२०८२ चैत ८ गते आइतवार / Mar 22 , 2026 , Sunday
२०८२ चैत ८ गते आइतवार
Ads

लाइकको लतले बढाएको चिन्ता

shivam cement
अमृत ढकाल
२०८२ चैत ८ गते ०६:०५
Shares
लाइकको लतले बढाएको चिन्ता

एक्काइसौं शताब्दीको प्रवेशसँगै मानव सभ्यताले एउटा यस्तो फड्को मार्‍यो, जसको कल्पना हाम्रा अघिल्ला पुस्ताले पनि गरेका थिएनन् । एक्काइसौं शताब्दीको यो प्रविधिको क्रान्तिले हामीलाई संसारको जुनसुकै कुनासँग त जोड्यो, तर बिस्तारै हामीलाई आफ्नै विवेक र यथार्थबाट भने टाढा धकेल्दै लगेको छ । आज हामी भौतिक संसारमा भन्दा बढी डिजिटल संसारमा बाँच्न थालेका छौं । बिहान आँखा खुल्नेबित्तिकै सिरानीमुनिको फोन छाम्नु र राति सुत्ने बेलासम्म त्यो स्क्रिनमा औंलाहरू चलाइरहनु आममानिसको अनिवार्य दिनचर्या बनेको छ । फेसबुक, टिकटक, इन्स्टाग्राम, एक्स र युट्युबजस्ता माध्यमहरूले मानिसलाई अभिव्यक्तिको स्वतन्त्रता दिएका छन्, तर यही स्वतन्त्रताको आडमा मौलाएको दुरुपयोग र भ्रामक सूचनाको विषालु लहरले आज हाम्रो सामाजिक मानसिकतालाई अशक्त बनाउँदै लगेको छ । यहाँ सामाजिक सञ्जालको गलत प्रयोगले कसरी हाम्रो चेतना, सम्बन्ध र सामाजिक सद्भावलाई खलबल्याउँदै छ भन्ने गम्भीर पक्षलाई केलाउने प्रयास गरिएको छ ।

सत्य जहिले पनि संयमित र शान्त हुन्छ, तर झुट सधैं चटपटे र सनसनीपूर्ण भएर आउँछ । भ्रामक सूचना÷समाचार आजको समयको सबैभन्दा ठुलो अदृश्य सत्रु बनेको छ । कुनै एउटा घटना हुन्छ, तर सामाजिक सञ्जालमा पुग्दानपुग्दै त्यसलाई यसरी तोडमरोड गरिन्छ कि वास्तविक तथ्य कतै हराउँछ र मानिसहरू भ्रमको पछि दौडिन थाल्छन् । सामाजिक सञ्जालमा सूचना जति छिटो फैलिन्छ, त्योभन्दा १० गुणा बढी गतिमा हल्ला फैलिन्छ । एउटा सामान्य भिडियो क्लिपलाई काटेर गलत क्याप्सन राख्दै भाइरल बनाइन्छ । यसले गर्दा सर्वसाधारणमा अन्योल उत्पन्न हुन्छ । मानिसहरू जे देख्छन्, त्यसैलाई अन्तिम सत्य मान्ने हतारोमा हुन्छन् । तथ्य जाँच गर्ने धैर्य कसैसँग छैन । जब समाजले झुटलाई सत्य र सत्यलाई झुट देख्न थाल्छ, तब त्यो समाजको बौद्धिक पतन सुरु हुन्छ । भ्रामक सूचनाले केवल व्यक्तिको धारणा मात्र बदल्दैन, यसले त सिंगो राष्ट्रको नीति, राजनीति र सामाजिक संरचनामा समेत घातक प्रहार गर्छ ।

सामाजिक सञ्जालको दुरुपयोगको अर्को कुरूप पाटो भनेको सस्तो लोकप्रियताको भोक हो । आज मानिसहरू लाइक, कमेन्ट र सेयरका लागि जस्तोसुकै नराम्रो वा तुच्छ कार्य गर्न पनि तयार छन् । भाइरल हुनका लागि गरिने उच्छृंखल हरकतहरूले सामाजिक मर्यादाको सीमा नाघेका छन् । मानिसको आत्मसम्मान अब उसको व्यक्तित्वमा होइन, उसको पोस्टमा आउने प्रतिक्रियामा आधारित हुन थालेको छ । यो मानसिक परनिर्भरताको कारण मानिसहरू आफ्नो मौलिकता गुमाउँदै अरूलाई देखाउनका लागि मात्र बाँच्न थालेका छन् ।

सामाजिक सञ्जालका कम्पनीहरूले प्रयोग गर्ने अल्गोरिदमले (निश्चित प्रणालीले) हामीलाई एउटा अदृश्य जेलमा राखिरहेको छ । हामीलाई जे मन पर्छ, त्यही कुरा मात्र हाम्रो स्क्रिनमा पटक–पटक आउँछ । यदि हामीलाई कुनै एउटा राजनीतिक दल वा विचारधारा मन पर्छ भने सामाजिक सञ्जालले हामीलाई त्यही विचारसँग मिल्दोजुल्दो सामग्री मात्र देखाउँछ । यसले गर्दा हामीलाई लाग्छ कि सारा संसारले हामीले जस्तै सोचिरहेको छ । यसले समाजमा असहिष्णुता र मतभेद बढाएको छ । मानिसहरू फरक मत सुन्नै चाहँदैनन् । कसैले आफ्नो विचारभन्दा फरक कुरा लेख्यो भने तत्कालै गालीगलौज र व्यक्तिगत आक्रमणमा उत्रिन्छन् । यसले गर्दा संवादको ढोका बन्द भएको छ र समाज ‘हामी’ र ‘उनीहरू’ भन्ने दुई कट्टर खण्डमा विभाजित भएको छ । यो मानसिक विभाजन कुनै पनि लोकतान्त्रिक र सभ्य समाजका लागि निकै ठुलो खतरा हो ।

सामाजिक सञ्जाल आज कसैलाई सिध्याउनका लागि सबैभन्दा सजिलो हतियार बनेको छ । साइबर मोबिङ अर्थात् भिडले कसैलाई निशाना बनाउने कार्यले धेरैको जीवन बर्बाद गरिदिएको छ । कुनै पनि कुराको सत्यता नबुझी कसैको चरित्र हत्या गर्ने, अश्लील टिप्पणी गर्ने र उसलाई मानसिक रूपमा विक्षिप्त बनाउने कार्यहरू भइरहेका छन् । फोटो सम्पादन गरेर चरित्र हत्या गर्ने, निजी जीवनका कुराहरू सार्वजनिक गरिदिने धम्की दिनेजस्ता साइबर अपराधका घटनाहरूले कैयौंलाई आत्महत्याको स्थितिसम्म पुर्‍याएका छन् । स्मार्टफोन बोकेको हरेक व्यक्ति आफूलाई न्यायाधीश सम्झिन्छ र अरूको जीवनको फैसला फेसबुकको कमेन्ट बक्सबाट गर्न थाल्छ । यो प्रवृत्तिले समाजमा डर र त्रासको वातावरण सिर्जना गरेको छ ।

सँगै, सामाजिक सञ्जालको अत्यधिक प्रयोगले मानसिक स्वास्थ्यमा पारेको असर डरलाग्दो छ । युवापुस्तामा हराउने डर अर्थात् केही कुरा छुट्ने डर वा अवसर गुम्ने डर, व्याप्त छ । अरूको तडकभडकपूर्ण तस्बिर हेरेर आफ्नो वास्तविक जीवनसँग तुलना गर्दा मानिसमा हीनताबोध बढ्दै गएको छ । सामाजिक सञ्जालमा देखिने फिल्टर गरिएका अनुहार र बनावटी खुसीका कारण मानिसहरू आफ्नो प्राकृतिक रूप र अवस्थाप्रति असन्तुष्ट हुन थालेका छन् । निद्रा नलाग्ने, एकोहोरिने, छिटो रिसाउने र डिप्रेसनमा जाने समस्याहरू स्मार्टफोनको लतसँगै जोडिएर आएका छन् । बाहिरबाट हेर्दा हजारौं फ्रेन्ड्स र फलोअर्स भए पनि भित्रभित्रै मानिस एक्लो हुँदै गइरहेको छ । भौतिक भेटघाट र गहिरो आत्मीयताको ठाउँ इमोजीहरूले लिएका छन्, जसले गर्दा मानिसको भावनात्मक विकास ठप्प भएको छ ।

नेपालजस्तो विविधतायुक्त देशमा सामाजिक सञ्जालको गलत प्रयोगले साम्प्रदायिक सद्भाव खलबल्याउने प्रयासहरू बारम्बार भइरहेका छन् । सानातिना स्थानीय विवादलाई साम्प्रदायिक रंग दिएर भ्रामक भिडियोहरू पोस्ट गरिन्छ, जसले गर्दा शान्त रहेको समाजमा एकाएक अशान्ति मच्चिन्छ । कुनै एउटा समुदायको विरुद्धमा घृणा फैलाउने सामग्रीले क्षणभरमै दंगा भड्काउन सक्छन् । बाह्य शक्तिहरूले पनि सामाजिक सञ्जालको प्रयोग गरेर कुनै देशको आन्तरिक मामिलामा खेल्ने र जनतालाई उत्तेजित बनाउने कार्य गरिरहेका हुन्छन् । यो केवल सामाजिक समस्या मात्र होइन, राष्ट्रिय सुरक्षाको गम्भीर विषय पनि हो । एउटा सानो अफवाहले देशको अर्थतन्त्र, शान्ति सुव्यवस्था र अन्तर्राष्ट्रिय छविमा अपरिवर्तनीय क्षति पुर्‍याउन सक्छ ।

जबसम्म मूलधारका मिडिया (रेडियो, टिभी, पत्रिका) बलिया थिए, सूचनाको आधिकारिकता हुन्थ्यो । तर, आज सामाजिक सञ्जालको प्रभावले पत्रकारिताको परिभाषा नै बदलिएको छ । ‘ब्रेकिङ न्युज’ दिने होडबाजीमा कतिपय स्थापित सञ्चार माध्यमले पनि सामाजिक सञ्जालमा आएका अपुष्ट दाबीलाई समाचार बनाउने गरेका छन् । यसले पत्रकारिताको मूल्य र मान्यतालाई कमजोर बनाएको छ । युट्युब च्यानलका नाममा गरिने लाइक आतंकले पत्रकारितालाई मनोरञ्जन र ब्ल्याकमेलिङको साधन बनाएको छ । तथ्यभन्दा बढी मसला खोज्ने प्रवृत्तिका कारण समाजले सही सूचना पाउन छाडेको छ । जसले गर्दा आमजनतामा मिडियाप्रतिको विश्वास घट्दै गएको छ र उनीहरू झन् बढी भ्रमको जालोमा फस्दै गएका छन् ।

भविष्यका कर्णधार मानिने बालबालिकाहरू आज डिजिटल एडिक्ट बनिरहेका छन् । बाहिरी खेलकुद, किताब पढ्ने बानी र परिवारसँगको कुराकानीभन्दा उनीहरू मोबाइलको स्क्रिनमा बढी रमाउँछन् । सामाजिक सञ्जालमा उपलब्ध अश्लील सामग्री, हिंसात्मक भिडियो र अनलाइन गेमहरूले उनीहरूको कलिलो मस्तिष्कमा नकारात्मक असर पारिरहेको छ । 

यो विकराल समस्याबाट मुक्त हुनका लागि अब केवल कुरा गरेर मात्र पुग्दैन, बरु राज्य, समाज र व्यक्ति स्वयंको बहुपक्षीय र एकीकृत प्रयासको खाँचो छ । प्रविधि आफैंमा तटस्थ भएकाले यसको दोष प्रविधिमाथि थोपर्नुभन्दा पनि यसलाई चलाउने मानवीय नियत र विवेकलाई सुधार्नु नै वास्तविक समाधान हो । यसका लागि राज्यले विद्यालय स्तरदेखि नै डिजिटल साक्षरता र मिडिया साक्षरतालाई पाठ्यक्रममा अनिवार्य समावेश गरी नागरिकमा सूचनाको सत्यता छुट्याउने क्षमता विकास गर्नुपर्छ । साथै, अभिव्यक्ति स्वतन्त्रताको मर्यादा कायम राख्दै अरूको मानमर्दन गर्ने र घृणा/सत्रुता फैलाउनेहरूलाई कडा कानुनी दायरामा ल्याउन कानुनी कडाइ र प्रभावकारी नियमन आवश्यक छ । सबैभन्दा महत्वपूर्ण कुरा, प्रत्येक प्रयोगकर्ताले आत्म–नियमनको पालना गर्दै कुनै पनि सामग्री सेयर गर्नुअघि ‘के यो सत्य हो ?’, ‘यसले कसैलाई फाइदा पुर्‍याउँछ ?’ र, ‘के यो अहिले आवश्यक छ ?’ भन्ने तीनवटा प्रश्न आफ्नो विवेकलाई सोधेर मात्र अघि बढ्ने संस्कारको विकास गर्नुपर्छ ।

सामाजिक सञ्जाल एउटा दुईधारे तरबार हो । यसले संसारलाई जोड्न पनि सक्छ र टुक्रा–टुक्रा पार्न पनि सक्छ । आजको खलबलिएको सामाजिक मानसिकता प्रविधिको उपहार होइन, बरु हाम्रो अविवेकपूर्ण प्रयोगको परिणाम हो । हामीले प्रविधिलाई दास बनाउनुपर्नेमा आफैं प्रविधिको दास बनिरहेका छौं । सूचनाको बाढीमा विवेकको बाँध बाँध्न सकिएन भने हामी सबै यसमा बग्ने निश्चित छ । सामाजिक सञ्जालको स्क्रिनभन्दा बाहिर पनि एउटा सुन्दर र वास्तविक संसार छ भन्ने कुरा हामीले बिर्सनुहुँदैन । मानवीय सम्बन्ध, सामाजिक सद्भाव र सत्यप्रतिको निष्ठालाई डिजिटल लोकप्रियतासँग साट्न सकिँदैन । त्यसैले, आउनुहोस्, सामाजिक सञ्जाललाई घृणा र भ्रमको थलो होइन, प्रेम, ज्ञान र सकारात्मक परिवर्तनको माध्यम बनाऔं । हाम्रो एउटा सचेत कदमले समाजलाई सही दिशा दिन सक्छ भने एउटा गलत कदमले कसैको हँसिलो संसार उजाड्न सक्छ । 

(ढकाल, सुर्खेत मोडेल कलेजका उपप्राध्यापक हुन् ।)

सम्बन्धित खबर