२०८२ चैत ७ गते शनिवार / Mar 21 , 2026 , Saturday
२०८२ चैत ७ गते शनिवार
Ads

कविता : मेरो माटोको छोरो

shivam cement
मिथिलेश आदित्य
२०८२ चैत ७ गते ०६:००
Shares
कविता : मेरो माटोको छोरो

ऊ केटो कुनै राजमहलको छायामा जन्मिएको थिएन ।
उसको घरको छाना टप्किरहेका आशाहरूले बनेको थियो,
र भित्ताहरूमा अभावका गहिरा चिराहरू थिए ।

उसको बिहान रोटीको चिन्तासँग खुल्थ्यो,
र रात थाकेका सपनाहरू ओढेर सुत्थ्यो ।

ऊ शोषित वर्गको एक साधारण केटो थियो–
जससँग न धन थियो,
न वंश परम्परामा प्राप्त कुर्सीहरू ।
उससँग केवल दुई हात थिए,
र ती हातहरूमा इमानदारीका कठोर रेखाहरू कोरिएका थिए ।

समाजको भीडमा
ऊ त्यही बीउजस्तै थियो
जसलाई प्रायः माटोभित्र दबाइन्छ,
तर त्यही बीउ
एक दिन जंगल बनेर फर्किन्छ ।

उसले आफ्नो पसिनालाई
भाग्यको मसी बनायो,
र हरेक दिन
आफ्नो जीवनको किताबमा
नयाँ संघर्ष लेख्दै गयो ।

कठोर परिश्रम
उसको धड्कनको लय बन्यो,
र इमानदारी
उसको चरित्रको आकाश बन्यो ।

मानिसहरू हाँस्दथे–
भन्थे,
‘तिमी जस्ता मानिसहरूले इतिहास लेख्दैनन्,
इतिहासको किनारामा
बिर्सिएका शब्दहरू भएर बस्छन् ।’

तर ऊ जान्दथ्यो–
कहिलेकाहीँ इतिहास
तिनै हातहरूले लेखिन्छ
जसमा छाला फुटेका घाउ हुन्छन् ।

ऊ बिस्तारै अगाडि बढ्दै गयो,
जस्तो अँध्यारोमा
एउटा दीपक
आफ्नो सानो ज्योतिले
रातलाई चुनौती दिन्छ ।

उसका पाइला
कठिनाइका चट्टानहरूसँग ठोक्किए,
तर उसका इरादाहरू
नदीजस्तै थिए–
बाटो नपाए
आफ्नो बाटो आफैँ बनाउँछन् ।

वर्षौँको मेहनत
बिस्तारै
उसको जीवनका भ¥याङहरू बन्दै गए,
र ऊ
एक–एक पाइला चढ्दै गयो ।

आज त्यही केटो
देशको सर्वोच्च पदमा पुग्दै छ–
जस्तो शताब्दीयौँदेखि दबिएको सत्य
अचानक आकाशजस्तै फैलिएको हो ।

यो केवल
एउटा व्यक्तिको विजय होइन,
यो ती लाखौँ मानिसहरूको जीत हो
जो अभावमा पनि
इमानदारी छोड्दैनन् ।

यो ती सपनाहरूको जीत हो
जो भोकसँग लड्दै पनि
मर्न अस्वीकार गर्छन् ।

आज देशको
सबैभन्दा अग्लो कुर्सीमा
केवल एक मानिस बस्ने छैन
बस्नेछ परिश्रमको गौरव,
इमानदारीको उज्यालो,
र त्यस माटोको सुगन्ध
जसले उसलाई जन्म दिएको हो ।

इतिहास बिस्तारै मुस्कुराउनेछ
र लेख्नेछ– कहिलेकाहीँ
सानो घरको केटो
पूरै देशको गरिमा बन्छ ।

र तब पृथ्वी
गर्वले भन्छ– हेर,
मेरो माटोको छोरो
आज मेरो आकाशमा बसेको छ ।

सम्बन्धित खबर