– धर्मेन्द्रकुमार साह
सहरभरि कालो धुवाँको मुस्लो उठिरहेको छ । केही चोकबाहेक प्रायः सबै सडकमा डरलाग्दो शान्ति छ । अर्थहीन शान्ति, मानवीय क्रन्दन र चित्कारले अशान्त बनाइरहेको शान्ति । ती सडकहरूमा आक्रामक फौजी गस्ती भइरहेको छ । सडकभरि छरिएका ढुंगा, सिसा र बोतलहरूले सहरलाई कुरूप बनाइरहेका छन् । फौजी गस्तीका बीचमा एम्बुलेन्स र पत्रकारहरूको मोटरसाइकल घुमिरहेका छन् । सबै डराएका छन्, मानौं सिंगो सहर शून्यमा विलिन भएको छ । एम्बुलेन्स र फौजी गाडीका साइरनहरूले डरलाग्दो शान्तिको लामो शृंखलालाई बीचबीचमा चुनौती दिनुबाहेक नागरिकहरू आफ्नै घरमा कैद भएका छन् ।
अनि सबैको मनमा राज्य प्रति चरम असन्तुष्टि देखिन थालेको छ । बिहानको ८ बजेसम्म सहरहरू प्रायः सुनसान भएका छन् र केही चोकहरूमा युवाको प्रदर्शन सुरु भइसकेको थियो । मधेशका गाउँगाउँमा पहिलोचोटि राजनीतिक आन्दोलन र विद्रोहले छोएको जस्तो लागेको छ । प्रायः गाउँमा विरोध भइरहेको थियो । न प्रहरीको उपस्थिति न त सम्भावित हस्तक्षेपको डर । मधेशका अधिकांश सदरमुकाम र अन्य सहरहरू छाउनीमा परिणत भएका थिए । राज्यले असोज ३ मा दीपावली गर्न भनिरहँदा मधेशका सडकहरू कालो धुवाँले भरिएका थिए । सिंगो मधेशीको विरोधका बाबजुद पनि राज्य बन्दुकको बलमा संविधान जारी गर्न अघि सरेको थियो । २०७२ सालको असोज ३ गते तराई–मधेशका अधिकांश सहरहरूको अवस्था यस्तै थियो । सडकको मुख्य भाग र सरकारी भवन फौजी कब्जामा थिए भने अधिकांश गल्ली, सहरको बाहिरी भाग र ग्रामीण क्षेत्रहरूमा नागरिकहरूको विद्रोह थियो ।
दिन अगाडि बढ्दै जाँदा सडक र सदन दुवै तात्दै गयो । सडकमा देखिएका फौजीहरू आक्रामक र निर्मम ढंगले प्रस्तुत हुँदै गए । सहरका गल्लीहरू समेत फौजी कब्जामा परे । शब्दले सुरु भएको नागरिक अवरोध राज्यको बन्दुकले दबाउन थाल्यो । अपरान्हसम्म मधेशका अधिकांश सडक रणभूमिमा परिणत भए । जसरी पनि संविधान जारी गर्ने राज्यको प्रयासलाई मूर्त रूप दिन फौजी गतिविधि बढ्दै जाँदा नागरिक तहमा ‘देश आफ्नो भए पनि राज्य आफ्नो नभएको’ महसुस हुन थाल्यो ।
मधेशी मोर्चाका नेताहरू कालो कुर्ता र पैजामा लगाई हिरासत भित्रैबाट कालो दिन मनाएका थिए । प्रदर्शनकारीले ‘जय मधेश’ भन्ने शब्द उच्चारण गर्दा प्रहरीले बुट र अश्रु ग्यासको गोला बर्साइरहेको थियो । साँझपख गौरका अस्पतालका अधिकांश बेड भरिएका थिए ।
विरोधको प्रतीक मानिने कालो झन्डा प्रायः हरेक छतमा झुन्डिन थाल्यो । सहरदेखि गाउँसम्म हरेक घरमा कालो झन्डा झुन्डिसकेको थियो । यी सबै गतिविधि स्वस्फुर्त रूपमा भइरहेको थियो । हामीसँगका थकित, निराश र आहत सञ्चारकर्मीहरू ब्ल्याक आउटको समाचार संकलन गर्दै थिए । रेडियोहरूबाट बज्दै गरेका शोक धुन र घरघरमा फैलिएको अँध्यारोले मधेशको पीड़ा र बेदनालाई व्यक्त गर्दै थिए । हजारौं लाखौं आन्दोलनकारी थकित र आहत भएर घाइते अवस्थामा आफ्नै घरको अँध्यारो कोठामा कैद भएका थिए । असोज ३ गतेको सूर्य आफ्नै गतिमा नियमित र स्वाभाविक रूपमा अस्ताए पनि नेपाल सीमामा बसोबास गर्ने मधेशी थारुहरूको लागि त्यो दिन अलौकिक पीड़ा र निराशाको घोर अन्धकारमा प्रवेश गर्ने दिनजस्तै भएको थियो ।
कुनै पनि मुलुकमा संविधान जारी भएपछिको संक्रमणकालको अन्त्य हुन्छ तर नेपालमा भने नयाँ संविधान जारी भएपछि संक्रमणकालको अन्त्य नभएर सुरु भएको थियो । यसको प्रत्यक्ष प्रभाव पहिलो संविधान जारी भएको पहिलो वर्षका दिनमै देखियो । असोज ३ गते संविधान दिवसमा देशका आदिवासी जनजाति र मधेशी समुदायले मात्र होइन, हिन्दूवादी राजावादीसमेत कालो दिवसका रूपमा मनाए भने सरकारी दलहरूले औपचारिक कार्यक्रम गरेर खुसियाली दिवस मनाए । यस्ता प्रचारका बाबजुद संविधानले सबै नेपालीलाई एउटै मालामा जोड्न सकेको छैन ।
असोज ३ गतेलाई सरकारले राष्ट्रिय दिवसका रूपमा मनाउने भनिरहेको छ । देशको एक पक्षले संविधानलाई स्वीकार नगरेको र असोज ३ लाई कालो दिनका रूपमा मनाउने गरेकाले यो दिन नेपाली राजनीति इतिहासका लागि विवादित दिन बन्ने देखिन्छ । राष्ट्रिय दिवस सिंगो राष्ट्रका लागि मान्य हुने तिथि तोक्दा सबैको अपनत्व हुने कुरा हो । कुनै पनि देशलाई भौगोलिक र वैचारिक पृथकतावादीहरूलाई एउटै ठाउँमा ल्याउन सजिलो हुन्छ तर वर्ग, जाति र क्षेत्रगत असन्तुष्टिलाई सहजै हटाउन सकिँदैन । इतिहासले हामीलाई यही सन्देश दिएको छ ।
२००४ सालमा अन्तरिम संविधान राणाहरूले जारी गर्दा राजनीतिक दलहरूको तर्फबाट बाहेक कुनै बिमति उठेको थिएन । २०१९ सालमा राजाले निर्दलीय संविधान जारी गर्दा नेपाली कांग्रेसबाहेक अरूले विरोध गरेका थिएनन् । २०४७ को संविधान तुलनात्मक रूपमा सबैभन्दा कम विवादित थियो । तर संविधान सभाबाट संविधान बनाउन २०७२ को संविधानलाई व्यापक र विशाल जनसमुदायले अस्वीकार गरेको थियो । आज पनि देशमा ठुलो पंक्ति यस संविधान पुनर्लेखनको पक्षमा छ । पछिल्लो घटनाक्रमले तिनै शक्तिहरूलाई थप बल दिएको छ । देशको संविधान नागरिक चाहनाको प्रतिबिम्ब हुन नसकेकाले यस्तो निष्कर्ष निकाला गर्नुपर्ने अवस्था आएको छ ।