२०८२ असोज १० गते शुक्रवार / Sep 26 , 2025 , Friday
२०८२ असोज १० गते शुक्रवार
Ads

आशाको दियो बाल्दै न्यायालय

shivam cement
मध्यान्ह
२०८२ असोज १० गते १५:५०
आशाको दियो बाल्दै न्यायालय

सर्वोच्च अदालतको प्रशासन शाखाका अनुसार दसैंमा पनि न्यायिक कामकारबाही हुनेछन् । असोज ६ गते घटस्थापनाको दिनदेखि असोज २० गते कोजाग्रत पूर्णिमाको दिनसम्म दसैं छ । यस अवधिमा घटस्थापना, विजया दशमी, कोजाग्रत पूर्णिमाको तीन दिनबाहेक सुनुवाइ हुनेछ । सर्वोच्च अदालतको प्रशासन शाखाले सूचना नै निकालेर भनेको छ, ‘बन्दी प्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म अदालत खुला रहनेछ । अर्थात् दसैंको समयमा समेत बन्दी प्रत्यक्षीकरणको रिट निवेदन लिई अदालतले सुनुवाइ गर्नेछ । अन्य रिट लिएर काम गर्न त अदालतको संरचना नै ध्वस्त छ । 

भदौ २४ गते सर्वोच्च अदालतमा आगलागी भएको थियो । सर्वोच्च अदालत मात्रै होइन, सिंहदरबार, संघीय संसद् भवन, देशभरका सरकारी र सार्वजनिक तथा निजी सम्पतिमा तोडफोड र आगजनी भएका छन् । प्रहरी बिट जलेका छन् । भ्रष्टाचार नियन्त्रण र सुशासनको माग राख्दै भएको प्रदर्शनमा उत्रिएकाहरू राज्यबाट दमन भएपछि आक्रोशित भएका थिए । भदौ २३ गते एकै दिन १९ जना युवाले ज्यान गुमाएका थिए । हाल यो संख्या बढेर ७४ पुगिसकेको छ । युवाहरूमाथि प्रहरी दमन भएको भनेर आक्रोशित भएको भीडले सर्वोच्च अदालतको भवनमा समेत आगो लगाइदियो । अदालतमा रहेका महत्वपूर्ण फैसला, आदेश र दस्ताबेज जलेर नष्ट भए । सर्वोच्च अदालतको भवनमा बस्न नमिल्ने भनेर प्रावधिकको टोलीले रेड स्टिकर नै टाँसिदिएको छ । यस अवस्थामा सर्वोच्च अदालत परिसरमै पाल टाँगेर इजलास बस्दै आएको छ । यस्तो इजलास दसैंमा पनि रहने भएका हुन् । दसैंका बेला समेत बन्दी प्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म अदालत खुला रहनेछ ।

अदालत न्यायको आश राख्ने ठाउँ हो । कतिपयले यसलाई न्यायको धरोहरका रूपमा लिन्छन् । यस्तो धरोहरले जस्तै संकटमा पनि न्यायका लागि आफूलाई सधैं खुला राख्छ भन्ने उदाहरण सर्वोच्च अदालतले प्रस्तुत गरेको छ । राज्यका अन्य निकाय उठ्ने क्रममा रहेका बेला सर्वोच्च अदालतले सुरुमै इजलास राख्नेगरी आफूलाई प्रस्तुत गरेको थियो । 

अधिवक्ता लीलानाथ घिमिरेका अनुसार ‘नेपालको सर्वोच्च अदालत हरेक नेपालीको अन्तिम आशाको केन्द्र हो ।’ उनका अनुसार ‘अदालतको भवन केवल इँटा र काठको भवन होइन, यो न्यायको मन्दिर हो, जहाँ जनताको विश्वास, संविधानको आत्मा र नेपालको न्यायिक इतिहास जीवित रहन्छ ।’ घिमिरेका बुझाइमा ‘अदालतले आँसु र आशाको पुल बाँधेको छ ।’ 

उनका अनुसार अदालतको भवन जल्दै गर्दा महत्वपूर्ण कागजातहरू जले, ती केवल कागजका टुक्रा थिएनन्, ती त मानिसहरूको जीवनका कथा थिए– वर्षौंसम्मको संघर्ष, आँसु र आशाका आधार थिए । हरेक पानामा कसैको रगत र पसिनाको गन्ध थियो, कसैको सपनाको सास थियो । सर्वोच्च अदालतको फैसलाले देशको दिशा बदल्न सक्छ । चाहे त्यो संवैधानिक विवाद होस्, चाहे सामान्य नागरिकको न्यायको लडाइँ, सर्वोच्च अदालत सधैं अन्तिम आशाको पहाडजस्तो उभिन्थ्यो, फेरि पनि उभिइरहनेछ । यो आशाको दियो फेरि पनि जगाइरहन अदालत पालमै भए पनि खुला छ । 

सर्वोच्च परिसर पुग्दा घाम होस् या झरी पाल टाँगिएको हुन्छ । झरीले भुइँमा पानीको आहाल देखिन्छ । आगजनीपछिको धुलो र पानी मिसिँदा कालो हिलो गन्ध पालभित्रै पुग्छ । त्यसमा अदालतका कर्मचारी देखिन्छन् । जहाँ पालमुनि एउटा कुर्सी र टेबल छन् । सानो कुर्सी र टेबुल अनि ठिक सामुन्ने एउटा कुर्सी र टेबुल राखेका छन् । पछाडिपट्टि लहरै केही बेन्च मिलाएर राखिएका छन् । भव्य भवनको इजलासको दृश्य पालमुनि देखिन्छ । जहाँ मुद्दाका सुनुवाइ हुन्छन् । त्यही पालभित्र छिरेर मुद्दाको फाइल पढिन्छ । भव्य भवनमा जस्तै पालमुनिको इजलासमा न्यायाधीश छिर्छन् । अदालतका कर्मचारी र कानुन व्यवसायी जर्‍याकजुरुक उठे र नमस्कार गर्छन् । पालबाहिर सुनुवाइ सुन्नेहरू हुन्छन् । पालभित्रै बसेर मुद्दाको सुनुवाइ हुन्छ, पक्ष र विपक्षमा तर्क प्रस्तुत हुन्छन् । सुन्दा काल्पनिकजस्तो लाग्ने यो दृश्य सर्वोच्च अदालत परिसरमा छ । जो दसैंका बेला समेत देखिनेछ । अर्थात् संकटमा पनि अदालत जनताका लागि खडा भएर न्याय दिन तयार देखिन्छ । संकटका बेला यो अन्य क्षेत्रका लागि समेत प्रेरणाको स्रोत हो ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise