
अमेरिका गणतन्त्र, संघीयता र सुशासनमा अब्बल छ, त्यहाँ दुई कार्यकालका राष्ट्रपतिले छोरी पढाउन जागिर खाँदै छन्, तर हाम्रो अवस्था निकै फरक छ । यहाँका राष्ट्रपतिले छोरीलाई समानुपातिकमा प्रयास गरे, विरोध आएपछि कार्यकाल सकिने बेला राष्ट्रिय सभामा लग्ने प्रयत्न गर्दै छन्, अर्की छोरी त सचिवालयमा नै छिन् । राष्ट्रपति ताकिरहेका अर्काले छोरी–बुहारी सबैलाई नियुक्ति गराए । पछिल्लो हालत भने खराब भयो चितवन र कञ्चनपुरमा, दाजु, भाइ, ज्वाइँचेला कसैलाई पद दिन बाँकी कसैले राखेन । सुशासनको धज्जी उडेको देखेर देशैभरि नयाँ सुनामी आयो, धेरैलाई बढार्यो, अहंकारको खुट्टा भाँच्यो । करिब चार दशकमा देशैभरि लागेको फोहोर र अन्तर्राष्ट्रिय रूपमा गिरेको साख जोगाउने कसरी हो, यो काम सहज छैन । नयाँले थालनी गर्ने आशा सबैले गरेका छन् र कम्फर्टेबल बहुमत मात्रै होइन संविधान संशोधनसमेत गर्न सक्नेगरी दुईतिहाइनजिक पुर्याएका छन् । भाद्र २४मै ढलिसकेको हुँकार समाप्त पार्न अर्को ६ महिना समय लाग्यो, तैपनि एक दिनअघिसम्म पनि हुँकारले आफ्नो हुँकार छाडेन । तानाशाही हुँकारले सबैतिर ट्रेड युनियनहरू खडा गरेर आफ्ना कार्यकर्ता भर्ती गरेको छ, यो सफा गर्न कति समय लाग्ला ! आँट गरोस् नयाँले, सहज सक्छ ।
भाद्रको छानबिन आयोगले होम डेलिभरी गरे पनि चुनावपछि मात्रै प्रतिवेदन दिएकाले चुनाव भाँडिएन राम्रै भयो । तर सिफारिसका हरेक बुँदा आमजनमानसले जान्न पाउनुपर्छ र त्यसमा जोकोही रहेका भए पनि कडा कारबाही जरुरी छ । हिजोका मल्लिक आयोगलगायतका प्रतिवेदन थन्किएकाले बेथिति मौलाउन पायो । अबको प्रतिवेदन राम्ररी कार्यान्वयन हुनुपर्छ, नभए पुनरावृत्ति नै हुनेछन् यस्ता काम । आज अन्तर्राष्ट्रिय न्युज च्यानलहरूले जसका विषयमा हाइहाइ गरिरहेका छन्, त्यो साखमा कुनै ढलपल गर्न दिनुहुँदैन, दिएमा भने फेरि अहिलेको शक्ति पनि बढारिनेछ ।
सुनामी आएकै हो, जसरी छिट्टै सुनामी आयो त्यसैगरी चार दशकमा लोकतन्त्र र गणतन्त्रका नक्कली नारा देखाएर जे–जति फोहोर थुपारियो ती तुरुन्तै सफा हुनुपर्छ । अब जनता पर्खिने मनस्थितिमा छैनन् । सिंहदरबारदेखि पालिका तह र अझ बिचौलिया र ठेकेदारहरू टोलटोलमा पुगेर लेबी उठाउँदै छन् । जनताको घाँटी निमोठेर टोल सुधार समिति भन्दै रकम असुलिरहेका छन् । ती फोहोर सोहोर्ने ताकत बालेन, रवि, राजुहरूसँग हुने आशा गरिएको छ । धेरै विज्ञ मानिसहरू सांसद बनेका छन्, आशा गरौं अब कमसे कम भुटानमा जस्तै मन्त्री पदका लागि योग्यता, विज्ञता र क्षमता होला, मन्त्री मात्रै होइन सबै सार्वजनिक पद ठेक्कामा चलेको अतीतलाई छिटो सुधार्न जरुरी छ । न्यायालयदेखि बैंकसम्म, प्रशासनका हरेक अंग प्रहरी, सेना, संस्थान, विश्वविद्यालय, राजदूतदेखि हरेक क्षेत्रमा ढोके, हुक्के, बैठके, चाटुकार, ठेकेदार, बिचौलियाको प्रवेश भएको छ, यसलाई सुधार्ने खाका आउनुपर्छ । दल र कोटामा परेका आमनियुक्ति बदरदेखि स्वच्छ, सुशासनयुक्त विधिको शासन यो देशले खोजेको छ । आज गफाडीको गफजस्तै भएका छन् योजनाहरू, पूर्वाधारहरू । कतिले विदेशतिरै सम्झौता गरेर केही रकम यता देखाएर उतै ब्रह्मलुट गरेका छन् भनिन्छ । ‘लुटको धनमा फुपूको श्राद्ध’ गरेका छन् । गठबन्धन गर्दै ठगबन्धन गर्ने राजनीतिदेखि वाक्क भएर जनताले एकलौटी मत दिएका हुन्, ‘अति सर्वत्र वर्जयेत्’ छ ।
धर्मनिरपेक्ष भन्दै पशुपतिलिंगमा सुनको नाम लेखाउने, ईश्वरका नाममा शपथ खुवाउन खोज्दा ‘त्यो पर्दैन’ भन्ने, ‘ठोरीराम’ भन्दै छिमेकी चिढ्याउने, नक्सा बनाएको देखाएर राष्ट्रवाद भन्ने, तर त्यो नक्सा प्रयोग नगर्ने, भ्यू टावर र विमानस्थलहरूमा कमिसन मोहमा पर्ने, आफ्नै मान्छेबाहेक अरू नदेख्ने, कार्यकर्ताबाहेक जनता नै नदेख्ने आफ्नै झुन्डहरूबाट आफूलाई राजनेता भनाउनेजस्ता गलत शैलीले सजिएको निर्लज्ज र नकच्चरो शासन बिदा भएको छ । त्यो राणाशासन थियो, दोस्रो राणाशासन ढलेको छ अहिले, तेस्रो पनि ढाल्ने अवस्था आइनलागोस् ।
नयाँ उदाएका शक्तिलाई जति छिटोछिटो राणाहरूले जस्तै ताडना दिए, त्यसले अहिलेकालाई सत्तामा आउन थप प्रेरित गरेको छ, मलजल गरेको छ । जनताको सहानुभूति अधिक पाएर अधिक मतान्तर गर्दै विजयी बनेका छन् । सबै संयन्त्र आफूले च्यापेर बस्दा पनि बानेश्वर, सिंहदरबार जल्दा थाहा नपाउने, हेलीतुइन समातेर भाग्ने र आफ्नो मत कति आउँदै छ भन्नेसम्मको आकलन गर्न नसक्नेले नक्कली राजनेताको पद बोकेर लामो समय बसेको जनताले थाहा पाए र बढारे यसपालि । आफूले संविधान बनाए, लत्याए अनि कुल्चिए । कहिले संसद्लाई कोमामा धकेले, बौरेर आउँदा घाँटी नै थिचे, हत्या गरे, क्रूर र तानाशाही नकच्चरो यस्तो शासन कमसे कम राणाश्रीहरूमा पनि थिएन ।
श्रीमा एक ३ भने ढलेका छैनन्, लाज पचाएर सबैको अभिभावक हुन्छु भनिरहेका छन् । ती कसरी मुख देखाउँछन् थाहा छैन । पछिल्लो संघीयता र गणतन्त्रको फोहोरको पोको तिनैलाई धुन लगाउनुपर्छ, उनैलाई साक्षी राखेर । यी पनि नेपालका खराब पात्रमध्ये एक हुन्, सायद यी थिएनन् भने देशले आजको संकट भोग्नुपर्ने थिएन । सिउँदो, सिन्दूर धेरैको बाँकी रहेन, पूर्वाधार कुनै बाँकी रहेन । यी र यिनकै सहयात्रीले जन्माएका हुन्, आजका बालेनहरूलाई ।
हिजो कांग्रेसले एमालेको झुन्ड जन्मायो, यी दुई भएर देशले धान्नै नसक्ने माओवादी हिंसा जन्मायो र यी श्री ३ हरूकै कारण जन्मेको हो, अहिलेको बालेन । यसले फोहोर मात्रै सोहोर्दैन, उसलाई दिएको, उसको समूहलाई दिएको दुःख र हैरानीको हिसाब पनि माग्नेछ । यति ठूलो ऋण लगाउने देशमाराहरूको हरिबिजोग चाहेको थियो, देशले पाएको छ अहिले । काठमाडौं मात्रै होइन तराईका क्षेत्रीय दलहरू समेत बढारिनुले देशले काँचुली फेर्ने संकेत मिलेको छ । अहिलेसम्म टुटफुट गराएर जति देशलाई भत्काइयो, त्यसको हिसाब आउनु्पर्छ, दण्डसजाय पाउनुपर्छ । कानुन नभए ल्याउनुपर्छ अनि जनमतसंग्रह गरिनुपर्छ । विद्यमान संविधान झुटको पुलिन्दा हो, प्रदेश संरचना दलहरूको खेतीस्थल हो, कमाउने थलो हो, मन्त्री उत्पादन गर्ने कारखाना मात्रै हो । अविलम्ब यसमा पुनर्विचार हुनुपर्छ । लोकतन्त्रलाई लोभतन्त्र बनाउने, गणतन्त्रलाई गलाको गाँडतन्त्र बनाउने, संघीयता भन्दै जबर्जस्ती अघिल्लो प्रणालीले समेत नगरेको काम बढी केन्द्रीकृत गर्ने, खसीको टाउको देखाएर बूढी बाख्रीको व्यापार गर्ने नक्कलीहरूले अब सावधान हुन जरुरी छ, भएका फोहोरहरू छिट्टै सफा हुन जरुरी छ ।