-मोहम्मद जाकिर हुसैन
मार्क्सवाद एक सामाजिक, राजनीतिक र आर्थिक सिद्धान्त हो, जसले समाजको संरचना र परिवर्तनको अध्ययन गर्दछ । यसका प्रमुख संस्थापक जर्मन दार्शनिक र अर्थशास्त्री कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्स हुन् । उनीहरूका संयुक्त कृति कम्युनिस्ट म्यानिफेस्टो सन् १८४८ ले मार्क्सवादको आधारशिला खडा गरेको थियो । यस सिद्धान्तले वर्ग संघर्ष, ऐतिहासिक भौतिकवाद र श्रमिक वर्गको मुक्ति जस्ता अवधारणाहरूलाई प्रमुख बनाएको छ ।
मार्क्सको एउटा चर्चित भनाइ छ– मानिसहरूको चेतनाले होइन, उनीहरूको सामाजिक अस्तित्वले चेतनालाई निर्धारण गर्छ । यसको मतलब समाजमा विचार, धर्म, राजनीति आदि सुपरस्ट्रक्चरभन्दा आर्थिक अवस्था नै प्रमुख कारक हो जसले अन्य सबै कुरा निर्धारण गर्छ । यसले विचार, भावना वा चेतनालाई मुख्य मान्छ । यो आदर्शवाद हो जुन दर्शनमार्फत भन्छ कि विचार वा चेतनाले नै वास्तविकता निर्माण गर्छ । यसमा विश्वास गरिन्छ कि चेतना वा विचारहरू नै सबै वस्तुहरू र समाजको उत्पत्तिको मूल हुन् । मार्क्सवादले यस दृष्टिकोणलाई अस्वीकार गर्छ ।
यो सिद्धान्तलाई ऐतिहासिक भौतिकवाद भनिन्छ, जसले समाजको विकास र परिवर्तनलाई बुझ्ने वैज्ञानिक तरीका प्रदान गर्दछ । मार्क्स र एङ्गेल्सका अनुसार समाजको रूपान्तरण मुख्य रूपमा उत्पादन सम्बन्ध र आर्थिक संरचनाबाट निर्धारित हुन्छ । मार्क्सवादको सिद्धान्तअनुसार समाजको विकास र परिवर्तनको मूल तत्व चेतना वा विचार नभई भौतिक अवस्था पदार्थ हो । त्यसैले मार्क्सवादले चेतना वा विचार प्रधानता होइन, पदार्थ प्रधानतालाई वैज्ञानिक सत्य ठान्दछ ।
मार्क्सवादी दृष्टिकोणमा चेतना र विचार दुवै सुपरस्ट्रक्चरअन्तर्गत पर्दछन् जुन आर्थिक आधारबाट निर्धारित हुन्छ । मार्क्सको भनाइ छ, ‘मानिसको चेतनाले उसको अस्तित्व निर्धारण गर्दैन, बरु उसको सामाजिक अस्तित्वले चेतना निर्धारण गर्छ ।’ यस अर्थमा चेतना वा विचारहरू स्वतन्त्र रूपमा उत्पन्न हुँदैनन् । ती समाजका भौतिक अवस्था, उत्पादन सम्बन्ध र वर्ग संरचनाअनुसार विकास हुन्छन् ।
मार्क्सवादले चेतना (विचार)लाई मुख्य शक्ति मान्ने आदर्शवादको विरोध गर्छ । मार्क्सवादअनुसार मानव इतिहासको मूल प्रेरणा वर्ग संघर्ष, उत्पादनका साधनहरूमा भएको परिवर्तन र आर्थिक सम्बन्धहरूमा आएको टकराव हो । चेतना वा विचारहरू ती भौतिक अवस्थाको प्रतिबिम्ब मात्र हुन्, कुनै स्वायत्त शक्ति होइनन् ।
मार्क्सवादले चेतना र विचारलाई द्वितीयक मान्दछ र भौतिक अवस्था वा उत्पादन प्रणालीलाई प्राथमिक शक्ति मान्दछ । यस मार्क्सवादी दर्शनअनुसार मानव इतिहासको विकास कुनै देवी–देवताको विचार वा महान् व्यक्तिको दर्शनबाट होइन, बरु उत्पादनका साधनहरूमा भएको परिवर्तन, वर्ग संघर्ष र भौतिक अवस्था (जस्तै : भूमि, श्रम, औद्योगिक विकास) बाट निर्देशित हुन्छ । जब उत्पादन प्रणाली परिवर्तन हुन्छ, तब त्यसले समाजको संरचना, राज्य, कानुन, धर्म र संस्कृति जस्ता पक्षहरूमा पनि गहिरो असर पार्छ । यसरी मार्क्सवादी दर्शनमा भौतिक प्रधानता नै वैज्ञानिक र व्याख्यात्मक दृष्टिकोण हो जुन समाजलाई व्यवहारिक रूपमा विश्लेषण गर्न प्रयोग गरिन्छ ।
मार्क्सवादी दर्शनमा पदार्थ भन्नाले केवल आँखाले देखिने वस्तु मात्र होइन यसले सबै भौतिक यथार्थलाई जनाउँछ जसले मानव जीवन, समाज र इतिहासलाई बनाउँछ, प्रभावित गर्छ र परिवर्तन पनि गर्छ ।
पदार्थ/भौतिक वस्तुहरू विचारको उपज होइनन्, बरु ती स्वतन्त्र रूपमा अस्तित्वमा हुन्छन् । उदाहरण : जमिन, पानी, खाद्यान्न, कारखाना, श्रम, सीप आदि विचार होइनन्, यथार्थ हुन् । पदार्थले चेतना, विचार, धर्म र संस्कृति आदि निर्माण गर्छ । मानव चेतना भौतिक अवस्थाअनुसार विकास गर्छ । उदाहरण : गरिबको विचार र धनीको विचार किन फरक हुन्छ ? किनकि उनीहरूको भौतिक अवस्था फरक हुन्छ । त्यस भौतिक अवस्थाले उसको चेतनाको विकास फरक ढंगले हुन्छ । पदार्थ स्थिर हुँदैन, यो गतिशील छ । पदार्थको गतिशीलता अनुसार नै समय र समाज बदलिन्छ । उदाहरण : मानव समाज ढुङ्गे युग : कृषि युग : औद्योगिक युग हुँदै आएको छ । पदार्थभित्र अन्तर्विरोध हुन्छ जसले सङ्घर्ष र परिवर्तन ल्याउँछ । उदाहरण : मालिक र मजदुर बिचको आर्थिक द्वन्द्वले सामाजिक रूपान्तरण हुन्छ ।
पदार्थ भनेको उत्पादनका साधन पनि हुन् — प्रकृति, श्रम, मेसिन आदि । उदाहरण : उत्पादन प्रणालीअनुसार समाजको स्वरूप निर्धारण हुन्छ । पदार्थ (भौतिक अवस्था) सामाजिक संरचना र सम्बन्धहरूको आधार हो । उदाहरण : सामन्ती समाज जमिनमा आधारित थियो, पुँजीवादी समाज कारखाना र पुँजीमा आधारित हुन्छ । पदार्थ प्रतिको स्वामित्वले वर्ग जन्माउँछ; जसको स्वामित्व हुन्छ त्यो शासक र जसको श्रम मात्र हुन्छ त्यो श्रमिक । उदाहरण : कारखानाको मालिक र मजदुर । पदार्थ र त्यसको उत्पादन तथा वितरण प्रणालीले मानव इतिहासको गति निर्धारण गर्छ । उत्पादन शक्ति बढेपछि नयाँ सामाजिक व्यवस्था जन्मन्छ — सामन्तवादबाट पुँजीवाद, पुँजीवादबाट समाजवाद ।
त्यसैले, समाज बुझ्नका लागि पदार्थको अध्ययन अर्थात् भौतिक अवस्था, उत्पादन प्रणाली र सामाजिक सम्बन्धको अध्ययन अनिवार्य हुन्छ । मार्क्सवादको यही सूक्ष्म जगमा यसका अन्य तत्वहरूको व्याख्या विश्लेषण भएको पाइन्छ, जसमा द्वन्द्वात्मक भौतिकवाद, ऐतिहासिक भौतिकवाद, वर्ग संघर्ष, श्रम मूल्य सिद्धान्त, अतिरिक्त मूल्य, श्रमिक वर्गको मुक्ति, पुँजीवादी व्यवस्था, समाजवादी व्यवस्था, वैज्ञानिक समाजवाद, नियतिवाद, अन्तर्राष्ट्रिय वाद, क्रान्तिकारी व्यवहार, साम्यवाद, राज्यको विलय आदि प्रमुख छन् ।
(लेखक पूर्व मन्त्री तथा संविधान सभा सदस्य हुन् ।)