२०८२ कार्तिक ८ गते शनिवार / Oct 25 , 2025 , Saturday
२०८२ कार्तिक ८ गते शनिवार
Ads

भ्रष्टाचारबिरुद्ध जेनजीको त्यति ठूलो आन्दोलनपछि पनि विमानस्थलमा घुस माग्दैथिए

जेनजी आन्दोलनले खोलेको सम्भावनाको ढोका

shivam cement
करुणा थापा
२०८२ असोज ११ गते ०६:३०
 भ्रष्टाचारबिरुद्ध जेनजीको त्यति ठूलो आन्दोलनपछि पनि विमानस्थलमा घुस माग्दैथिए

भदौ २३ गतेअघिसम्म मैले जेनजीको नाम खासै ख्याल गरेको रहेनछु, सुनेको पनि थिइन् । जेनजी आन्दोलनबारे मलाई मेरी १६ वर्षीया छोरीले भनेकी थिइन् । सुरुमा सामान्यजस्तो लागेपछि २७ घण्टाको त्यो आन्दोलनले हामीलाई सोच्न बाध्य बनाएको छ । नयाँ पुस्ताको नेतृत्वको कुरा गर्दैगर्दा हालै म आफैंले देखेको र भोगेको तीनवटा प्रतिनिधिमूलक घटनाबाट यो लेखलाई सुरु गर्न चाहन्छु ।

पहिलो, जेन्जी आन्दोलनको अघिल्लो दिन 

कर चुक्ता प्रमाणपत्रका आधारमा मैले स्थायी बसोवास नेपालगन्ज उपमहानगरपालिका–२ बाट वार्षिक आम्दानी प्रमाणपत्र लिनुपर्ने थियो । सो  प्रमाणपत्र लिन भदौ २२ गते तलबसिट, नियुक्तिपत्र, हरेक महिना सरकारलाई तिरेको कर विवरण र कर कार्यालयबाट निकालिएको वार्षिक कर चुक्ता प्रमाणपत्रसहित वडामा निवेदन पेस गरेको थिए । तर वडाले कर चुक्ता प्रमाणपत्रलाई आधार मान्न सकिँदैन भन्दै अफिसबाट इमेल पठाउन भन्नुस् भनेपछि मेरो विवाद भयो । मैले ठिकै छ, कर कार्यालयले दिएको कर चुक्ता प्रमाणपत्रका आधारमा वार्षिक आय प्रमाणित गर्न सकिँदैन भने लेखेर दिनुस् भन्ने भनें । तर जति नै विवाद गरे पनि मैले मेरो वार्षिक आम्दानी वडाबाट प्रमाणित गराउन सकिनँ । केही सिप नलागेपछि मैले राजनीतिक पहुँच भएको एक जना आफन्तसँग सहयोग लिएँ, उहाँमार्फत नै वडाका कर्मचारीलाई केही खर्च गरें । टेबुलमुनिको आम्दानी र राजनीतिक पहुँचपछि तिनै कागजपत्रका आधारमा मैले वार्षिक आम्दानी प्रमाणपत्र पाएँ । 

दोस्रो, जेनजी आन्दोलनपछि 

भदौ ३१ गते म त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगें । नेपालबाहिर जाँदै थिए । यतिबेला राजनीतिक उथलपुथल भइसकेको थियो । अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले देशको कार्यभार सम्हालिसकेकी थिइन् । भ्रष्ट्राचार र बेथितिविरुद्धको २७ घण्टे आन्दोलनपछि देश सम्हालिँदै थियो । विमानस्थलमा भिआइपी सुविधालगायत सर्वसाधारणले आफन्तलाई बोर्डिङसम्म पु¥याउन पाउने पास सुविधा बन्द गरिएको रहेछ । विमानस्थलले यात्रुहरूको सहजताका निम्ति कर्मचारी खटाएको रहेछ । एक कर्मचारी मलाई सहयोग गर्न आइपुगे । यात्रु सुविधाको पास बन्द गरिएको हुँदा विमानस्थलले नै कर्मचारी खटाएर यात्रुहरूलाई सुविधा दिएको थियो । ती कर्मचारीले मेरा सामान बोर्डिङ गर्ने ठाउँसम्म पु¥याउँदै यसो गर्नु, उसो गर्नु भन्दै सिकाउँदै थिए । केही परे बोलाउनुहोला पनि भनिरहेका थिए । मैले सोचें, देशको रुपरंग मात्र होइन, विमानस्थल पनि फेरिए छ त । यात्रुलाई सजिलो बनाइएछ । विडम्बना मसँग छुट्टिनेबेला उनले पनि खर्चपानी भन्दै पैसा मागे । मैले केही नबोली केही रकम दिएँ । सोच्न थाले, त्यत्रो उथलपुथलको साता नबित्दै फेरि उही ? 

तेस्रो, ३ असोज 

म अस्ट्रेलिया पुगेको भोलिपल्ट मेरो छोरासहित २०÷२५ वर्षका सात÷आठ युवा घरमा भेला भए । उनीहरूले नेपालको जेनजी आन्दोलन देखेर आउनुभयो नि भन्दै देशको राजनीतिक अवस्थाबारे चर्चा गर्न थाले । उनीहरू आआफ्नैै कुरा गर्दै थिए । कोही अब त हामीले पनि भोट हाल्न पाउँछौं होइन भन्दै थिए । कोही अब त केही परिवर्तन हुन्छ कि भन्दै थिए । अर्कोले भन्दै थिए, अब त नेपाल केही सुध्रिए हुन्थ्यो । हामी फर्किन पाउने वातावरण भएदेखि अस्टे«लियामा को बस्छ ? त्यही केही गर्ने वातावरण भए त नेपाल नै फर्किने हो भन्दै थिए । म चुपचाप उनीहरूका कुरा सुनिरहेको थिएँ । नेपाल फर्किने उनीहरूको रहर देख्दा माया लाग्यो तर मसँग उनीहरूलाई सुनाउने कुनै सकारात्मक जवाफ थिएन । यति मात्र भने, ‘आशा गरौं, अब केही त राम्रो होला ।’  

यी तीन घटना र २७ घण्टे जेनजी आन्दोलनलाई सोच्ने हो भने, प्रस्ट भन्न सकिन्छ देशको बेथितिविरुद्ध युवा उठेका थिए, ज्यानको बाजी लगाएर । विदेश रहेका युवा देश फर्किन चाहन्छन् तर देशको बेथितिले फर्किन सकिरहेका छैनन् । मैले आफ्नै छोरालाई कैयौंपटक घर फर्कौ भनेको छु तर उसको एउटै जवाफ आउँछ, ‘नेपाल गएर के गर्ने ?’ उसले स्वदेशमा कुनै भविष्य नै देख्दैन । 

युवा पुस्ताको खास ठुलो सपना छैन । भ्रष्टाचाररहित देश होस्, विधिको शासन होस् । नियमसंगत कामका लागि कहीँकतै ‘अघोषित आम्दानी’ दिनु नपरोस्, भनसुन गर्नु नपरोस् । छिटोछरितो सार्वजनिक सेवा पाइयोस् । सबैभन्दा महत्वपूर्ण स्वदेशमै रोजगारी पाइयोस् । यति भए कसलाई पो रहर हुन्छ र मातृभूमि छाडेर हिँड्न ? 

जेनजीले उठाएको माग नयाँ पुस्ताको मात्र होइन, आमनागरिकले खोजेको व्यवस्था हो । तर भ्रष्टाचारको जालो यति जेलिएको छ कि एकैचोटि त्यसलाई टुटाउन मुस्किल छ । युवा जागेपछि त्यो असम्भव भने छैन । सेवा छिटोछरितो र दीर्घकालीन रूपमा गर्न सकिने उपाय अपनाउन सकिन्छ । त्यसका लागि युवाहरूकै सञ्जाललाई चेन सिस्टममा लैजान सक्छौं । सूचनाको हक र सञ्चारलाई यति धेरै फराकिलो बनाऔं कि कहीँकतै सानोभन्दा सानो समस्या वा अनियमितता भयो भने तत्कालै सूचना सञ्जालमा पुगोस् र तत्कालै कारबाही होस् । 

हामीले बिर्सन नहुने जेनजी आन्दोलनको अर्को पाटो भनेकोे जेनजीले आन्दोलनको निम्ति डिस्कर्ड र रेडिटजस्ता सामाजिक सञ्जाल नै किन रोजियो भन्ने पनि हो । युवाहरू पहिचान लुकाउन चाहन्छन् तर आवाज उठाउन पनि चाहन्छन् । उनीहरूको गोपनीयताको यो मनसायलाई सुनिश्चित गर्दै यदि राज्यले युवाहरूलाई सूचनाको चेन सिस्टममा ल्याउन मात्र सक्यो भने पनि आधाआधी भ्रष्टाचार रोक्न सकिन्छ  ।

अन्तरिम सरकार गठनपछि विमानस्थलमा जब मसँग सुटुक्क पैसा मागियो, मैले केही बोल्नै सकिनँ । मैले सोच्दै नसोचेको अवस्था थियो, त्यो । त्यतिबेला मलाई मनमा लागेको थियो, यदि कसैले अनधिकृत रूपमा पैसा मागे यहाँ फोन गर्नुहोस् भनेर कुनै हट लाइन हुन्थ्यो भने सायद त्यसरी हाकाहाकी मागिँदैनथ्यो कि ! 

दीर्घकालीन उपाय खोज्दै गर्दा हामीले के बिर्सन हुँदैन भने नेपाल देश गरिब छ तर सीमित जनता धनी छन् । देशले रोजगारी दिन सकेको छैन । रोजगारी दिए पनि श्रमअनुसारको तलब दिन सकेको छैन । महिनाभरि खटिँदा पनि श्रमजीवि वर्गलाई जीविकोपार्जन गर्नै कठिन छ । यस्तोमा लगानीकर्ताको लगानी सुरक्षित गर्दै रोजगारीको अवसर सिर्जना गर्न आवश्यक छ । अहिलेको आन्दोलनको टे«न्ड हेर्दा आन्दोलनसँगै लुटपाट विध्वंस धेरै छ । तर लुटपाट, विध्वंसबिना पनि सामाजिक सञ्जालबाटै मिटुजस्ता ठुला आन्दोलन सफल भएका छन् । त्यसैले हातहातमा भएका सूचना सामग्रीको माध्यमबाट नै भ्रष्ट्राचार रोक्न तत्काल केही सुरु गर्न सकिने ठाउँ छन् । 

संविधान छ, नीतिनियम बनेका छन् तर ती नीतिनियमको मनलाग्दी व्याख्या गरिएका छन् । ती मनलाग्दी व्याख्या रोकिनुपर्छ । सरकारी निकाय पूर्ण रूपमा स्वतन्त्र र नियमसंगत सञ्चालन हुनुपर्छ । राज्यले तोकेको न्यूनतम ज्याला र बजार महँगीबीच तालमेल छैन । कम्तीमा राज्यले तोकेको न्यूनतम ज्यालाले जनता बाँच्न त सकून् । आफ्ना आधारभूत आवश्यकता पूरा गर्न त सकून् । सरकारले त्यसको सुनिश्चित गर्नुपर्छ । अहिले पनि धेरै युवाहरु देश फर्किन चाहन्छन् । अस्टे«लियालगायत विदेशी भूमिमा नेपाली नराम्रो गरी पिल्सिएका छन् । १८ घण्टा काम गरेर विदेशी भूमिमा एक्लिएर बसेका छन् । नेपालमा अलिकति मात्र पनि अवसर सिर्जना हुने हो नेपाली फर्किन चाहन्छन् । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise