२०८२ चैत ६ गते शुक्रवार / Mar 20 , 2026 , Friday
२०८२ चैत ६ गते शुक्रवार
Ads

बाह्य राजनीति र आत्मविश्लेषण

shivam cement
लेखराज रेग्मी
२०८२ चैत ६ गते ०६:००
Shares
बाह्य राजनीति र आत्मविश्लेषण

विश्व राजनीति फेरि अशान्त मोडमा उभिएको छ । अमेरिका र इजरायलल मिलेर इरानविरुद्ध आक्रमण गरेसँगै विश्वमा अर्को युद्धको खतरा मडारिएको छ । युद्धको धुवाँबीच सत्य सधैं जटिल हुन्छ– साम्राज्यवादी हस्तक्षेपको विरोध र प्रतिरोधी जनताको समर्थन एकैसाथ सम्भव हुन्छन् । यही द्वन्द्वभित्र हाम्रो दृष्टिकोणको परीक्षा हुन्छ ।

पंक्तिकार कुनै पनि प्रकारको साम्राज्यवादी युद्धको विरोधमा रहन्छ । तर यसको अर्थ इरानको आन्तरिक धार्मिक सत्ताको दमन, अन्धविश्वास र उत्पीडनको समर्थन होइन । धर्ममा आधारित राज्यव्यवस्थाभन्दा जनतामा आधारित, श्रमजीवी वर्गको सहभागितामा निर्मित लोकतान्त्रिक र न्यायपूर्ण सत्ताको पक्षमा उभिनु नै आजको आवश्यकता हो । इरानका जनताले पनि स्वतन्त्रता, समानता र सामाजिक न्यायको मार्ग रोजून्, यो नै हाम्रो शुभेच्छा हो ।

अमेरिकी सत्ता संरचनाले बाह्य युद्धलाई आन्तरिक संकट व्यवस्थापनको औजार बनाउँदै आएको इतिहास छ । इरानको राक्षसीकरण, तेल र प्राकृतिक स्रोतको नियन्त्रण, युद्ध उद्योगको विस्तार र अकूत मुनाफाको लोभ– यी सबै पुँजीवादी–साम्राज्यवादी चरित्रका अभिन्न अंग हुन् । बाह्य सत्रु निर्माण गरेर आन्तरिक असन्तोषलाई दबाउने रणनीति नयाँ होइन । तर, यथार्थको यही पाटोलाई बेवास्ता गर्दै अमेरिकी हस्तक्षेपको पक्षपोषण गर्नु आफैंमा अर्को प्रकारको आत्मसमर्पण हो ।

तर यति भन्दैमा हामी आफ्नै घरभित्रको कमजोरीबाट आँखा चिम्लिन सक्दैनौं । राष्ट्रिय सार्वभौमसत्ता, लोकतान्त्रिक अभ्यास र जनउत्तरदायित्वबारे वस्तुनिष्ठ बहस नगरी बाह्य शक्तिलाई मात्र दोष दिनु पर्याप्त हुँदैन । साना–ठूला अनुदान र ऋणमा अल्झिएको राजनीति, अवसरवाद र आत्ममुग्धता, यी सबैले देशलाई गम्भीर संकटतर्फ धकेलिरहेका छन् ।

इतिहासले हामीलाई धेरै पाठ दिएको छ । नक्सलबाडी आन्दोलनदेखि तेलंगानाको किसान संघर्षसम्म र पेरुको अनुभवसम्म उत्साह र आत्मालोचनाबीचको सन्तुलन गुम्दा आन्दोलनहरू कमजोर भएका उदाहरण प्रशस्त छन् । बाह्य प्रेरणाले चहकिएर आन्तरिक बहस र आत्मसमीक्षालाई बेवास्ता गर्दा दीर्घकालीन क्षति हुन्छ । यही त्रुटि दोहो¥याउने हो भने इतिहासले फेरि क्षमा गर्ने छैन ।

आज विश्व परिदृश्य झन् जटिल बनेको छ । रुस–युक्रेन युद्ध जारी छ । मध्यपूर्वमा नयाँ मोर्चा खुलेको छ । चीन पनि आफ्नो रणनीतिक स्थान सुरक्षित गर्न सक्रिय हुनेछ । यस्तो अवस्थामा बाह्य परिस्थिति परिवर्तनशील छ । तर, हाम्रो आत्मगत तयारी, एकता र स्पष्ट दिशा भने कमजोर देखिन्छ । दम्भ, अहंकार र विभाजनले सम्भावनाहरू खेर गइरहेका छन् । क्रान्तिकारी लचकता आत्मसमर्पण होइन र दृढता जडता पनि होइन । वस्तुगत अवस्थाको विश्लेषण गर्दै आत्मगत कमजोरी सच्याउनु नै साँचो माक्र्सवादी पद्धति हो । यदि हामीले आफ्नै सीमितता नचिनेर केवल अनुकूल परिस्थितिको प्रतीक्षा गरिरह्यौं भने अवसरहरू हातबाट फुस्किरहनेछन् ।

आज आवश्यक छ– गम्भीर आत्मालोचना, विचारको स्पष्टता र कार्यगत एकता । अस्थायी समीकरण र भावनात्मक उत्तेजनाले होइन, दीर्घकालीन दृष्टि र जनआधारित कार्यक्रमले मात्र परिवर्तन सम्भव हुन्छ । जनताले बारम्बार विश्वास दिए, तर नेतृत्वले विभाजन र दम्भ देखाइरह्यो । यदि फेरि उस्तै दोहोरिए मूल्य महँगो पर्नेछ ।

देश र जनताका लागि सम्भावनाहरू अझै समाप्त भएका छैनन् । तर समय सीमित छ । बाह्य परिस्थितिको उतारचढावलाई मात्र हेरेर होइन, आन्तरिक एकता र जिम्मेवारीको बोधबाट अगाडि बढ्नुपर्छ । जागौं, उठौं र आमूल परिवर्तनको यात्रामा लामबद्ध होऔं । यही ऐतिहासिक आवश्यकता हो र यही हाम्रो सामूहिक दायित्व ।

सम्बन्धित खबर