
मध्यपूर्वमा जारी युद्ध केवल क्षेत्रीय संकट मात्र होइन । यसको प्रभाव युद्ध क्षेत्रभन्दा धेरै टाढासम्म फैलिएको छ । यसले खाडी देशहरूमा रहेका तथा युरोपमा काम गरिरहेका श्रमिकलाई प्रत्यक्ष रूपमा असर गरिरहेको छ । जसबाट नेपाल सबैभन्दा बढी प्रभावित छ । एकातिर लाखौंको रोजगारी के हुने भन्ने छ भने अर्कोतिर त्यसले अर्थतन्त्रलाई कति प्रभावित बनाउने प्रश्न उब्जिएको छ ।
पहिलो कुरा, खाडी देशहरू नेपाली श्रमिकको मुख्य गन्तव्य रहँदै आएका छन् । युएई, कतार, साउदी अरेबिया र कुवेतजस्ता देशमा निर्माण, आतिथ्य सेवा र सुरक्षा क्षेत्रमा ठूलो संख्यामा नेपाली कार्यरत छन् । युद्धका कारण धेरै रोजगारदाता स्वयं समस्यामा परेका छन् । यस्तो अवस्थामा कम्पनीले नयाँ परियोजना सुस्त बनाउँछन् वा पूर्ण रूपमा रोक्छन् । विशेषगरी रियल इस्टेट र पूर्वाधार विकास पहिलो प्रभावित क्षेत्र हुन्छन् । यसले रोजगारीका अवसर घटाउँछ र धेरै अवस्थामा कामदारलाई हटाउने स्थिति सिर्जना हुन्छ । सँगै, कामका सम्झौता नवीकरण नहुन सक्छन्, तलब ढिला हुन सक्छ र कम्पनीहरूले सञ्चालन नै बन्द गर्न सक्छन् । ऋण लिएर विदेश गएका श्रमिकहरू आयविहीन भएपछि आर्थिक दबाबमा नेपाल फर्कन बाध्य हुन्छन् ।
नेपालबाट हुने भर्ती प्रक्रियामा पनि ठूलो असर पर्छ । माग घट्छ, भिसा प्रक्रिया ढिला हुन्छ, र स्वीकृत भएका धेरै रोजगार अवसरहरू स्थगित वा रद्द हुन्छन् । यसले विदेश जान तयारी गरिरहेका युवाहरूलाई बेरोजगारीको चपेटामा पार्छ ।
यसको प्रभाव अहिले युरोपतर्फ पनि फैलिन थालेको छ । युरोपका धेरै अर्थतन्त्रहरू ऊर्जा बजार र लगानीमार्फत मध्यपूर्वसँग जोडिएका छन् । तेलको मूल्य वृद्धि र आपूर्ति शृंखलामा समस्या आउँदा उद्योगहरूको लागत बढ्छ । त्यसैले निर्माण, उत्पादन र कृषिजस्ता क्षेत्रमा विदेशी कामदार राख्ने निर्णयमा सावधानी अपनाइन्छ । रोमानिया, क्रोएसियालगायत युरोपका विभिन्न देशमा कार्यरत नेपालीहरूले तुरुन्तै जागिर गुमाउने अवस्था नआए पनि नयाँ भर्तीको गति घट्न सक्छ । कम्पनीहरूले विस्तार योजना ढिला गर्दा नयाँ कामदारको माग कम हुन्छ ।
अर्को महत्वपूर्ण पक्ष रेमिटेन्स हो । नेपाली अर्थतन्त्र विदेशबाट आउने रकममा धेरै निर्भर छ । यदि ठूलो संख्यामा कामदारले रोजगारी गुमाए वा आय घट्यो भने रेमिटेन्स घट्नेछ । यसले घरपरिवारको खर्च, शिक्षा, स्वास्थ्य र समग्र अर्थतन्त्रमा प्रत्यक्ष असर पार्छ । विदेशमा रहेका श्रमिकको मानसिक अवस्था पनि ध्यान दिनुपर्ने विषय हो । युद्ध र तनावको अवस्थामा विदेशी भूमिमा बस्दा डर र अनिश्चितता बढ्छ । उनीहरू आफ्ना काम मात्र होइन, सुरक्षा, यात्रा प्रतिबन्ध र आकस्मिक अवस्थामा फस्ने सम्भावनाबारे चिन्तित हुन्छन् ।
नीतिगत रूपमा नेपालले अब रणनीतिक कदम चाल्न आवश्यक छ । एउटै क्षेत्र, विशेषगरी खाडी देशहरूमा अत्यधिक निर्भरता जोखिमपूर्ण छ । स्थिर युरोपेली र एसियाली देशहरूसँग श्रम सम्झौता विस्तार गर्नु जरुरी छ । साथै, देशभित्रै रोजगारी सिर्जना गर्नु दीर्घकालीन समाधान हो ।
मध्यपूर्वको युद्ध नेपालका लागि टाढाको विषय होइन । यसले प्रत्यक्ष रूपमा नेपाली श्रमिकहरूको जीविकोपार्जन, भर्ती प्रणाली र राष्ट्रिय अर्थतन्त्रलाई असर गरिरहेको छ । यो अवस्थाले श्रमिक सुरक्षाका लागि बलियो नीति, प्रभावकारी संयन्त्र र दीर्घकालीन योजना आवश्यक भएको स्पष्ट देखाएको छ ।
(भण्डारी, वैदेशिक रोजगार व्यवसायमा क्रियाशील छन् ।)