिने रहेछ, तर ठगेको कुरा बोल्न सकिएन’ ।
थोरै तलबमा कतार गएर जोखिमपूर्ण कामबाट दिक्क भएका उनी कतारबाट अन्य मुलुकमा जाने निधो गरे । पुनः नेपाली रुपयाँ ४० हजार खर्च गरी कतारबाट राम्रो ज्याला पाउने आशाले मध्यपूर्वको मलेशिया उडे । छलफलको क्रममा अनुहार अलि उज्यालो बनाइ भने, ‘काममा दुख भएता पनि मलेशियामा भनेको तलब पाएपछि अलिकति घाउमा मलम लागे जस्तो भयो र तीन वर्षको बसाइमा आफ्नो पारिश्रमिकले सबै ऋण तिर्ने काम गरें । तीन वर्षको अवधिमा जम्मा २ लाख बचाएकोमा, नेपाली रुपयाँ ५० हजार साथीले खाइदियो, नेपालीले पनि आफ्नालाई नै ठग्दा रहेछन ।’ बाँकी पैसाले एउटा सामन्य घर बनाइ फेरि आफ्नै थलोमा आरनको काम थालेछन् ।
केही वर्ष घरमै सुख दुख आफ्नो पेशामा रमेका यज्ञबहादुरको मनमा कुरा खेल थाल्यो । आफ्नो पुरानो काम गरिरहेको बेलामा गाउँका मानिसहरु विदेश गएको देखेर उनलाई फेरि विदेश जान मन लागेछ, मानिसको जीवन आशै आशमा बाँच्दो रहेछ भन्ने उनलाई लाग्यो ।
२०७६ साल असारमा नेपाली रुपयाँ १ लाख ५० हजार खर्च गरेर ठूलो प्रगति गर्छु भन्ने आशले साउदीतर्फ हानिए । जाने बित्तिकै एउटा बैंकको गार्डेन सफा गर्ने काम सुरु भयो, तर महिनाको नेपाली रुपैयाँ २५ हजार मात्र पाउने गरी । खान समेत आफ्नै पैसाले व्यहोर्नु पर्ने । टाउकोमा दाइने हातले छाम्दै उनले भने, ‘चौपट गर्मिमा सर्पसँग खेल्दै झाडी सफा गर्दा आफैंलाई धिकारे, कहिलेकाँही बोल्न आउँदो रहेछ ( हरे भगवान, के ले मलाइ यहाँ डोर्याएर ल्यायो ‘उनीसँगै बसेकी श्रीमतिको अनुहार हेर्दै गम्भीर मुद्रामा भने, ‘१ महिना पछि बिरामी भएर थला पर्न थालियो, सुतेकै ठाउँमा डराउने, काप्ने, रुने, कराउने जस्ता शारिरीक र मानसिक रोगले गर्दा काम गर्न सकस भयो, आफ्ना साना छोराछोरीसहित परिवारको यादले खुब सतायो । मानवीय स्वास्थ्य संकटमा पनि मालिकले काम दिएन ।’
बिरामी भएपछि क्याम्पमा लगेर छाडी दिने काम भयो । त्यही समयमा कोरोनो भाइरस महामारीको बतास चल्यो, मनमा झन् आतेस लाग्यो । प्रदेशीको रोगी ज्यानले घरमा खबर गर्नु भन्दाबाहेक केही देखिन र बारम्बार खबर गरें, बिरामी र दुखी अवस्थाबारे । मेरो मायाको कारण बाउले ३ लाख ५० हजार ऋण गरेर मलाइ झिकाउनु भयो र जन्म भूमि पुनः देख्न पाएँ । साहुको ऋण र ब्याज सम्झँदा मनमा हुँडलो आउँछ । घर फर्के पछि पनि रोग निको हुन् ३, ४ महिना लाग्यो र रोग निको भएपछि आफ्नो परम्परागत आरन पेशामा रमाउन थालियो । अहिले मासिक नेपाली रुपयाँ १५ हजार कमाइ हुन्छ, त्यही कमाइले घरमा जीविकोपार्जन र सानो छोरोलाई निजी स्कुलमा पढाउन समेत सकेको छु ।
यज्ञबहादुर विश्वकर्मा र जिरी नगर कार्यपालिकाको कार्यालयबीचको दूरी करिव ५ किलोमिटर छ, तर उनले हालसम्म स्थानीय सरकार (नगरपालिकाको कार्यालय) देखेको छैनन् । चुनाबको बेला भोट माग्न आएका र भोट हाल्ने दिन कार्यकर्ताहरु बुढो बाउलाई बोकेर मतदान केन्द्रसम्म लैजान आएकाबाहेक नेताहरुको मुख देखेका छैनन् र नेताहरुको पनि आफ्नो सानो आरन उद्योगमा नजर छैन ।
उनको सानो उद्योगलाई यूएनडिपीले केही सहयोग गरेको रहेछ । तर नगरपालिकाको कुनै अनुदान पाएका छैनन रे । अनुदान माग्न गएका पनि छैनन् रे । उनले घन कुट्दा कुट्दै म तिर पुलुक्क हेरेर भने, ‘यसमा मलाइ कुनै ग्लानी छैन, किनकि गरिबको नाममा धनी पोस्ने देशमा यस्तै हो ।’
यज्ञबहादुर विश्वकर्मा जस्ता व्यक्ति प्रतिनिधि पात्र मात्र हुन् । यसले वैदेशिक रोजगारीको क्रममा कष्टपूर्ण जीवन गुजारेका माइग्रेंट्सका अवस्थालाई प्रतिनिधिमुलक रुपमा प्रतिविम्वित गरेको छ ।
मुलकमा कृषि तथा पशुपालन र साना तथा घरेलु उद्योगको सम्भाना हुँदा हुँदै, घरमा काम गर्दा गर्दै वा पढ्दापढ्दै विदेशको ‘ग्ल्यामर’ सुनेर आकषित भएर विदेशिएका तथा गरिबी, असमनता र अभावको कारण परिवारलाई खुशी वनाउन देश छाडेर हिड्न बाध्य भएका नेपालीहरु धेरै छन् ।
वैदेशिक रोजगारीको क्रममा दर्दानाक पीडा खपी स्वदेशमै घरेलु पेशामा रमाउने यज्ञबहादुर विश्वकर्मा जस्ता पात्र पनि सयौ छन् । हजार हण्डर ठक्कर खाएर पनि फेरि विदेश हानिन खोज्नु र स्वदेशमा काम गर्नेको पनि राज्य प्रति विश्वास टुट्नुको कारण ‘समृद्द नेपाल र सुखी नेपालीको’ नारासहित गठन भएका विभिन्न तहका सरकार सञ्चालकहरुलाई गिज्याई रहेको आभाष हुन्छ ।
आज लाखौ खर्च गरी ज्यानको बाजी थापेर यात्रामा निस्कने भिड र विश्वव्यापी महामारीको कारण अवरोध भएको वैदेशिक रोजगारी संसारकै डिस्कोर्स भइरहेको छ । आफ्नो भविष्यप्रति मुलुकले विश्वास दिलाउन नसक्दा लाखौ युवाहरु कहालीलाग्दो जीवन यात्रा गरिरहेका छन् । सबैले बुझेको दुखः बेरोजगारी र योसँग जोडिएर आउने गरिबी तथा अभावका कुराहरु हुन् । यसैलाई टेकेर आर्थिक सामाजिक परिवर्तनको नाममा आउने नयाँ सत्ता पुरानो भन्दा फरक नदेख्दा आर्थिक सामाजिक परिवर्तन भई जनताको वास्तविक सत्ता आउँछ भनि विभिन्न समयका राजनीतिक आन्दोलनमा लागेका मानिसहरु लाजले मुर्छित देखिन्छन् ।
(कार्की नेपाल खुला विश्वविद्यालय, अर्थशास्त्र विषयका एमफिल स्कलर हुन् ।)
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies