– अपूर्व नेपाल
सूचना प्रविधि आजको युगको मेरुदण्डजस्तै बनिसकेको छ । विश्व अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, सञ्चार, प्रशासनदेखि रोजगारीका हरेक क्षेत्रमा यसको प्रयोग र प्रभाव व्यापक रूपमा देखिएको छ । नेपालजस्तो विकाशोन्मुख मुलुकका लागि सूचना प्रविधिमा रहेको सम्भावना झन् विशेष महत्वको विषय हो । भौगोलिक विविधता, जनशक्ति, युवा वर्गको सक्रियता, प्रवासी नेपालीको सञ्जाल, सरकारी तथा निजी क्षेत्रमा भएको लगानी र विस्तार हुँदै गइरहेको डिजिटल पूर्वाधारले नेपाललाई सूचना प्रविधिको क्षेत्रमा ठूलो छलाङ मार्न सक्ने अवस्थामा पु¥याएको छ ।
नेपालमा सूचना प्रविधिको विकास केही दशक अघिबाट सुरु भए पनि पछिल्ला केही वर्षमा यसको तीव्रता उल्लेखनीय छ । स्मार्टफोनको पहुँच, इन्टरनेटको व्यापक विस्तार, डिजिटल शिक्षाको प्रबद्र्धन, सरकारको डिजिटल नेपाल फ्रेमवर्कजस्ता योजनाले सूचना प्रविधिलाई प्राथमिकतामा राख्न थालेका छन् । डिजिटल पेमेन्ट, ई–गभर्नेन्स, टेलिमेडिसिन, अनलाइन शिक्षा, क्लाउड कम्प्युटिङ, साइबर सेक्युरिटी, ब्लकचेन र कृत्रिम बुद्धिमत्ता (एआई) जस्ता क्षेत्रहरूमा नेपालले सम्भावनाका ढोका खोलिरहेको छ ।
नेपालमा युवाशक्ति ठूलो सम्पत्ति हो । शिक्षित, प्राविधिक र डिजिटल प्रविधिप्रति चासो राख्ने ठूलो युवा जनसंख्या सूचना प्रविधिको मुख्य चालक बन्न सक्छ । विश्व बजारका लागि आवश्यक पर्ने सफ्टवेयर विकास, एप निर्माण, वेबसाइट डिजाइन, डिजिटल मार्केटिङ, डेटा एनालिटिक्सजस्ता क्षेत्रमा नेपाली युवाहरूको क्षमता बढ्दो छ । यस्ता सीपले देशभित्रै रोजगारी सिर्जना मात्र होइन, वैदेशिक मुद्रा आर्जनमा समेत महत्वपूर्ण योगदान दिन सक्छ ।
फ्रिलान्सिङ, रिमोट वर्क र आउटसोर्सिङजस्ता सूचना प्रविधिसँग सम्बन्धित कार्यप्रणालीले विश्वभरको काम नेपालीले घरमै बसेर गर्न सक्ने वातावरण निर्माण गरिरहेको छ । नेपालका थुप्रै युवाहरू यति बेलै अपवर्क, फ्रिलेन्सर, फाइरि जस्ता प्लेटफर्ममार्फत विश्वका ग्राहकसँग काम गरिरहेका छन् । यदि सरकारले यी कार्यलाई वैधानिक, कर प्रणालीसँग जोडिएको र सुरक्षित बनाउने हो भने सूचना प्रविधिले युवालाई विदेशिन नपर्ने र देशमै भविष्य देख्ने अवसर दिन सक्छ ।
शिक्षा प्रणालीमा सूचना प्रविधिको प्रयोगले गुणस्तरीय शिक्षाको पहुँच बिस्तार गर्न मद्दत पु¥याउन सक्छ । ग्रामीण भेगका विद्यालयमा इन्टरनेट, कम्प्युटर र आवश्यक सामग्रीको उपलब्धता गराउन सके अनलाइन शिक्षा, डिजिटल लाइब्रेरी, स्मार्ट लर्निङ प्लेटफर्महरू मार्फत शिक्षामा क्रान्ति ल्याउन सकिन्छ । यसले शहरी–ग्रामीण शिक्षामा रहेको खाडल मेट्न सहयोग पुग्छ ।
सरकारी सेवा प्रवाहलाई पारदर्शी, प्रभावकारी र तीव्र बनाउन सूचना प्रविधिले ठूलो भूमिका खेल्न सक्छ । ई–गभर्नेन्स प्रणालीलाई अझ सुदृढ बनाउने हो भने सेवा प्राप्तिमा देखिने ढिलासुस्ती, भ्रष्टाचार र अनियमितताको अन्त्य गर्न सकिन्छ । नागरिक वडापत्र, डिजिटल नागरिकता, भूमि अभिलेख व्यवस्थापन, कर प्रणाली, सामाजिक सुरक्षा योजनाको वितरण सबै कुरालाई डिजिटल प्रणालीमार्फत व्यवस्थित गर्न सकिन्छ ।
नेपालले सूचना प्रविधिमा विदेशी लगानी आकर्षण गर्नसक्ने सम्भावना पनि ठूलो छ । भारत, चीन, अमेरिका, युरोप लगायत मुलुकले सूचना प्रविधिमा नवप्रवर्तनको खोजी गरिरहेका बेला नेपालले सस्तो श्रम, इन्जिनियरिङ क्षमतायुक्त जनशक्ति र अंग्रेजी भाषाको सामान्य बुझाइलाई उपयोग गर्दै विदेशी कम्पनीहरूलाई आउटसोर्सिङको केन्द्र बनाउन सक्छ । यो सम्भावनालाई सार्थक बनाउन प्राविधिक शिक्षाको गुणस्तर, उच्च गतिका इन्टरनेट सेवा, डेटा सेन्टरहरूको स्थापना र साइबर सुरक्षामा लगानी आवश्यक छ ।
सूचना प्रविधिको विकाससँगै चुनौतीहरू पनि छन् । साइबर सुरक्षाको सवालमा नेपाल अझै कमजोर देखिन्छ । व्यक्तिगत डेटा सुरक्षाको अभाव, कमजोर कानुनी संरचना, अनलाइन ठगी र हैकरहरूको सक्रियता निरुत्साहित तुल्याउने खालका छन् । यिनको समाधानका लागि कडा कानुनी संरचना, दक्ष जनशक्ति र साइबर शिक्षा आवश्यक छ । साथै, डिजिटल पहुँचको असमानता, विशेषगरी ग्रामीण क्षेत्रमा, सूचना प्रविधिको समावेशी विकासमा अवरोध बनिरहेको छ । त्यसैले डिजिटल पूर्वाधार विकासलाई समान रूपमा विस्तार गर्नुपर्छ ।
अन्ततः नेपालका लागि सूचना प्रविधि केवल विकासको विकल्प होइन, अनिवार्यता हो । रोजगारी, शिक्षा, शासन, स्वास्थ्य, कृषि, पर्यटन सबै क्षेत्रमा यसको प्रभावकारी प्रयोगले नेपाललाई समृद्धिको यात्रामा अघि बढाउन सक्छ । शासकीय इच्छाशक्ति, सार्वजनिक–निजी साझेदारी र जनचेतना अभिवृद्धि हुने हो भने सूचना प्रविधि नेपालको आगामी पुस्ताका लागि भविष्य निर्माण गर्ने मुख्य आधार बन्न सक्छ ।
(नेपाल, आइटी विज्ञ हुन् ।)